मधेसमा क्रान्तिको कोर्ष बदलियो : नेता उपेन्द्र यादव

इनेप्लिज २०७४ माघ २९ गते २२:४३ मा प्रकाशित

सञ्जय मित्र, रौतहट
संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसमा क्रान्तिको कोर्ष बदलिएको बताएका छन् । अनेक आन्दोलन गरेर मधेसीले मधेस प्रदेश पाइसकेकाले अब राजनीतिक आन्दोलनभन्दा आर्थिक विकासको लागि क्रान्तिको आवश्यकता रहेको बताएका छन् । निकै लामो समयको संघर्षको कारण मधेस प्रान्त प्राप्त भएको र अब मधेसीको आफ्नो सरकार हुने, पहिचान हुने हुनाले प्राप्त अधिकारको रक्षा गर्दै विकास र निर्माणको कार्यमा जुट्नु आवश्यक रहेको बताएका छन् । नेता यादवले अधिकारको संघर्ष कहिल्यै नरोकिने पनि स्पष्ट पारेका छन् । संघीयता तथा गणतन्त्रको अधिकारलाई बलियो बनाउँदै गरिबी, बेरोजगारी तथा पिछडापनसित एकजुट भएर लड्नुपर्ने पनि नेता यादवले बताएका छन् ।
रौतहटको गरुडा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटको सार्वजनिकीकरण र प्रथम नगर सभाको समापन गर्दै यादवले जातीय विद्वेष र घृणाको कारणले मधेस पछाडि परेको बताएका छन् । जाति र नाताभन्दा माथि उठेर व्यक्तिको गुण र क्षमताको कदर गर्नुपर्ने सल्लाह नेता यादवले दिएका छन् ।

लोकतन्त्रको नाउँमा लूटतन्त्र र भ्रष्टाचारतन्त्र व्याप्त रहेकोले सबैले समयमा सचेत भएर शिक्षा र विकासमा जोड दिनुपर्ने बताएका छन् । कागजमा विकास गरेर होटलमा बसी गिलाससमेत पिउने प्रवृत्तिको अन्त्य हुनुपर्ने नेता यादवको भनाइ छ ।
बजेटको कार्यान्वयन भएमा मात्र सार्थकता देखिने भएकोले गरुडा नगरपालिकाले प्रस्तुत गरेको बजेट सुन्दा आकर्षक लागेको बताउँदै नेता यादवले कुनै पनि देशको विकासको मूल आधार शिक्षा रहेकोले शिक्षाको विकासमा जोड दिन पनि आग्रह गरेका छन् ।

विश्वका पिडडिएका देशहरुमध्ये नेपाल, नेपालको सबैभन्दा पछाडि परेको प्रदेश मधेस र मधेसको सबैभन्दा पछाडि परेको जिल्ला रौतहट भएकोले रौतहट विश्वकै सबैभन्दा पछाडि परेको जिल्लाको रुपमा हुन गएको बताउँदै नेता यादवले मानव विकास सूचकांकको आधारमा सबैभन्दा पछाडि परेको जिल्ला र प्रदेशलाई सबैभन्दा बढी बजेट दिनुपर्ने सुझाव केन्द्र सरकारलाई दिएका छन् ।

कार्यक्रममा नगरपालिकाको तर्फबाट मेयर इन्नु राय यादव, उपमेयर रंगीलादेवी जयसवाल लगायतकाले नेता यादवलाई ५१ किलोको माला लगाएका छन् ।

भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकता दिई बजेट विनियोजन गरिएको गरुडा नगरपालिकाका मेयर इन्नु राय यादवले ३९ करोड ७२ लाख ४३ हजार रुपैयाको आय व्यय सार्वजनिक गरेका छन् ।
संघीय समाजवादी फोरम नेपालका मधेस प्रदेश सदस्य बृजकिशोर यादवले संचालन बज्जिका भाषामा संचालन गरेको कार्यक्रममा शुभकामना मन्तव्य दिँदै उपमेयर रंगीलादेवी जयसवालले संघीयता र गणतन्त्रको संघर्षमा बलिदान दिने र आन्दोलनमा सक्रिय सहभागिता जनाउने सबैलाई वीर सपूतको संज्ञा दिएकी छन् । उपमेयर जयसवालले गरुडा नगरपालिकाका नागरिकको विकासको इच्छा र चाहना बजेटले पूरा गर्न नसके पनि धेरै अपेक्षालाई साकार रुप दिने बाटो भने फराकिलो बनाउने बताएकी छन् ।

कार्यक्रममा गरुडा नगरपालिका निर्माण हुँदा गाभिएका सातवटै गाविसका पूर्व अध्यक्ष, उपाध्यक्ष एवं विशिष्ट समाजसेवी तथा संचारकर्मीसहित दुई दर्जनभन्दा बढीलाई दोसल्ला ओढाई नेता यादवले नगरपालिकाको तर्फबाट सम्मान गरेका छन् । सम्मानित हुने संचारकर्मीहरुमा सञ्जय साह मित्र, राजेश्वर पान्डे, गौतम श्रेष्ठ, कृष्ण तिवारी, संजय मिश्र विद्रोही, राकेशकुमार यादव लगायतका रहेका छन् । कार्यक्रमका प्रमु्ख अतिथि यादवलाई गरुडा नगरपालिका २ का वडाध्यक्ष विशुनदेव सहनीद्वारा सम्मानित गरिएको छ । वडाध्यक्ष सहनी सम्पूर्ण वडाध्यक्षमे ज्येष्ठ रहेका छन् ।
कार्यक्रमको सम्पूर्ण संचालन बज्जिकामा गरिएको थियो भने प्रमुख अतिथि यादवले मैथिली भाषामा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया