शनिबार, कार्तिक १५ २०७७
काठमाडौं १९:०६
वासिङटन डिसी 09:21

राजधानीका लागि ठाउँ पहिचान भइसक्योः मन्त्री स्थापित

इनेप्लिज २०७४ फागुन १३ गते १३:३२ मा प्रकाशित

चितवन, १३ फागुन : प्रदेश नं ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी बनाउन नयाँ ठाउँको पहिचान भई आन्तरिक गृहकार्य भइरहेको बताउनुभएको छ ।

सबै हिसाबले हेटौँडा उपयुक्त नहुने भएकाले नयाँ ठाउँको पहिचान भई तयारी भइरहेको उहाँले बताउनुभयो । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले त्यो ठाउँको बारेमा सार्वजनिक गर्न भने नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले नै सार्वजनिक ग¥यो भने समस्या हुन्छ ।” प्रदेशको केन्द्र पर्नेगरी राजधानी सार्ने तयारी गरिएको ठाउँमा सात लाख रोपनी जग्गा एकै ठाउँमा रहेको र तीन लाख रोपनी वन रहेको पनि उहाँले बताउनु भयो । ५० हजार रोपनी खोलाले खाएको जग्गा पनि रहेको भन्दै उहाँले भन्नुभयो, “त्यहाँ १४÷१५ करोड लिटर पानी भण्डारण गर्न मिल्छ जसबाट १० लाख जनतालाई खानेपानी पुग्छ ।”

तीसवटा महत्वपूर्ण पूर्वाधार बनाउने बताउँदै उहाँले प्रदेशको जुन ठाउँबाट पनि चार घण्टाभित्र राजधानी पुगिने बताउनुभयो । जग्गा व्यवसायीले जग्गा किनेर अस्तव्यस्त पार्ने भएकाले तत्काल सो ठाउँ सार्वजनिक गर्न नमिल्ने भन्दै उहाँले आउँदो चार महिनाभित्र राजधानी सर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्णय भएपछि तत्काल सार्छौँ । पूर्वाधार मन्त्री म आफँै भएकाले मैले तयारी गरिरहेको छु । आन्तरिक काम भइरहेको छ ।” मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, सांसद भवन कहाँ राख्ने भन्ने विषयमा गृहकार्य भइरहेको पनि उहाँले बताउनुभयो । राजधानी सरेसँगै प्रदेशको नामाकरण गरिने पनि मन्त्री स्थापितले बताउनुभयो ।

आउँदो पाँच वर्षमा पूर्वाधारका क्षेत्रमा जनताले महशुस गर्न सक्ने गरी आमूल परिवर्तन हुने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया