राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता माघ १० गते

इनेप्लिज २०७४ पुष २६ गते १२:४६ मा प्रकाशित

२६ पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

 

सरकारले माघ २४ मा निर्वाचन गर्ने तय गरेपछि आयोगले कार्यतालिका बनाएको हो, जस अनुसार माघ १० गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ ।

निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख एवं प्रदेशसभा सदस्य मतदाता हुनेछन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १५०६ जना तथा प्रदेशसभाका ५५० सदस्य गरी कुल २,०५६ जना मतदाता छन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ तोकिएको छ ।

स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेशसभा सदस्यको मतबाट राष्ट्रियसभाका ५६ सदस्य निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट महिला र खुलाबाट ३/३ जना, दलित र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १/१ जना गरी ८ जना चुनिनेछन् ।

निर्वाचन आयोगले सात स्थानमा मतदान स्थल बनाउनेछ । उच्च अदालतको मुख्यालय जहाँ छ, त्यही मतदान केन्द्र रहने प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगले उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा पुस २९ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको छ ।

आयोगका अनुसार मतदान केन्द्रहरुमा माघ ७ गते मतदाता नामावली प्रकाशन गरिनेछ । त्यस्तै १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ भने १५ गते उम्मेदवारहरुलाई निर्वाचन चिहृन प्रदान गरिनेछ ।

माघ २४ गते बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म मतदान हुनेछ । प्रत्येक प्रदेशमा मतदान हुनेछ ।

प्रतिक्रिया