चितवनको कालिका ५ पदमपुरमा आयोजित धनधान्याञ्चलमा ५औं दिनसम्ममा १ करोड १० लाख संकलन, २ करोड उठाउने लक्ष्य

इनेप्लिज २०७४ फागुन १८ गते २३:०२ मा प्रकाशित

शिशिर सिंखडा
पदमपुर, चितवन, १८ फागुन ।
चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा संचालित श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान–महायज्ञको ५औं दिनसम्ममा रु. १ करोड १० लाख संकलन भएको छ । जिल्लाकै पौराणिक देवताको रुपमा रहेको भिमवली मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सो महायज्ञ शुरु गरिएको हो ।

महायज्ञबाट २ करोड रकम संकलन गर्ने लक्ष्य लिइएको छ । संकलित रकमबाट मन्दिरको अतिरिक्त विवाह, ब्रतबन्ध मण्डप, धार्मिक पुस्तकालय, आध्यात्मिक योग भवन, थारु संग्रहालय र बाल उद्यान समेत निर्माण गर्ने लक्ष्य रहेको छ । सोही रकमबाट यस क्षेत्रका विपन्न बोटे, दलित, चेपाङ छात्रछात्रालाई छात्रवृत्ति समेत प्रदान गर्ने लक्ष्य रहेको मूल समारोह समितिका संयोजक नन्द प्रसाद भट्टराईले बताए । फागुन २० गतेसम्म संचालन हुने महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोख्रेलबाट श्रीमदभागवत कथा वाचन भईरहेको छ । १३ कठ्ठा क्षेत्रफल रहेको सो मन्दिर परिसरमा शिवालय मन्दिर, दुर्गा, ब्रह्मास्थान, गढीमाईको समेत मन्दिर रहेको छ ।

महायज्ञमा कालिका नगरपालिकाको तर्फबाट २० लाख रुपैया सहयोग भएको छ । नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले सो २० लाख रुपैया दिने घोषणा गरेका थिए । त्यस्तैगरी स्थानीय रुदल महतोले ५ लाख ५ हजार, नवीन थापाले २ लाख ११ हजार, मान कुमार चौधरीले २ लाख ५ हजार, कुमारी भट्टराईले २ लाख, सुर्य कुमार श्रेष्ठले १ लाख ५१ हजार, दीपक बहादुर भट्टराई ले १ लाख ११ हजार, सुजन भट्टराईले १ लाख १० हजार, तुलसी नारायण श्रेष्ठले १ लाख ५ हजार, बुद्धि कान्त मरहठाले १ लाख १ हजार सहयोग गरेका छन । त्यस्तैगरी शुक्रबार स्थानीय यमलाल कंडेलले २ लाख ११ हजार, पोष्टराज अर्यालले १ लाख ११ हजार, आनन्द गिरीले १ लाख, यम पौडेल (रोहिणी) ले १ लाख १ हजार, गणेश पराजुलीले १ लाख ११ हजार, राम प्रसाद रिजालले १ लाख १ हजार, हरि भट्टराईले १ लाख १ हजार सहयोग गरेका थिए । त्यस्तै रत्ननगरका नारायण भट्टराईले १ लाख १ हजार, हरिशंकर दाहालले १ लाख १ हजार, जनक भट्टराईले १ लाख २ हजार, झलक भट्टराईले १ लाख १ हजार सहयोग गरेको आर्थिक समितिका सदस्य पोष्टराज अर्यालले जानकारी दिए । भक्तजनहरुबाट दैनिक रुपमा सहयोग आउने क्रम जारी रहेको समेत अर्यालले बताए ।

धनधान्याञ्चल सप्ताह महायज्ञको अवसरमा तुलादान गर्नेहरुको भीड लागेको छ । महायज्ञमा दैनिक स्थानीय सयौं धर्मावलम्वीहरु उपस्थित भएका छन् । सो महायज्ञमा नगद रकमका अतिरिक्त भक्तजनहरुले तुलादान समेत गरेका छन् भने महायज्ञमा धान, चामल लगायत खाद्यान्नहरु पनि सहयोग गरेको मुल समारोह समितिका महासचिव भिष्म प्रसाद खनालले जानकारी दिए ।

महायज्ञमा स्थानीय, स्वदेश तथा विदेशमा रहेका धर्मानुरागीले समेत सहयोग गरेका छन् । सहयोगीदाताहरुलाई कार्यक्रम स्थलमा नै सम्मान समेत गरिएको छ भने उत्कृष्ट सहयोगीदातालाई हात्तीमा सयर गराएर पदमपुर परिक्रमा समेत गराइएको प्रचार प्रसार समितिका संयोजक विष्णु सिंखडाले जानकारी दिए ।

प्रतिक्रिया