डा. केसीको पक्षमा सडकमै उत्रिए डा. बाबुराम भट्टराई, गगन थापा र रविन्द्र मिश्र

इनेप्लिज २०७४ पुष २५ गते ११:१६ मा प्रकाशित

काठमाडौं, पुस २५ । अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका डा. गोविन्द केसीको समर्थन गर्दै राजनीतिक दलका नेताहरु पनि सडकमा उत्रिएका छन् ।

मंगलबार प्रहरीले डा. केसीलाई अदालतको आदेश बमोजिम सर्वोच्च अदालतमा उपस्थित गराउँदा डा. केसीका समर्थकहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । प्रदर्शनमा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका नेता डा. बाबुराम भट्टराई, पूर्व मन्त्री तथा कांग्रेस नेता गगन थापा, विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्र पनि सहभागी भए ।

विवेकशील साझा पार्टीले विज्ञप्ति नै जारी गर्दै डा. केसीको गिरफ्तारीको विरोध गरेको छ । मंगलबार सो पार्टीका प्रवक्ता सुर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा र चिकित्सा सेवा सम्बन्धी आमजनताका सरोकारका नितीगत मुद्दा र विकृतिमाथि आवाज उठाउँदै आउनुभएका इमान र निष्ठाका प्रतीक डा. गोविन्द केसीको गिरफ्तारीको खबरले हामी स्तब्ध भएका छौं ।

पूर्व प्रधानमन्त्री डा. भट्टराईले सिंहदरवार प्रहरी बृत्तमै पुगेर मंगलबार बिहान डा. केसीसँग भेट गरेका छन् । उनले डा. केसीको मनोबल उच्च रहेको उल्लेख गर्दै भने, ‘उहाँको साथमा सम्पूर्ण नेपाल र नेपाली छन्, सत्य र सत्ताको लडाईमा तत्काल सत्ताले जिते पनि अन्ततः सत्यको जित हुन्छ ।’

डा. केसीले मंगलबार प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै आमरण अनसनमा बसेका डा. केसीलाई सोमबार सर्वोच्च अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया