केही दिनभित्रै काँग्रेस केन्द्रीय समितिको बैठक बस्छ : प्रवक्ता

इनेप्लिज २०७४ पुष ३० गते १३:२२ मा प्रकाशित

काठमाडौँ, ३० पुस: नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि बढाउनका लागि गम्भीर छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागिएको बताउँदै भन्नुभयो, “पार्टीभित्र पराजयबारे गम्भीर समीक्षा गरेर नवजीवन दिने बाटोमा अगाडि बढ्नुपर्छ। ”

हामी बदलिन्छौँ, देश बदल्छौँ भन्ने दृढ इच्छा राखेर उमेरभन्दा पनि कार्यसूचीलाई प्राथमिकतामा राखेर अगाडि बढे मात्र सफल होइने उहाँको भनाइ थियो । प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार आवश्यक परे महासमिति र महाधिवेशन प्रतिनिधिको बैठक बोलाइने स्पष्ट पार्नुभयो ।

नेता शर्माले काँग्रेसले कुनै पार्टीको कुनै नेतालाई प्रधानमन्त्री हुन प्रस्ताव नगरेको स्पष्ट गर्र्दै पार्टी जनादेशलाई आत्मासात् गरेर अगाडि बढ्ने बताउनुभयो । नेता शर्माले सरकारले चाँडो प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने जानकारी दिँदै राष्ट्रियसभाको निर्वाचनपछि आगामी फागुनको पहिलो वा दोस्रो हप्तामा नयाँ सरकार बन्ने बताउनुभयो ।

प्रतिक्रिया