उदयपुरबाट काँग्रेसका मात्र दुई महिला मनोनीत

इनेप्लिज २०७४ फागुन १ गते ११:१७ मा प्रकाशित

गाईघाट, उदयपुर, १ फागुन : हालै निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभाको बन्दसूचीमा रहेको प्रतिनिधिसभाका लागि समानुपातिक सदस्यको नामावलीमा उदयपुर जिल्लाबाट नेपाली काँग्रेसको तर्फबाट मात्र दुईजना महिला सांसद मनोनीत भएका छन् ।

यसरी मनोनीत हुनेमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य लक्ष्मी परियार र अर्का जिल्ला महासमितिका सदस्य तथा पूर्वसभासद् प्रमिला राई रहेको नेपाल काँग्रेस उदयपुरले बताएको छ ।

उदयपुरबाट प्रतिनिधिसभा सदस्यको लागि समानुपातिक कोटामा दुवै महिला मनोनीत हुन सफल हुनुभएको कुरा नेपाली काँगे्रस उदयपुरका प्रवक्ता मदनराज कटुवालले बताउनुभयो ।

अब नेपाली काँग्रेसबाट उदयपुरको प्रतिनिधिसभाको क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फबाट निर्वाचित सांसदमा काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्कासहित तीनजना प्रतिनिधिसभा सदस्य हुनुभएको छ ।

तर यता जिल्लाका वाम गठबन्धन नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)बाट समानुुपातिकमा महिला तथा पुरुषसहित दर्जनौँको नाम बन्दसूचीको लिष्टमा राखिएको भएपनि नाम पर्न नसकेकोमा सम्बन्धित उम्मेदवारले व्यापक असन्तुष्टी जाहेर गरेका छन् ।

एमालेभन्दा पनि माओवादी केन्द्रबाट धेरैजना नेता र महिलाको समेत समानुपातिक कोटामा नाम रहेको भएता पनि जिल्लामा कोही पनि पर्न सफल नभएको कुरा माओवादी केन्द्रका पूर्वसांसद तथा केन्द्रीय सदस्य मणि खम्बुले बताउनुभयो ।

उदयपुरबाट प्रत्यक्षतर्फ २ नम्बर निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रका सुरेश किराँतीले प्रतिनिधिसभामा विजय हासिल गर्नुभएको छ भने काँग्रेसका तर्फबाट जिल्लाको क्षेत्र नम्बर १ बाट नेकाका डा नारायण खड्काले विजय हासिल गर्नुभएको हो ।

अब जिल्लाबाट प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट एकजना मात्र सांसद सदस्य रहेका छन् भने नेपाली काँग्रेसबाट तीन जना पुगेका छन् ।

प्रतिक्रिया