एमाले प्रदेश–१ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित

इनेप्लिज २०७४ माघ २६ गते १०:२९ मा प्रकाशित

 विराटनगर, माघ २६ । नेकपा एमाले प्रदेश नम्बर–१ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् ।

शुक्रबार विराटनगरस्थित संसदीय दलको कार्यालयमा भएको मतदानबाट राई संसदीय दलको नेता चुनिएका हुन् ।

दुई नेता भीम आचार्य र शेरधन राईबीच भएको प्रतिस्पर्धामा राईले कुल ५१ मा २६ मत प्राप्त गरेर विजयी भएका हुन् । आचार्यले २४ मत प्राप्त गरे । मतदानमा एक मत भने बदर भएको छ ।

राई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर र आचार्य वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मानिन्छन् ।

योसँगै राईलाई प्रदेश नम्बर–१ को मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ । संसदीय दलकै नेता मुख्यमन्त्री हुने एमालेको विधानमा उल्लेख छ ।

निर्वाचित भएलगत्तै उनले अब चाँडै सरकार गठन हुने र सरकारको प्राथमिकता आर्थिक समृद्धि रहने बताए ।

यस्तै, अब राईसँगै मिलेर अगाडि बढ्ने भीम आचार्यले बताए ।

राईको प्रस्तावकमा झापाका हिक्मत कार्की र समर्थकमा सुनसरीका जगदीश कुशियत रहेका थिए भने आचार्यको प्रस्तावकमा पाँचथरका गणेश काङवाङ र समर्थकमा संखुवासभाका तुलसी न्यौपाने रहेका थिए ।

प्रदेश नम्बर–१ मा एमालेको एकल बहुमत रहेको छ

प्रतिक्रिया