बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं १७:४९
वासिङटन डिसी 08:04

प्रदेश ५ को सभामुखमा घर्तीले दर्ता गरे उम्मेदवारी

इनेप्लिज २०७४ फागुन १ गते १०:४७ मा प्रकाशित

भैरहवा, फागुन १ । प्रदेश ५ को सभामुखका लागि माओवादी केन्द्रका पूर्णबहादुर घर्तीले उम्मेदवारी दर्ता गरेका छन् ।

 प्रदेश सभा संसद् सचिवालयमा मंगलबार बिहान साढे १० बजे वाम गठबन्धनका संयुक्त उम्मेदवार घर्तीले उम्मेदवारी दर्ता गरेका हुन् । माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा उनको उम्मेदवारी दर्ता भएको हो ।रुकुम पूर्वबाट निर्वाचित घर्तीलाई प्रदेश ५ को सभामुखको उम्मेदवार बनाउने माओवादी केन्द्रले निर्णय गरेको थियो । संसद्मा वाम गठबन्धनको आरामदायी बहुमत छ ।

८७ सांसदमध्ये गठबन्धनसँग ६१ सांसद् छन् । संसद्को तेश्रो शक्ति कांग्रेस र अरु दलहरुले सभामुखमा उम्मेदवारी दिने तयारी गरेका छैनन् ।

कांग्रेस सांसद् वीरबहादुर रानाले कांग्रेसले सभामुखमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको बताए । ‘हाम्रो संसदीय दलको बैठक पनि बसेको छैन र यसबारे कुनै टुंगो लागेको छैन ।’

उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै घर्तीले भने– ‘सबैलाई मिलाएर चलाउँछु ।’

संसद्लाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले सञ्चालन गर्ने उनले बताए । उनले प्रदेश ५ लाई समृद्ध बनाउनका लागि सबै दलहरुलाई एकैसाथ लिएर अघि बढ्ने उल्लेख गरे ।

प्रतिक्रिया