चितवनको पदमपुरमा संचालित धनधान्याञ्चलमा ८२ लाख रुपैया संकलन

इनेप्लिज २०७४ फागुन ४ गते ११:४५ मा प्रकाशित

पदमपुर, चितवन, ४ फागुन ।
चितवनको कालिका नगरपालिका वडा नं. ३ पदमपुरमा संचालित धनधान्याञ्चलमा ८२ लाख २० हजार ८ सय ३९ रुपैया संकलन भएको छ । विद्यालयको स्तरोन्नती एवम् मन्दिर निर्माण तथा जीर्णोद्वार गर्ने उद्देश्यले सो धनधान्याञ्चल संचालन गरिएको थियो । वनकट्टा आधारभूत विद्यालय र जनहित आधारभूत विद्यालयको स्तरोन्नती गर्न सो आध्यात्मरामायण धनधान्याञ्चल नवाह भक्ति ज्ञान महायज्ञ गरिएकोे हो । गत माघ २४ गतेबाट फागुन ३ गतेसम्म संचालित महायज्ञमा नगदका अतिरिक्त धान, चामल लगायतका जिन्सी पनि संकलन भएको मूल समारोह समितिका संयोजक केशव अधिकारीले जानकारी दिए ।

महायज्ञबाट करीब १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको थियो । संकलित रकमबाट स्थानीय वनकट्टा आधारभूत विद्यालय र जनहित आधारभूत विद्यालयको स्तरोन्नती गर्नुका साथै ज्योतीविन्दु मुक्तेश्वर महादेवको मन्दिरको जीर्णोद्वार समेत गरिने आयोजकले बताएका छन् । मूल समारोह समितिका संयोजक केशब अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, वडा नं ३ का वडा अध्यक्ष टिकाराज रिजाल, सचिवालय सदस्य दिवस पाण्डे, मन्दिरका संस्थापक अध्यक्ष यमनाथ पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो महायज्ञमा आध्यात्मिक गुरु देवी शरणानन्दजी महाराजले कथा वाचन गरेका थिए ।

महायज्ञमा कालिका नगरपालिकाको तर्फबाट १५ लाख १ सय रुपैया सहयोग भएको थियो । त्यस्तै स्थानीय केशव रिजालले आफ्नो स्वर्गीय बुबा टिकाराम तथा स्वर्गीय माता डिकुरा रिजालको सम्झनामा एवम् नातीहरु टिकाराज, देवी प्रसाद र प्रकाश रिजाल परिवारले हजुरबुबाको सम्झनामा संयुक्त रुपमा सो रकम सहयोग गरेका थिए । त्यस्तैगरी स्थानीय पूर्ण हमालले आफ्नो स्वर्गीय बुबा उदय बहादुर हमाल र स्वर्गीय आमा पदम कुमारी हमालको सम्झना गर्दै तथा नातीहरु धन बहादुर, मन बहादुर, राम बहादुर र रेशम बहादुर हमालले दश लाख रुपैया सहयोग गरेका थिए । दुवै परिवारले १० लाख १ हजार १ सय ११ रुपैयाको चेक एक कार्यक्रमका बिच हस्तान्तरण गरेका थिए । साथै विभिन्न सहयोगीदाताहरुले नगद तथा जिन्सीहरु सहयोग गरेका थिए । समापन कार्यक्रममा महायज्ञमा सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया