बजगाईंको नियात्राकृति ‘भाया साक्रा’ सार्वजनिक

इनेप्लिज २०७४ फागुन ३ गते ११:४५ मा प्रकाशित

बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको आठौं साहित्यिक कृति तथा दोस्रो नियात्रासङग्रह ‘भाया साक्रा’ बजारमा आएको छ । ‘भाया साक्रा’ नियात्रासङ्ग्रहमा बेलायत, इटाली र बेल्जियमका २१ वटा यात्रानुभूतिहरु छन् । लेखकले ती देशका इतिहास, कला, साहित्य आदिको बिस्तृत जानकारी सरल र गाह्र्य भाषामा नियात्रा मार्फत पाठकलाई दिएका छन् ।
आख्यान, कविता र निबन्धमा कलम चलाउने बजगाईं लामो समयदेखि प्रवासमा रहेर लेखन, सम्पादन र प्रकाशन कार्यमा सक्रिय हुँदै नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर क्रियाशील छन् ।

यसअघि उनका यन्त्रवत्, रोडम्याप र कवच (लघुकथासङ्ग्रह), हिउँको तन्ना (हाइकुसङ्ग्रह), स्रष्टा र डिजिटल वार्ता (अन्तर्वार्तासङ्ग्रह ), कमरेड भाउजू (कथासङ्ग्रह ) एवम् युरेशियाको स्पर्श (नियात्रासङ्ग्रह ) पुस्तककृति प्रकाशित भइसकेका छन् ।

साहित्यकार बजगाईं सुप्रमा साहित्य पुरस्कार(बेलायत), डायस्पोरा नृपध्वज पुरस्कार(अमेरिका), नारायण-जयन्ता लिटरेरी वेब जर्नालिज्म अवार्ड(अमेरिका), देवकोटा शताब्दी सम्मान(नेपाल), सत्यमोहन जोशी शताब्दी पदक(नेपाल), भानुभक्त द्विशताब्दी स्वर्ण पदक(नेपाल) आदि पुरस्कार तथा सम्मानहरुद्वारा सम्मानित स्रष्टा पनि हुन् । उनले थुप्रै राष्ट्रिय/अन्तर्राष्ट्रिय साहित्यिक संघसंस्थाको नेतृत्व गरेका छन् ।

सांग्रीला बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य २९५/- रहेको छ |

प्रतिक्रिया