रूसमा ‘लाल सेना’ शताब्दीको कथा- कृष्णप्रकाश श्रेष्ठ

इनेप्लिज २०७४ फागुन १३ गते ८:३२ मा प्रकाशित

मास्को, २२ फेब्रुअरी २०१८ (वृहस्पतिवार) । लाल सेनाको स्थापना भएको एक शताब्दी पूरा हुने पूर्वसन्ध्यामा मास्कोको मुटु क्रेमनिनको हाताभित्रै अवस्थित राजकीय क्रेमलिन प्रासादमा भव्य सांकृतिक कार्यक्रम सुसम्पन्न भयो । रूसको संसदको तल्लो सदन राजकीय दुमाका अध्यक्ष भ्याचेस्लाभ भोलोदिन र माथिल्लो सदन संघीय परिषदकी अध्यक्ष भालेन्टिना मात्भिएन्को, रक्षामन्त्री सेर्गेइ शोइगु लगायत रूसी सेनाका उच्च पदाधिकारीहरूका साथै रूसी जनताको महान् देशभक्तिपूर्ण युद्धका सहभागी वीर योद्धाहरू र रूसी जनतामा सोभियतकालदेखि नै अति लोकप्रिय रहेका भवनात्मक तथा देशभक्तिपूर्ण गीतका लागि संगीत रचयिता अलेक्सान्द्रा पाख्मुतोभा लगायत विश्वप्रसिद्ध मोइसेएभ संगीत मण्डली र तथा रूसी सेनाको अलेक्सान्द्रोभ संगीतमण्डलीसहित टेलिभिजनको पर्दामा मात्र बारम्बार देख्न पाइने प्रकाण्ड जनकलाकार (इओसिफ काब्जोन, लेभ लेश्शेन्को, निकिता मिखाल्कोभ, तामारा ग्वेर्दचितेली, ओलेग गाम्जातोभ), प्रतिष्ठित कलाकार लिओनिद आगुतिन प्रभृति र लोकप्रिय गायिका पोलिना गागारिना, गायक सेर्गेइ भोल्चकोभ लगायत रूसी गायक–गायिकाहरू समेत भेला भएको भव्य क्रेमलिन प्रासादमा जङ्गी र निजामती दर्शकहरूको साथमा आफ्नो समेत उपस्थिति पाउँदा विशेष हर्षको अनुभूति हुनु स्वाभाविकै थियो । नेपाली मूलको एक सामान्य व्यक्तिले यस्तो महत्वपूर्ण कार्यक्रमको सहभागी बन्ने अवसर कहाँबाट पायो होला भन्ने पाठकवृन्दमा जिज्ञासा उत्पन्न हुन सक्ने सम्भावनालाई बुझेर अगावै के पनि सूचित गर्नु आवश्यक ठान्दछु भने राजकीय क्रेमलिन प्रासादमा सम्पन्न हुने महत्वपूर्ण कार्यक्रमको प्रसारण गर्ने रूसको केन्द्रीय दूरदर्शन ‘रसिया–१’ मा कार्यरत मेरी सुपुत्री मारिनाले ‘सिरिया अभियानमा योगदान’ को कदर गर्दे रूसी सेना दिवसको सन्दर्भमा निमन्त्रणासहित पदक प्राप्त गरेकी हुँदा मैले पनि उक्त सांस्कृतिक कार्यक्रमको प्रत्यक्ष दर्शक बन्ने सौभाग्य पाएको थिएँ ।

रूसको तिरङ्गा झण्डा र निशानाचिन्हले सिंगारिएको १ हजार कलाकार अटाउने मञ्चको अग्रभागमा राखिएको व्याख्यानदीर्घामा रूसका राष्ट्रपति भ्लादिमिर पृटिनको प्रवेशका साथै प्रशान्त वातावरण व्याप्त हल उपस्थित सबैले उभिएर स्वागत गर्ने क्रममा तुमुल करतलध्वनि गुञ्जायमान भयो । रूसी राष्ट्राध्यक्षले उपस्थित सामरिक पदाधिकारीहरू, युद्धका भेटेरानहरू, दर्शकवृन्द र सम्पूर्ण देशवासीहरूलाई पितृभूमि रक्षक दिवसको उपलक्षमा हार्दिक शुभकामना व्यक्त गर्दै अंशतः भन्नुभयो ः
‘आज हाम्रा भेटेरानहरूलाई सम्बोधन गर्दै ज्यादै न्याना शब्दहरू व्यक्त गर्न चाहन्छु । तपाईहरूको अर्ति–उपदेशको अनुसरण गर्दै रूसको आधुनिक सशस्त्र शक्तिले सामरिक अभ्यासको क्रममा आफ्नै अनुभव बटुलिरहेको छ र आतङ्ककारी र तिनका संगठनविरुद्ध सामरिक क्रियाकलापमा आपूmलाई खार्दैछ । जसले सिरिया अरब गणतन्त्रको भूभागको अभियानमा भाग लिएका छन् र भाग लिइरहेका छन् ती सबैप्रति सामरिक सेवाको निम्ति फेरि पनि कृतज्ञता व्यक्त गर्न चाहन्छु । हाम्रा सैनिकहरूले उपयुक्त तैयारी गरेका छन् र उनीहरू उत्कृष्ट ढङ्गले आफ्नो कर्तव्य पालन गर्दै छन्…’ ।

रूसी सेनाले शस्त्रास्त्र र सामरिक तत्परताको क्षेत्रमा विश्वमै अग्रगामी स्थिति हासिल गरेको छ र भरपर्दो ढङ्गबाट देशको प्रतिरक्षात्मक क्षमता कायम राखेको छ भनी रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले विशेष जोड दिनुभयो । युगौं लामो र गौरवमय इतिहास बोकेको पराक्रमी रूसीे सेनाको सन्दर्भमा पनि यहाँनेर केही शब्द भन्नु आवश्यक ठान्दछु ।

रूसमा सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिपश्चात् भ्लादिमिर लेनिनले सर्वहारावर्गले विजय पप्त गरेको देशमा स्थायी सेनाको औचित्य नरहेको निष्कर्श निकालेर पुरानो जारशाही सेनालाई विस्थापित गरी जनतालाई नै शस्त्रसज्जित तुल्याउने नीति अख्तियार गरेका थिए । तर नयाँ सत्तालाई स्वीकार नगर्ने जारशाही सेनाका जनरलहरूले नयाँ सत्ताविरुद्ध धावा शुरु गर्नुका साथै १४ राष्ट्रका सेनाहरूले समेत नवोदित समाजवादी राष्ट्रविरुद्ध आक्रमण छेडेपछि ‘क्रान्तिका उपलब्धिहरूको रक्षार्थ’ जनतालाई सश्त्रसज्जित तुल्याएर मात्रै समस्या समाधान नहुने हुनाले सैनिक संगठनकै अपरिहार्यता देखिएपछि सन् १९१८ को २३ फेब्रुअरीका दिन लाल सेना गठन गरियो । तसर्थ सोभियत संघमा यसै दिनलाई सोभियत सेना दिवसको रूपमा र आम जनताले चाहिं पुरुष दिवसको रूपमा मनाउने परम्परा थालिएको थियो र सोभियत संघको उत्तराधिकारी नयाँ रूसमा पनि ‘पितृभूमि रक्षक दिवस’ को रूपमा यसै दिन रूसी सेना दिवस मनाउने परम्परा कायमै छ ।

 

रूसमा सर्वप्रथम स्थायी सेनाको गठन सम्राट् पीटर महान्बाट भएको मानिन्छ । उनी ने रूसको जहाजी बेडाका पनि जनक थिए । त्यसभन्दा पहिले बाह्य हमलाको सामना गर्न रूसका राजारजौटाहरूले जनधनको रक्षार्थ योद्धाहरूको जत्था संगठित गरी लड्ने–भिड्ने गरेका थिए । रूस साम्राज्यको विस्तारका साथै रूसी सेनाले पनि पराक्रमको प्रदर्शन गर्न थाल्यो । उन्नाइसौ शताब्दीको आरम्भ (सन् १८१२) मा नेपोलियनको आक्रमण र बीसौ शताब्दीको प्रारम्भ (सन् १९१४–१९१७ को प्रथम विश्वयुद्ध) मा जर्मन फौजको डटेर सामना गर्ने रूसी सेनाको गौरवमय इतिहास छ । ऐतिहासिक सामरिक विजय हासिल गर्ने जारशाही रूसको सेनाको गौरवमय परम्परालाई लाल सेनाले पनि अँगालेको पाइन्छ । सन् १९४१–१९४५ मा अपुल धनजनको अपूरणीय क्षति सहेर पनि बहुराष्ट्रिय सोभियत सेनाले मानवद्रोही फाशीवादी हिटलरी सेनाउपर विजय हासिल गरेर सम्पूर्ण विश्वलाई नै बचाएको इतिहास सर्ववीदितै छ । रूसमा हरेक वर्ष नाजी जर्मनीउपर विजय प्राप्तिको उपलक्ष्यमा देशका विभिन्न विचार राख्ने मानिसहरूले आफ्नो एक मात्र साझा उत्सवको रूपमा ९ मेईका दिन विजय दिवस भव्यताका साथ मनाउँछन् । त्यस दिन सम्पन्न गरिने सैनिक परेडमा मित्रराष्ट्रका सैनिक टुकडीहरूले समेत भाग लिन्छन् । राजकीय क्रेमलिन प्रासादमा सम्पन्न सांस्कृतिक कार्यक्रममा रूसका संगीत मण्डलीहरू र गायक—गायिकाहरूले मात्र नभई सीरिया र काजाखस्तानका संगीत मण्डली र गायक–गायिकाहरूले पनि गीत र नृत्यको प्रदर्शन गरेका थिए ।

पछिल्ला वर्षहरूमा रूसका विभिन्न शहरहरूमा वसन्तकालीन विजय दिवसका दिन युद्धमा वीरगति प्राप्त गर्ने र युद्धको अभूतपूर्व विभीषिका भोगेर दिवंगत भएका आफन्तहरूको फोटोसहित विशाल जनजुलुश निकाल्ने परम्परा बसेको छ र यसले अजम्बरी पल्टन भन्ने नाम पाएको छ । राजकीय क्रेमलीन प्रासादमा सम्पन्न सांस्कृतिक कार्यक्रममा पनि ‘अजम्बरी पल्टनको नदी उर्लेको छ’ भन्ने बोल भएको रूसी गायक ओलेग गाज्मानोभको नयाँ गीत प्रस्तुत गरिंदा पनि युवा कलाकारहरूको ठूलै समूहद्वारा अजम्बरी पल्टनको झलक प्रस्तुत गरिएको थियो । यो गीत गुञ्जायमान हुँदा ६ हजारभन्दा बढी व्यक्ति अटाउने दर्शकदीर्घामा उपस्थित सैनिक र नागरिक सबै दर्शकहरूले उभिएर देशका वीरहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए र मैले पनि साझा विजय प्राप्तिका लागि द्वितीय विश्वयुद्धमा जीवन उत्सर्ग गर्ने दिवंगत वीर नेपाली सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको थिएँ ।
रङ्गीचङ्गी बत्तीहरू र विभिन्न दृश्यहरूको फेरबदल भइरहने मञ्चमा रूसको सामरिक इतिहास र वर्तमानको झलक निकै मनमोहक थियो । यसरी यस वर्ष रूसमा भव्यताका साथ मनाइएको लाल सेनाको शतवार्षिक महोत्सव र रूसी सेना दिवसप्रति समर्पित समारोहको सहभागी बन्न पाइनु पनि मेरा लागि एक अविस्मरणीय सुखद क्षण बन्न पुगेको छ ।


मिति :२३ फेब्रुअरी २०१८,
मास्को, रूस महासंघ ।

प्रतिक्रिया