महान्यायाधिवक्तामा खरेलको नाम सिफारिश

इनेप्लिज २०७४ फागुन ८ गते १५:५५ मा प्रकाशित

काठमाडौँ, ८ फागुन : सरकारले महान्यायाधिवक्ता पदमा वरिष्ठ अधिवक्ता अग्नि खरेलको नाम सिफारिश गरेको छ ।

सरकारको मुख्य कानुनी सल्लाहकारमा आज सरकारले वरिष्ठ अधिवक्ता खरेलको नाम सिफारिश गरेको हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री समेत भइसक्नुभएका खरेलको जन्म २०१७ साल माघ १२ ताप्लेजुङको थेचाम्बु–५ भएको थियो ।

नेपाल ल क्याम्पसबाट २०४१ सालमा कानुनमा स्नातक गर्नुभएका खरेलले २०४२ सालमा वकालत शुरु गर्नुभएको थियो । विसं २०६८ मा वरिष्ठ अधिवक्ताको पदवी प्राप्त गर्नुभएको खरेल विसं २०४५ मा नेपाल बार एशोसिएशनका केन्द्रीय सदस्य र २०५४ सालमा बारको महासचिव हुनुभएको थियो ।

त्यसैगरी, २०४७ सालको संविधान निर्माणमा एमाले नेता माधवकुमार नेपालको कानुनी सहयोगीका रुपमा काम गर्नुभएका उहाँ २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिका सदस्य, २०६४ र २०७० सालमा संविधानसभा सदस्य, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक हुनुभयो । उहाँले संविधान लेखनका क्रममा विभिन्न मस्यौदा समितिमा रहेर काम गर्नुभयो ।

नेपालको संविधान जारी भएपछि वरिष्ठ अधिवक्ता खरेल २०७२ साल असोज २४ गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको कानून, न्याय तथा संसदीय मामिलामन्त्री र करिब एक महिना शिक्षामन्त्रीका रुपमा समेत काम गर्नुभएको थियो ।

महान्यायाधिवक्तामा सिफारिश हुनुभएका खरेलले रासससँग कुरा गर्दै भन्नुभयो, “संविधान निर्माण प्रक्रियामा निरन्तर भूमिका निर्वाह गरेको छु, कानूनकै क्षेत्रमा लामो समय काम गरेको हुँदा महान्यायाधिवक्ताका रुपमा सफलताका साथ काम गर्नुछु भन्ने विश्वास छ ।”

सरकारको प्रमुख कानूनी सल्लाहकारका रुपमा रहने महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया