हनुमन्तेबाट १२ गाडी फोहोर संकलन

इनेप्लिज २०७४ फागुन २६ गते १५:५१ मा प्रकाशित

भक्तपुर, २६ फागुन : भक्तपुरको हनुमन्ते नदी सफाइ अभियानको आज दोस्रो हप्ता सयौँको सहभागितामा १२ गाडी फोहोर संकलन गरिएको छ ।

राष्ट्रिय सभा सदस्य एवं गायिका कोमल वलीबाट अभियानको आज भएको सरसफाइमा प्रदेशसभा सदस्य, विभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख, राजनीतिक दलका नेता, कार्यकर्ता, स्थानीय जनप्रतिनिधि, आमनागरिक, विभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, स्थानीय सरोकारवालाको उल्लासमय सहभागितामा हनुमन्ते सफाइ गरिएको थियो ।

हनुमन्ते नदी सरसफाइ अभियान १०० हप्ता सञ्चालन गर्ने र यो समयावधिमा नदीलाई स्वच्छ र हराभरा बनाइने अभियन्ताले जानकारी दिएका छन् ।

त्यसैगरी हनुमन्ते खोलाको मुहानको रुपमा लिइने चाँगुनारायण नगरपालिका मुहान पोखरी क्षेत्रको पनि सरसफाइ गरिएको छ । चाँगुनारायण वडास्तरीय सरसफाइ स्वच्छता समन्वय समितिले हनुमन्तेको सफाइ अभियानअन्तर्गत आयोजना गरेको कार्यक्रममा मुहान पोखरी क्षेत्रको सरसफाइ गरिएको गैससका भक्तपुर अध्यक्ष सोम शर्मा बजगाईंले जानकारी सदनुभयो ।

भक्तपुर–नगरकोट बैकल्पिक सडकको शिलान्यास

भक्तपुरबाट नगरकोटसम्म जाने बैकल्पिक सडकका रुपमा रहेको चाँगुनारायण–सुडाल–कलमसी–नगरकोट सडक विस्तार हुने भएको छ । चाँगुनारायण नगरपालिका–८ स्थित कलमसी हुँदै नगरकोट जाने सडकको आज प्रतिनिधिसभा सदस्य महेश बस्नेतले गोसपुलमा शिलान्यास गर्नुभयो ।

कुल रु १७ करोड ४८ लाख ८३ हजारको लागतमा भक्तपुरदेखि नगरकोटसम्म ७.३ किलोमिटर लम्बाइ र नालीसहित ६.५ मिटर चौडाइ उक्त सडक २०७६ साल कात्तिकमा निर्माण सम्पन्न हुनेछ ।

सो अवसरमा प्रतिनिधि सभासदस्य बस्नेतले भक्तपुरको गाउँगाउँमा पुगेका सडकको अब स्तरोन्नति हुने बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं ३ का सांसद हरिशरण लामिछाने, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, जिल्ला प्रशासन कार्यालयका प्रमुख द्रोण पोखरेल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलगायतले यस सडक निर्माणसँगै अब नगरकोट जान ५० प्रतिशत सडक कम हुने बताउनुभयो ।

यो सडक निर्माणसँगै चाँगुनारायण नगरपालिकाका पूर्व क्षेत्रका बासिन्दालाई समेत आवतजावत र स्थानीय उत्पादनको बजारीकरणका लागि सहज हुनेछ ।

प्रतिक्रिया