मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं १६:५५
वासिङटन डिसी 07:10

बाढी प्रभावितको सहयोग सम्बन्धी भेला सम्पन्न : ८ जिल्लामा पुनर्लाभ कार्यक्रम सञ्चालन गरिने

इनेप्लिज २०७४ माघ २२ गते ११:३१ मा प्रकाशित

“हामीले २०७४ साउनको बाढी पश्चात रौतहटमा करिव ८ हजार परिवारलाई नगद वितरण गर्यौ । ४ हजार परिवारलाई खाद्यान्न बाडिएको थियो । १,१२९ जनालाई गैरखाद्य सामग्रीको सेट दियौँ । यो सवै काम गर्न सिडियो, सुरक्षा निकाय लगायत विभिन्न सँस्था र यएून निकायहरुको सहयोग पाइयो । यी सवै सफलताकै उदारण हुन् तर असफलता पनि धेरै छन् । सिकिएका पाठहरु पनि धेरैछन् । तीमध्ये मुख्य कुरा यो छ कि वितरण प्रकृयाले समय लिन्छ भन्ने कुरा धेरैले हेक्का राख्दैनन, त्यसको ख्याल राख्नै पर्छ । जस्तो एकै दिनमा एकै स्थानमा धेरै जनालाई नगद वितरण वा चेक वितरण गर्न त सकिएला तर वैँकहरुको क्षमता पनि हेर्नुपथ्र्यो । कुनै दिन विदा पर्छ त्यसको नगद उपलव्धताको पनि …। त्यस्तै, लाभान्वितहरुको नामको सही सूची बनाउन अर्को चुनौती थियो । कतिपय अवस्थामा छुटेकाहरुबाट र राजनीतिक समूहबाट अमर्यादित व्यवहार पनि । सँस्थाले सवै स्थानमा राहत वितरण गर्न सक्दैन, अनि विभिन्न दाताहरुको विभिन्न चाहना पूरा गर्न गाह्रो छ, कतिपय उही दाताको पनि नीति फेरिन्छ । त्यस्तो बेलामा गुनासोहरु पनि वढ्छन् ।” रौतहटका रेडक्रस शाखा सभापति सन्जीव मल्लिकले गत वाढीको समयमा गरिएको राहत तथा उद्यार क्रममा सिकिएको पाठ र अवको योजना बारे अन्रक्रिया कार्यक्रममा अनुभव साटासाट गर्नुभयो ।

गत साउनको अन्तिम साता नेपालको तराइ क्षेत्रमा गएको बाढी पश्चात नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको तत्काल उद्यार र राहतको विषयमा अनुभव आदान प्रदान गर्न, सिकिएका अनुभवहरुको लेखाजोखा गर्न र अवको पुनर्लाभबारे छलफल गर्न तराई मधेश क्षेत्रका १९ जिल्लाका शाखाको नेतृत्व र कर्मचारीहरुको भेला चितवनमा शनिवार सम्पन्न भएको छ । भेलामा केन्द्रीय नेतृत्व र कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । नेरेसाका अध्यक्ष सञ्जीव थापाले समुद्घाटन गर्नुभएको सो कार्यक्रममा नेरेसोका नेरेसोका उपाध्यक्षहरु अजीत कुमार शर्मा, हरि निरौला र सुदर्शन प्रसाद नेपाल, उपमहामन्त्री हरि प्रसाद न्यौपाने, राष्टिय विपद् व्यवस्थापन र केन्द्रीय स्वास्थ्य समितिका सभापति मनोज थापा र उत्तम जोशी, रेडक्रसको अन्तर्राष्टिय समितिका प्रतिनिधि हाजिमी, नेरेसोका केन्द्रीय सदस्यहरु सूर्यचन्द्र न्यौपाने, कृष्ण प्रसाद न्यौपाने र राजदेव यादव र कामु कार्यकारी निर्देशक इन्द्र बहादुर केसीको समुपस्थिति रहेको थियो । यसैगरि विपद्, स्वास्थ्य, आर्थिक तथा सञ्चार विभागका निर्देशक तथा विभागीय प्रमुखहरुले सक्रिय सहभागिता गर्नुभएको थियो ।

भेलालाई सम्बोधन गर्दै नेरेसोका अध्यक्ष सञ्जीव थापाले भन्नुभयो : पूर्वतयारी, स्वयँसेवकहरुको तत्परता, सरकार लगायत सरोकारवालासँगको सहकार्य, केन्द्रीय नेतृत्वको टोलीको फिल्ड भ्रमण र आवश्यक समन्वय र निर्णय प्रकृयामा सहभागिता नै नेरेसोको वाढी पीडितलाई सहयोग अभियानको सफलताको कडी थियो जस्ले ३० देखि ४५ दिन भित्रै सिघ्र राहत वितरण सम्भव तुल्यायो ।

साउनको बाढी र तत्काल प्रतिकार्य :

साउनको बाढीले झण्डै १७ लाख मानिसहरुलाई प्रभावित पारेको थियो जसमा ९० भन्दा वढी मानिसले ज्यान गुमाउनुपरेको थियो । सामाजिक क्षेत्र, उत्पादन क्षेत्र र पूर्वाधार क्षेत्रमा गम्भीर क्षति पुर्याएको थियो । नेरेसोका वाढी पुनर्लाभ कार्यक्रम सँयोजक डा. कृष्ण देवकोटाले बाढी पश्चात २२ जिल्लामा नेरेसोले १० हजार ५ सय सेट राहत सामग्री, १६ जिल्लामा ८ हजार त्रिपालहरु, ३ जिल्लामा ३ हजार झुल वितरण गरिएको तथा प्रभावित जिल्लाहरुमा ४ लाख पानी सुद्धिकरण ट्यावलेटहरु सहित सरसफाइ र पुनर्जलीय औषधीहरु वितरण गरिएको जानकारी दिनुभयो । त्यस्तै १२ जिल्लामा तयारी खानेकुराहरु वितरण भएको थियो ।
स्थानीय स्तरमा रेडक्रसको समन्वयमा अस्थायी आवासमा मानिसहरुलाई जम्मा गर्ने र खानाको प्रवन्ध मिलाइएको तथ्याँक जिल्लाका प्रतिनिधिहरुले सुनाउनुभएको थियो ।

मुख्य सिकाइहरु :

पूर्वचेतना प्रणालीको विस्तार, प्रभावितहरुको सहभागितामा सामग्री र सहयोग वितरण योजना, सरोकारवालासँगको सहकार्य र पारदर्शि सहयोग कार्यक्रमले नै भविश्यमा यस्ता विपद्हरुमा प्रभावकारी काम गर्न सघाउ पुग्ने पाठ सिकिएको नेरेसो विपद् व्यवस्थापन विभागका प्रमुख धर्मराज पाण्डेयले बताउनुभयो ।
क्षतिको विस्तृत सर्वेक्षण फारम अनुसार तथ्याँक सँकलन, अभिलेखिकरण र विश्लेषणलाई अझ प्रभावकारी बनाउनुपर्ने, तयारी खाद्य बस्तुलाई राहत प्याकेजमा समावेश गर्नुपर्ने, सामग्री ढुवानीमा स्थानीय सुरक्षा निकायको सहयोग वढाउनुपर्ने, खुला र सुरक्षित स्थलको पूर्व पहिचान हुनुपर्ने, सामुदायिक भवनहरु बनाइनुपर्ने जस्ता अल्पकालीन कार्यहरु तत्काल सुरु गर्नुपर्ने जस्ता सुझावहरु समुह छलफलको क्रममा प्राप्त भएको थियो ।

क्षेत्रीय गोदामघरहरुको स्तरोन्नती तथा ढुवानी साधनको व्यवस्था, जिल्ला जिल्लामा बनेको विपद् प्रतिकार्य योजनाको अद्यावधिक, विपद् जोखिम क्षेत्रका उपशाखाहरुमा खोज तथा उद्दारकर्मी र सामग्रीको व्यवस्था, सूचना व्यवस्थापन प्रणालीको विस्तार, आपत्कालीन आवास व्यवस्थापन जस्ता दीर्घकालीन गतिविधिहरु सञ्चालन गर्न जिल्ला शाखाहरुले सुझाव दिएका छन् ।

छलफलको समापन गर्दै नेरेसोका उपाध्यक्ष हरि निरौलाले भन्नुभयो : स्थानीय तहले स्वास्थ्य र विपद्को क्षेत्रमा बजेट वाँडफाँड गरेकोले त्यो स्रोत पूर्वतयारीमा लगाउन बहस पैरवी र प्राविधिक सहयोग अवको मुख्य बाटो हुनुपर्दछ ।

नेरेसोले ८ जिल्लामा पुनर्लाभ कार्यक्रम सुरु गर्ने

नेरेसोले ८ वटा जिल्लामा वाढी प्रभावितहरुलाई लक्षित गरी पुनर्लाभ कार्यक्रम सुरु गर्ने घाेषणा गरेकाे छ । सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, रौतहट, उदयपुर र बर्दिया जिल्लामा रेडक्रसको अन्तर्राष्ट्रिय महासँघको सहयोगमा ७ हजार घरधुरीलाई केन्द्रमा राखी आवास, जीविकोपार्जन, स्वास्थ्य, पानी तथा सरसफाई कार्यक्रम सञ्चालन हुनेछ भने सर्लाहीमा अमेरिकन रेडक्रसको सहयोगमा पुनर्लाभ गतिविधि सञ्चालन हुनेछ ।
रेडक्रसको बाढी पुनर्लाभ कार्यक्रम प्रमुख डा. कृष्ण देवकोटाले भन्नुभयो —वाढीको समयमा गरिएका तत्कालको सहयोग तथा सर्वेक्षण, नेपाल सरकारको योजना तथा उपलव्ध स्रोतको आधारमा यो निर्णय गरिएको हो । सामुदायिक सहभागिता र जवाफदेहिताका साथै जेन्डर तथा समावेशीकरणको अवधारणा साथसाथै लगिने छ ।

रेडक्रसको पूनर्लाभ कार्यक्रमको महत्वपूर्ण पाटो विपद जोखिम न्यूनीकरण हुनेछ जसमा जोखिम न्यूनीकरणका उपायहरु समावेश छन् । आपत्कालीन आवास व्यवस्थापनको लागि सामुदायिक आवास स्थलको व्यवस्था, उच्चो स्थलमा ट्यूववेलको निर्माण, पानीको गुणस्तर परिक्षण, ट्यूवेलहरुको नियमित मर्मत सम्भारको लागि औजारहरुको व्यवस्था, चेतनामूलक र जीविकोपार्जन सहयोगी कार्यक्रम पनि पुनर्लाभ गतिविधि अन्तरगत राखिएका छन् ।
यी गतिविधिहरुको लागि जनशक्ति जिल्लामा खटाइसकिएको र आगामी ६ महिनामा काम सम्पन्न गरिनेछ –डा. देवकोटाले बताउनुभयो ।

फोटो : दिव्यराज पौडेल । नेपाल रेडक्रस

प्रतिक्रिया