जीवा सँग संसार घुम्दा

इनेप्लिज २०७४ फागुन १० गते २:३६ मा प्रकाशित

जीवा लामिछानेको सरसर्ती संसार किताबका बारेमा सुनेको झण्डै बर्षदिन बितिसकेको थियो । मानिसहरुले कितावमाथि दिने गरेका प्रतिक्रियाहरु पढेर मेरो किताब पढने आशक्तिको पारो झन झन चढदै थियो । नेपालबाट किताब झिकाउने पटक पटकका प्रयाशहरु तुहिंदै थिए । अर्थशास्त्री माल्थसको बजार शास्त्रको नियम म माथि पनि लागू भयो । बजारमा माग तिब्रगतिमा अकाशिंदा पूर्ति भएन भने मागले रकेटको रुप लिन्छ रे । ममाथि पनि यही नियम हावी भयो । किताब प्राप्त हुन नसके पछी पढ्ने आशक्ती चुलिंदै गएर सगरमाथाको शिर नै चुम्यो ।

नेपालमा हुँनेहरुलाई भन्दा नेपालबाहिर बस्नेहरुलाई नेपाली भाषा र संस्कृतिको बढी चिन्ता हुन्छ । भाषा प्रतिको ममता र सम्मान बढी हुन्छ रे भन्ने सुनेको थिएँ । त्यो भनाइलाई पुष्टी गर्नेहरु असाम गुहाटी डुवर्स दार्जेलिड् आदिमा देवकोटा जयन्ती भानुजयन्ती आदिलाई महान चाहाड पर्वझैं भव्यकार्यक्रम गरेर मनाउँने गरेको उदाहरण पेश गर्थे । यो लेखकलाई प्रवासमा स्थानान्तरण भए सँगै समाजशास्त्रको बिधार्थि हुँदा बढेको “डार्विनको सरभाइवल अफ द फिटेस्ट” भन्ने भनाईले घोच्न र घच्घच्याउन थाल्यो । प्रतिष्पर्धा गर्न नसक्नेहरुका भाषा कला साहित्य र संस्कृतिहरु सबै लोप भएर जान्छन् । भाषा सकियो भने पहिचान सकिन्छ । जस्ता भयले लेखकलाई सताउन थाल्यो ।

क्यानडाबाट आफ्नै सम्पादनमा प्रवाशमा छरिएर रहेका नेपालीमूलका वालवालिकाहरुका लागि पुस्तक “प्रवासमा नेपाली शिक्षा” छाप्न तयारी अवस्थामा थियो । किताबका लागि जम्मा गरेको सिलाको ढुकुटीमा मूसालागे पछी छट्पटी शुरु भयो । यसै छट्पटीका क्रममा सर्जक जीवा लामिछाने सँग फेसवुक मार्फत परिचय भयो । श्रीलामिछानेले वहाँको पुस्तक सरसर्ती संसार पढ्ने मेरो मनोदशा बुझेर पुस्तक उपलब्ध गराइ दिनु भयो ।

यो पुस्तकको बाहिरी आकृति जति शुन्दर देखिन्छ त्यो भन्दा अझ भित्री गुदीले भरिएको पुस्तक हो सरसर्ती संसार । सुनमा सुगन्ध भन्छन् नी । सुन देख्दा नै कति आकर्षक हुन्छ । त्यसमा वास्ना पनि आउने हो भने कस्तो हुने थियो होला । त्यस्तै वास्ना आउने सुनझैं छ यो पुस्तक । पुस्तक पढ्दै जाँदा पाठक हराउँछ । मलाई कता कता लेखक सँग इर्श्या जागेर आयो । किन त्यहाँ विन्दिता भाउजु, अनुकृत, र अनुराग छोराहरुको मात्र कुरा आयो । किन त्यहाँ कुमार पन्त र उनका परिवारका मात्र कुरा आए । लेखकले यो के पक्षपात गरेको होला जस्ता प्रश्नहरु जन्मिए । आफुलाई लेखकले नदेखे जस्तो लाग्यो । म पनि त सैगै छु नी भन्ने लाग्यो तर खासमा म त किताब पढिरहेको मात्र रहेछु । म त पढ्ने क्रममा सारै गहिराइमा डुबेँछु क्यारे । ती किताब पढ्दा मस्तिष्कमा जन्मिएका भावनाहरु रहेछन् । यात्राका क्रममा गाइडको भूमिका समेत निर्वाह गर्ने ड्राइवरहरुले नै विभिन्न स्थानको बर्णन गरेका छन् । ती बर्णनहरुमा ऐतिहाँसिक महत्व र ती ठाउँहरुका विशिष्टताहरु बर्णित हुन्छन् । लेखकले ती दृश्यहरुलाई उनका आँखाले पक्डिएर मस्तिष्कमा कैद गर्छन् । शब्दको मालामा उन्छन् र पाठकहरुलाई पहिर्याइ दिन्छन् । त्यो मालामा मोहनी छ । पाठकका आँखा अगाडि अक्षरहरुले दृश्य परिदृश्यहरुलाई चलचित्र झैं बनाइदिन्छन् । ती बर्णित परिदृश्यको चित्रमा रमाएर पाठकले आफैंलाई भुल्दछन् । यो मेरो अनुभूति हो किताब पढ्दाको ।

प्रत्येक देशमा पुग्दा लेखकले त्यहाँको विकाश निर्माण भौतिक संरचना देखि प्राकृतिक शौन्दौर्यतालाई जन् भूमी सँग तुलना गर्छन् । प्रत्येक पलपलमा लेखकको मन नेपालका पहाड तराई र हिमाल सँग जोडिन्छ । वाल्यकाल देखिका घटना परिघटनाहरुलाई तुलना गर्दछन् । वाल्यकालका पलहरुलाई मिठो शैलिमा नढाँटी पोख्दछन् । जस्ले गर्दा पाठकले सजिलै लेखकलाई विश्वास गर्दछन् । यो पुस्तकमा लेखकले उनले घुमेका देशहरुमा हुने राम्रा कुराको प्रसंसा र नराम्रा कुराहरु र प्रवृतिको खुलेर विरोध गरेका छन् । खराब प्रवृतिको धज्जि उडाएका छन् ।

उन्नतिस वटा शिर्षकमा उनीएका यात्रामालालाई आकर्षक र अर्थ पूर्ण शिर्षक दिएका छन् ।रुसबाट पहिलो एकल भ्रमणमा निस्कँदा हेल्सिन्कीमा बल्छी थापेर साक्षात भगवान भेटाइ दिने पादरीहरुका रोचक प्रसंग छ । रुसी दागिसथानी कवि रसुल गामजा लेभले नेपाल भ्रमण गरे पश्चात “नेपाल नकुँदिएको हीरा हो” । खाँचो छ त नेपाललाई मात्र कालिगढको खाँचो छ । जस्ता भनाइहरु राखेर नेपाल प्राकृतिक रुपमा धनी रहेको कुरा प्रस्तुत गरेका छन् । स्वीजरलेण्डमा जेनेभाको घुमाई पछी रेडक्रसका संस्थापक हैनरी ड्यूनाको जीवन गाथा र यूरोपकै ठूलो जे डो वाटर फाउण्टेनको बर्णन गरेका छन् ।

दक्षिण एशियाकै माल्द्विपसमा पानी मुनी मन्त्री परिषदको बैठक बसेको । ११९२ वटा टापुहरुको मालाका रुपमा रहेको देश जँहा २००टापुमा मात्र मनव बस्ति रहेका छन् । सामुन्द्रिक सतह भन्दा औषत उचाई एक दशमलब पाँच मिटर मात्र रहेको मुलक हो माल्द्धिपस । चारैतिर समुन्द्रले घेरिएर रहेको भए पनि पिउने पानीको अभावमा काकाकूल बनेको छ । यो देश एशियाकै महँगो देश हो । जसको आम्दानी ९० प्रतिशत पर्यटनमा आश्रित छ । भ्रमणका क्रममा बर्मा पुग्दा नेपालीमूलका बर्मिजहरु भेट्छन् । उनले घर पुगेको अनुभूतिगर्दछन् । बर्मामा करिब चार पुस्ता देखि नेपालीहरुको बसोवास हुँदै आएको छ । त्यस समयमा कामको खोजी गर्दै भारत भन्दा टाढा नेपाली पुगेको ठाउँ बर्मानै होला । दोश्रो बिश्वयुद्ध लडेर साहदत पाउने थुप्रै नेपालीहरुको नाम समाधिस्थलमा उल्लेख छ । कती नाम थाहा नभएका सैनिकहरुको समाधीमा “ॐ भगवते नमं:” Know on to god भगवानलाई मात्र थाहा होला लेखिएको छ । कसका लागि लड्दैछौं भन्ने सम्म नबुझी लेडेका नेपालीहरुको परिचय सम्म छैन । लेखक भावुक

र दुखित् बन्दछन् । लेखनाथ पौडेलको कविता
वर्मा सिक्किम दार्जेलिङ र मलाया आसाम सिङगापुर
कालिम्पोङ र देरादुन तथा भुटान भाक्सुतिर
बस्ने जो प्रिय बन्धु छन् सकलको यै राष्ट्रभाषा प्रति
देख्दा प्रेम सदैब हर्ष मनमा उर्लन्छ मेरो अति ।

लाई लेखक सम्झन पुग्दछन । बर्मा पुग्दा नेपालीहरुले देखाएको आफ्न्ती पनले लेखकलाई द्रविभूत बनाउँछ । धेरै समय प्रदेशमा बसेको छोरा घर पुग्दा परिवारजन सँग भेट हुँदाको खुशी झैं आल्हादित बन्दछन् ।
दुबईको पाम जुमेरा समुन्द्र पुरेर बनाइएको मानब बस्ती अनी सोल क्रिडनरको एनलान्टिस दी पा म नामक विशाल होटलको बर्णन गरेका छन् । मानिसले चाहे के गर्न सकिंदैन भन्ने बलियो प्रमाण हो यो । समुन्द्रको गर्भमा बनाइएका एक्वरियममा रहेका हजारौं माछाको लोभलाग्दो जीवन चर्याले पाठकलाई लोभ्याउँछ । छिमेकी देश भारत भ्रमणका क्रममा रमाइला प्रशङ्गहरु बाँडेका छन् । प्राकृतिक प्रकोप पछि पिडितहरुलाई राहत बाँड्न पुगेका भारतिय प्रधान मन्त्रीलाई एक जनाले गालामा थप्पड हान्छ । यही हो तिम्रो प्रजातन्त्र यसले के दियो हामी भारतिय जनतालाई भन्ने एक नागरिकको प्रश्नमा धैर्यताका साथ विनम्र भएर भारतका प्रधान मन्त्रीलाई गालामा हात पुर्याउने अधिकार दियो भनेका रोचक घटनाहरु पस्किएकाछन् ।

एक शाहजाँहाले उनको प्रेमको प्रतिक ताजमहल ठड्याउँदा सयौं गरिवहरु जो निर्माण कर्मीहरु थिए । ती परिवार सँग भेट्नका लागि बर्षौ जान र नपाएर प्रेमको बलिदानी भएको लुकेको पाटोलाई पनि उजागर गरेका छन् । ताजमहल सँग पाल्पाको रानीमहलको तुलना गर्दछन् । क्यालिफोर्नियाको हमरड्यामबाट निकालिएको झिलिमिली बत्ती देख्दा नेपालका डाँडा पाखाहरुमा विजुली बलेर झिलिमिली भएको कल्पना गर्दछन् । ईजिप्टको डल्फिनारियमको रमाइलो अनि सर्पको नृत्य । गीजामा रहेको ५००० बर्ष पुरानो सातौं आश्चर्यको पिरामिडको बर्णन गर्दछन् । यो पिरामिड बनाउँदाको निर्माण सामाग्रीहरुबारे चर्चा गर्छन् । यो पिरामिडले चन्द्र शम्शेरका पालामा सिंहदरबार बनाउँदा कालोदाल मासको प्रयोग भएको प्रसंग जोड्छन् । त्यसताका नेपालमा सुत्केरी महिलाहरुले दालखान पाएका थिएनन् रे । सबै दाल जति सरकारले निर्माण सामाग्रीमा प्रयोग गर्न गर्थ्यो रे ।

इजिप्टमा सित्तैमा उँटमा चढ्न पाइने भन्दै यात्रु चढाउने तर पैसा नतिरी झर्न नपाइने भन्दै यात्रु ठग्ने गरेको र निमेसमै अनुकृतको टोपी चट बनाएका प्रसंग उल्लेख गरेकाछन् । नायल नदीलाई वाग्मती सँग तुलना गरेका छन् । इथियोपियाबाट शुरुभएको नायल नदीले ६८६० किमी दूरी पार गर्दा विभिन्न दसवटा देशहरु पार गर्दछ । यसले बगाएर ल्याएको मलिलो माटोले नै इजिप्ट उर्वर भूँमी बनेको हो । उर्वर भूमीको प्रसंगमा नारायणी नदीले तराईका भूभागलाई उर्वर बनाएको दृश्य उनका मानशपटलमा खेल्दछ ।
दक्षिण कोरियाको भ्रमण प्रसंगमा त्यहाँको विकाश र निर्माणको चर्चा गरेकाछन् । देशले आर्थिक संकट भोगेका बेलामा नागरिकहरुले आआफ्नो सुन हिरा मोती र पदकहरु समेत सरकारलाई दिएर आर्थिक मन्दीबाट देश मुक्त भयो । सरकारले इमान्दारी पूर्वक काम गरेकाले जनताले विश्वास गरे र दुई बर्षमै चमत्कारीक प्रगतिको फड्कोमार्न सफल भएको छ । कोरियनहरु इमान्दार र सम्बेदनशिल छन् भन्ने कुरा पूर्व राष्ट्रपति रोह मू ले भ्रष्ट्रचारको आरोप लाग्ने वित्तिकै पहाडबाट हाम्फालेर आत्म हत्या गरे । साम्सुङ कम्पनीमालिकका छोराछोरीले घुष दिएर काम लगाइएको आरोपमा आत्महत्या गरेका उदाहरणहरु दिएका छन् । जापानमा जाँदा एक जना जापानीजले भाषा नबुझे पनि करिब ४० मिनेट सम्म पैदल हिँडेर गन्तव्यमा पुर्याइ दिएको कुरा व्यक्त गरेकाछन् । वर्तमान यो स्वार्थि दूनियाँमा मानिस व्यक्ती केन्द्रित हुँदै गएकोछ । हामी नेपालीहरु हाम्रो अतिथी देवोभव मान्ने प्रचलनबाट बिचलित हुँदै गइरहेका छौं । यस्तो अवस्थामा जापानीहरुमा आएको अतिथि प्रतिको यस्तो सहयोगी भावना पाउँदा उनी भावविभवर बन्दछन् । जापानमा नेपालीहरुले आर्जन गरेको मेहनतीको ख्याती र प्रगति प्रति गर्व गर्दछन् । जर्मनमा रहेको संस्कृत विश्वविधालयमा गएर संस्कृत भाषाका प्राध्यापक मिखाएल्स सँग भेट्दछन् । संसारको पुरानो भाषाका रुपमा रहेको संस्कृत भाषा करिब पाँचहजार बर्ष पुरानो रहेको विश्वास गरिन्छ । सन्सारको सबै भन्दा पुरानो सभ्यता दर्शन र बिज्ञानको संरक्षण गर्नु पर्ने प्राध्यापक मिखाएल्सले बताएका कुरा सुनाउँछन् । एसियाका धेरै भाषाहरुलगायत केहि यूरोपियन भाषाहरुको उद्गमका रुपमा संस्कृत भाषा रहेकोमा गर्व गर्दछन् । सरसर्ती संसार घुम्ने क्रममा बिभिन्न देशहरु पुगेकाछन् ।

सरसर्ती संसार घुम्नेक्रममा उनको कर्मथलो रुसको बारेमा धेरै बर्णन गरेका छन् । उनको व्यापारको शुरुवाती दिन र सीड मनीको यथार्थका बारेमा नलुकाइकन पाठकलाई भनेका छन् । वर्तमान अबस्थामा एक कुशल र सक्षम नेपाली व्यापारीको पहिचान बनाइ सकेका जीवामा देश प्रेम छ। प्रवाशमा विभिन्न देशमा विविध पेशा गरेर नेपालीहरु बसेका छन् । ती नेपालीहरुलाई भेट्न पाउँदा आफ्नै परिवारको सदस्य भेटे झैं अनुभूति गर्छन् । भेट्न नपाएकोमा दुख प्रकट गर्दछन् । यिनै श्वभावले पनि उनी कति सरल छन् भन्ने बुझ्न गाह्रो पर्दैन । गैह्रआवासिय नेपालीहरुको संगठनका अध्यक्ष समेत भइ सकेका एक अभियन्ता हुन । उनकै पालामा नेपाली भाषा साहित्य विभाग गठन भइ प्रज्ञाप्रतिष्ठान संग संयुक्त रुपमा साहित्यिक कार्यक्रम गरेको थियो । भाषा र साहित्य भनेको कुनै पनि देशको पहिचानलाई जोगाएर राख्ने मेरुदण्ड भएको हुँदा यसलाई अरु महिलाहरुको र यूवाहरुको कमिटी सरह नै एनआरएनएको कार्यकारीमा राख्न सकेको भए अझ यसको महत्व बढेर जाने थियो होला ।

लेखकको यो पहिलो पुस्तक भए पनि सरल शब्द चयन । स्पष्टवादी भएर पाठकको मन जित्न सफल भएका छन् । यो यात्रामालालाई पढ्दा पाठकलाई कतै पनि पट्यार नलागी पढौ पढौं लाग्ने बनाइ रहन सक्नु नै लेखकको सफलता हो । लेखकको उत्तरोत्तर कामना सहित ।

प्रतिक्रिया