न्यूनतम् पारिश्रमिकको अध्यक्षमा पत्रकार पराजुली

इनेप्लिज २०७४ पुष २८ गते १५:०२ मा प्रकाशित

काठमाडौँ, २८ पुस : सरकारले न्यूनतम् पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा वरिष्ठ पत्रकार गंगाधर पराजुलीलाई नियुक्त गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार पराजुलीलाई समितिको अध्यक्षमा दुई वर्षका लागि नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

समितिको रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले यसअघि खुला आवेदन गरेको र सो पदमा आठ जनाको आवेदन परेको थियो । आवेदकमध्येबाट कार्ययोजना र प्रस्तुतीकरणपछि अन्तिम छनौटमा पर्नुभएका पत्रकार पराजुलीलाई सरकारले समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

विगत २५ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय पराजुलीले व्यवस्थापन विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । पत्रकारिताका दौरानमा उहाँले गोरखापत्र दैनिक, कान्तिपुर दैनिक, नेपाल टेलिभिजन, नेपाल समाचारपत्रलगायत विभिन्न राष्ट्रिय र स्थानीय सञ्चारमाध्यममा काम गरिसक्नुभएको छ ।

पोखरा निवासी उहाँ यसअघि राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य भइसक्नुभएको छ । पत्रकारिताका क्रममा दर्जनौँ राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भइसक्नुभएका वरिष्ठ पत्रकार पराजुलीले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, चीन, भारत, दक्षिण कोरिया, हाइटी, जापान, थाइल्याण्ड, डेमोनिकन रिपब्लिकलगायत मुलुकको भ्रमण गरिसक्नुभएको छ ।

उहाँले नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्ष भएर काम गरिसक्नुभएको छ ।

प्रतिक्रिया