मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं २३:२०
वासिङटन डिसी 13:35

केन्द्रीय रक्तसञ्चार भवन शिलन्यास

इनेप्लिज २०७४ फागुन १८ गते २३:१२ मा प्रकाशित
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार भवनको आज भृकुटीमण्डप प्रदर्शनी मार्ग काठमाडांैमा शिलन्यास गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापा, नेपालका लागि थाईल्याण्डका राजदुत महामहिम भागवत तान्स्कूल  (HE Mr Bhakavat Tanskul) , काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र थाइ रेडक्रसका रक्तसञ्चार सेवाका निर्देशक उवोनवोन  (CDR Ubonwon Charoonruangrit) ले संयुक्त रुपमा भवनको सिलान्याश गर्नुभएको हो ।
रक्तसञ्चार भवनको शिलान्यास गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले विगतको भूकम्पबाट पाठ सिक्दै अब बन्ने भवनहरु भूकम्प प्रतिरोधी बनाउनु पर्नेमा जोड दिनुभयो । नेपाल रेडक्रस सोसाइटीले  जस्तैं सबै सामाजिक तथा सामुदायिक संघसंस्थाहरुले पनि अव भवन संहिता अनुसार नक्सा पास गरी भवन निर्माणको प्रकृया अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
“रक्तसञ्चार सेवा केन्द्रीय भवन निर्माण सहयोग परियोजना नेपाल थाइल्याण्ड विचको मित्रता, सौहार्दता तथा सहयोगको एउटा वलियो प्रमाण हो” थाई राजदुत महामहिम भागवत तान्स्कूले बताउनुभयो ।
सोसाइटीका अध्यक्ष संजीव थापाले भूकम्प पछि रगत आवश्यक पर्ने विरामीहरुका लागि आपत्कालिन सेवा केन्द्रबाट सेवा प्रदान भइरहेकोमा समयमै नयाँ भवनको निर्माण गरी अत्याधुनिक सेवा दिन सबै पक्षको सहयोगको लागि आव्हान गर्र्दै संस्थाको तर्फबाट छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्न सबै सम्भव प्रयासहरु गरिने बताउनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा रक्तसञ्चार व्यूरोका निमित्त निर्देशक डाक्टर रेखा मानन्धरले रेडक्रस रक्तसञ्चार सेवाको प्रशंसा गर्दै सरकारको तर्फबाट रक्तसञ्चारका क्षेत्रमा हरसम्भव सहयोग पुर्याइने बताउनुभयो ।
यसअघि नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भूकम्प पछि पूर्ण रुपमा क्षति भएको भवनको निर्माण शुरुहुनु सबैको लागि खुशिको कुरा भएको बताउँदै कार्यक्रमा सवैलाई स्वागत गर्नुभयो ।
थाइ रेडक्रसका रक्तसञ्चार सेवाका निर्देशक उवोनवोनले थाई रेडक्रस र नेपाल रेडक्रस सोसाइटी विच भूकम्प पुर्नलाभ कार्यक्रमलाई दिगो बनाउन सहयोग र समन्वयका सम्बन्धमा बृहत छलफल भई सो अनुरुप रक्तसञ्चार सेवा भवन निर्माणका लागि सहयोग उपलब्ध गराइएको बताउनुभयो ।
भवनको निर्माणको लागत २१ करोड ७४ लाख ७३ हजार ८ सय रहेको भन्दै नेपाल रेडक्रसका सञ्चार पर्मुख दिव्यराज पाैडेलले  अण्डरग्राउण्ड सहित ५ तलाको  भवन हुने  र १८ महिनामा भवन निर्माण सकिने योजना रहेकाे जानकारी दिनुभयाे । पाैडेलले भन्नुभयाे  थाइ रेडक्रसले उपकरण खरिद तथा व्यवस्थापकिय सेवा पनि उपलब्ध गराउने छ । नेपाल रेडक्रस सोसाइटीले देश ७३ जिल्लाका १ सय ६ स्थानबाट रक्तसञ्चार सेवा दिई आएको छ ।
निर्माण कम्पनीका तर्फबाट कन्ट्रयाक्टर जिपछिरीङ लामाले सुरक्षा, गुणस्तर र समयलाई ध्यानदिई भवनको निर्माण कार्य सम्पन्न हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शिलन्यास कार्यक्रममा रेडक्रसको अन्तराष्ट्रिय समिति, रेडक्रसको अन्तराष्ट्रिय महासंघ, नेपाल रेडक्रसका कोषाध्यक्ष, उपमहामन्त्रीलगायत पदाधिकारी र उच्च पदस्थ कर्मचारीहरु,  काठमाडौं महानगरपालिका वडा ३२ र १७ वडाका वडा अध्यक्षहरु, रक्तसञ्चार समितिका सभापति, नेरेसो केन्द्रीय रक्तसञ्चार निर्देशकलगाएत अन्य विभागका निर्देशकहरुको उपस्थिती रहेको थियो । शिलान्याश कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेश प्रसाद ढकालले गर्नुभएको थियो ।
शिलन्यास कार्यक्रम पश्चात आजै महामहिम भागवत तान्स्कूल र थाइ रेडक्रसको टोलीले नेपाल रेडक्रस सोसाइटीको केन्द्र्रीय कार्यालयको भ्रमण गरी नेपाल रेडक्रस सोसाइटीका गतिविधिहरुबारे जानकारी लिनुभएको छ ।

प्रतिक्रिया