बुद्धवचनको महत्व विश्व कीर्तिमानबाट कायम हुने

इनेप्लिज २०७४ फागुन १६ गते ८:२६ मा प्रकाशित

काठमाडौँ, १६ फागुन : अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित भइसकेको बौद्ध दर्शनमा आधारित बुद्धवचनलाई ७५ हजार नेपालीले एकैपटक वाचन गरी विश्व कीर्तिमान कायम गराउन पहल शुरु भएको छ ।

मुलुकको गौरवका रुपमा रहेको बौद्ध दर्शन अन्तर्राष्ट्रिय तहमा थप फैलाउने उद्देश्यले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देशसहित यही फागुन १९ गते टुँडिखेलमा धम्मपद (बुद्ध वचन) वाचन गरिन लागेको हो ।

विश्व कीर्तिमान परिषद् नेपालले विभिन्न संघसंस्था र प्रतिनिधिसँगको सहकार्य र समन्वयमा पहिलो पटक हुने यस प्रकारको अभियानमा धम्मपदका श्लोकलाई बुद्धवचनका रुपमा पाठ गरिने परिषद्का उपाध्यक्ष अक्कलबहादुर तामाङले जानकारी दिनुभयो ।

बौद्ध साहित्यका ग्रन्थहरुमध्ये अभिधम्मअन्तर्गत धम्मपद एक महत्वपूर्ण कृति हो । बौद्ध ग्रन्थ त्रिपिटकमा सुत्र, विनय र अभिधम्म पर्दछन् । धम्मपदमा जीवन जिउने कला, सुख, शान्तिका लागि सफलताको शिक्षालाई व्यवस्थित गरिएको छ, यसमा २६ वर्ग तथा ४२३ गाथा (श्लोक) छन् ।

अखिल नेपाल भिक्षु महासंघले समग्र धम्मपदलाई समेट्ने गरी प्रत्येक वर्गको प्रतिनिधित्व हुने गरी २६ श्लोक नेपाली, अंग्रेजी र पाली भाषामा उपलब्ध गराएको छ । महासंघका महासचिव भिक्षु कौडण्यका अनुसार खुद्दक निकायमा खुद्दक पाठ पहिलो ग्रन्थ हो भने धम्मपद दोस्रो ग्रन्थका रुपमा लिइन्छ ।

संस्कृत, पाली, अंग्रेजी, हिन्दी, मराठी, जापानी, थाई, सिंहाली, भियतनामीलगायत विश्वका धेरै भाषामा यो धम्मपद अनुवाद भएको छ ।

इशापूर्व छैटौँ शताब्दीमा लुम्बिनीमा जन्मेका बुद्धले ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेपछि विकास भएको बौद्ध शिक्षा तथा उपदेशले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाएको थियो । तत्कालीन समयमा कपिलवस्तु गणराज्यका राजा शुद्धोदनका सुपुत्रका रुपमा जन्म लिएका सिद्धार्थले गहनतम् खोजपश्चात् ज्ञान हासिल गरेपछि प्रतिपादन गरेको दर्शनले अहिले अन्तर्राष्ट्रिय तहमा धेरैलाई आकर्षित गरेको र सकारात्मक प्रभाव फैलाउँदैछ ।

महासंघका महासचिव भिक्षु कौडण्यले बुद्धको विचारले अन्तर्राष्ट्रिय तहमा धेरै मानिसलाई आकर्षित गरिरहेको अवस्थामा बुद्ध नेपालमा जन्मेको होइन भनी सुनियोजित तरिकाबाट भ्रम फैलाउनेलाई उक्त कार्यक्रमबाट सद्बुद्धि प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

आयोजक संस्थाले कार्यक्रममा सहभागी हुन निःशुल्क पासको वितरण गरिरहेको छ भने १४ वर्ष माथिका विद्यार्थीलाई मात्र सहभागी गराउने जनाएको छ ।

राष्ट्रिय किर्तिमानी धावक वैकुण्ठ मानन्धरले बुद्ध र बौद्ध दर्शनको उद्गमस्थल नेपाल भएको भन्नेमा विवाद गर्नुको अर्थ नरहेको बताउँदै भारतमा कृत्रिम कपिलेश्वर तथा लुम्बिनी बनाएर बुद्ध भारतमा जन्मेको गलत प्रचार गरिएका कारण विदेशमा फैलाइएको भ्रमको अन्त्य गर्न प्रत्येक वर्ष जनस्तरबाट बुद्धलाई स्मरण गर्नुपर्ने सुझाव दिनुभयो ।

बुद्धको जीवन अन्त्य भएपछि करिब ८४ हजार उपदेशलाई संग्रह गरिएको बौद्ध साहित्यमा पाइन्छ । प्रेमभावले वैरभावलाई शान्त पार्छ, प्रमाद (बेहोसीपना) मृत्युको बाटो हो, चित्त दमन गर्नाले सुख पाइने, प्राणी हिंसा नगर्नका लागि सन्देश, प्रियवस्तुबाट मुक्त हुने वचन, असत्यवादीलाई सत्यले जित्नेलगायत सन्देश धम्मपदमा पाइन्छ ।

प्रतिक्रिया