बुधबार, असोज ३१ २०७५
काठमाडौं ००:२७
वासिङटन डिसी 14:42

सन् २०१७ को विश्व राजनीति :हाइड्रोजन बमदेखि जेरुसेलमसम्म

इनेप्लिज २०७४ पुष १९ गते १:२२ मा प्रकाशित

काठमाडौं, १७ पुुस (रासस)  आणविक आडम्बरको अहिलेसम्मको अन्तिक किस्ता उत्तर कोरियाले उसको आफ्नै भाषामा गत सेप्टेम्बरमा ‘रिलिज’ ग¥यो । हाइड्रोजन बम मिश्रित उसको अस्त्रको होडले भौतिक रुपमा एसिया (उत्तर र दक्षिण कोरिया, जापान) मात्र हल्लाएपनि यसको राजनीतिक विकीरणले भने समग्र भूगोललाई नै तरंगित बनायो । यसरी हेर्दा सन् २०१७ को विश्व राजनीतिको तरंग कोरियाली प्रायद्वीय छेउछेवा भएर बहेको छ ।

 

विश्वका खासगरी शक्ति राष्ट्रहरुका आ–आफ्ना भूराजनीति भएपनि उत्तर कोरियाले परीक्षण गरेको यो पछिल्लो क्षेप्यास्त्रले ल्याएको ६ म्याग्निच्युडको भूकम्पले एसियाका यी तीन देशलाई भौतिक रुपमै र बाँकी विश्वको राजनीतिको जग पनि हल्लाइदिएको छ । त्यसैले यो आडम्बरको राजनीतिक जरो कहाँनिरबाट पलाएको छ र उसले यति शक्तिशाली बम बनाउने विजुलीको तार कहाँ जोडिएको छ भनेर अमेरिकाले यो सालभरि नै खोजि गरिरहेको छ, तर भेटेको छैन ।

उसले आफ्नो यो क्षेप्यास्त्रको तिर एकैपटक जापान र अमेरिकातिर फर्काएर प्रहार गरेको छ । जापानको सामुद्रिक आकासहुँदै पठाएको त्यो क्षेप्यास्त्रले अमेरिकासम्म नै मार हान्नसक्ने उसले जनाएको छ । दक्षिण कोरियाको त कुरै भएन उत्तरको जन्मजात शत्रु नै भइहाल्यो । उत्तरको यो चेतावनीबाट तातेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान, दक्षिण कोरिया र चीनको भ्रमण गर्नुभयो । तर त्यसको जरो फेलापार्न सक्नुभएन । बरु उहाँका विदेशमन्त्रीले विनाशर्त वार्तामा बस्न अमेरिका तयार रहेको विचार हालै सार्वजनिक गर्नुभयो ।

वास्तवमा ट्रम्पका दिनहुँका ट्वीटको आसयले यसको जरो चीनमा देखेको भान हुन्छ । उहाँले केही दिनमात्र अघि एउटा ट्वीटमा उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले नै कडा नाकाबन्दी लगाएको र त्यसमा चीनको हस्ताक्षर भएपनि चीनले कोरियालाई भित्रभित्रै इन्धन आपूर्ति गरिदिएको आरोप लगाउनुभएको थियो । उहाँले चीन भ्रमणका क्रममा पनि मुखै फोरेर भन्नुभएको थियो कि, चीनले चाहनामा यो समस्याको समाधान छ । उहाँको आसय थियो– उत्तर कोरियाको हातबाँध्न चीन बाहेक अरुले सक्दैन ।

यो मामिलामा रुस मौन छ । चीनले वार्ताका माध्यमबाटै सबै समस्या हल गर्नुपर्छ भन्ने कूटनीतिक धारणा सार्वजनिक गर्ने गरेको छ । सिंगो युरोप आतङ्कवाद, आप्रवासन, आर्थिक मन्दी र बे्रक्जिट समस्यामा रुमलिएको छ ।

उता परमाणु क्रियाकलाप प्रतिबन्धित जापानमा प्रधानमन्त्री सिन्जो आबेको दलले संविधान संशोधन गर्न सक्नेगरी दुई तिहाई बहुमत हासिल गरेको छ । यता कोरियाली प्रायद्वीपमा अमेरिका र दक्षिण कोरियाको शक्तिशाली स्थल र हवाई समेतको संयुक्त सैन्य अभ्यास जारी छ । उत्तर कोरियाले भने उसको अर्काे कुनै खेती नै नभएजस्तोगरी हरेक हप्ता नयाँ परीक्षणको धम्की दिई नै रहेको हुन्छ । त्यसैले सन् २०१८ को पनि विश्व राजनीतिको अधिकांश समय उत्तर कोरियाले नै लिने अवस्था देखापर्दैछ ।

डोनाल्ड ट्रम्पका एकपछि अर्काेगरी बाहिर आउने विवादस्पद निर्णय र नीतिले विश्व राजनीतिलाई प्रत्यक्ष रुपमा प्रभावित बनायो । कहिले उत्तर कोरियालाई खरानी बनाइदिने त कहिले कुनै मुस्लिम बाहुल देशले आफ्नो देशमा प्रवेश नपाउने भन्नेजस्ता अभिव्यक्ति उहाँका आए । जसले अघिल्ला वर्षहरुजस्तै अमेरिकालाई मुस्लिम विश्वबाट भावनात्मक रुपमा अलग्याउने काम गर्यो । न्युयोर्कको ट्वीन टावरमा हमला गर्ने ओसामा विन लादेन खोज्न इराक र अफगानिस्तान प्रवेश गरेको अमेरिकाको मुस्लिम विश्वसँगको विगतको टाढिँदो सम्बन्धमा उहाँको विभिन्न ६ वटा मुस्लिम बाहुल देशका नागरिकले अमेरिका प्रवेश नपाउने नीतिसम्म आइपुग्दा त्यो विभाजनको घेरा थप फराकिलो बनाइदिएको छ ।

त्यसो त छिमेकीबाट एक्लिएको कतार कूटनीतिमा पनि अमेरिकाकै प्रवेश देखिएको विश्लेषण सन् २०१७ को जुन महिनादेखि गरिएको छ । साउदी अरेबियासँग राम्रो सम्बन्ध बनाएका ट्रम्पले सार्वजनिक रुपमा नगरेपनि आइएस नामक मुस्लिम अतिवादी संगठनलाई उहाँकै शब्दमा प्रश्रय दिएको ठान्ने कतारलाई एक्ल्याउन अमेरिकी नीति भित्री रुपमा जिम्मेवार रहेको गल्फको अनुमान छ । जुन ५ देखि साउदी अरेबियाको नेतृत्वमा कतारका छिमेकी गल्फ देशहरु संयुक्त अरब इमिरेट्स, बहराइन, इजिप्टलगायतले लगाएको नाकाबन्दीमा पनि पश्चिमा राजनीति मिसिएको बताइन्छ ।

इरानसँग कूटनीतिक सम्बन्ध तोड्नुपर्ने, अल जाजिरा टेलिभिजन बन्द गर्नुपर्नेजस्ता छिमेकीले राखेका मागहरुमा गल्फमात्रको राजनीतिले काम गरेजस्तो लाग्दैन । यसलाई विश्व राजनीतिकै आँखाबाट हेरिनुपर्दछ । जुन कतारका लागि सात महिनादेखि एउटा पीडा बन्न पुगेको छ । जसले कतारलाई विश्वकप फुटबलको आयोजनाबाट रोक्ने ध्येय भित्री रुपमा राखेको छ ।

जेरुसेलम अमेरिका र मुस्लिम विश्वको सम्बन्धको आजसम्मको पछिल्लो किस्ता हुनसक्छ जसले अमेरिकालाई विश्वमा नराम्रोसँग एक्लाइदिएको छ । जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकी निर्णय राष्ट्रसंघमा पुग्यो, मतदान भयो र अमेरिकी प्रस्तावले नौ मतमात्र पाउँदा विपक्षीमा १२८ देखि उभिए । राष्ट्रसंघमा अमेरिकाको यतिधेरै एक्लोपन यसअघि सायदै देखिएको थियो ।

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी राष्ट्रपतिको चाह देखिएको भनी सन् २०१७ भरि गरिएको राजनीतिलाई दुई देशको आन्तरिक मामिलामात्र भन्न सकिँदैन । किन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हिलारी क्लिन्टनको विपक्षमा लाग्न पुग्नुभयो भन्ने विषयले अमेरिकी राजनीतिमा रुसको सिधा प्रवेश मान्न नसकिएपनि अझै पनि रुसको शक्ति अमेरिकाको राजनीतिसम्म घुस्नसक्ने हैसियतमा छ भन्ने देखाउँछ । यसले अमेरिकी नागरिकलाई हिनताबोध भन्दा बढी रुसी महासंघमा सफल पुटिनले किन विश्वको शक्ति राष्ट्र अमेरिकाको राजनीतिमा प्रवेश ताक्दैछन् भन्ने कुरा बढी रहस्यमय हुनसक्छ ।

सुरुमा यस्तो कुनै सम्भावना छैन भनेर टक्टकिएका राष्ट्रपति ट्रम्पले यस्तो वाहियात तर्क भनेर अमेरिकी मिडियालाई फेक मिडियासमेत भन्न पछि पर्नुभएन । पछि यसरी यो तथ्य खुल्यो कि उहाँकै छोरालाई अमेरिकी सिनेट समितिमा बयानमा उभ्याइयो र उनकै मुखबाट बुबाको निर्वाचनबारे कुरागर्न एक रुसी महिला वकिलसँग भेटेको तथ्य बाहिर आयो । र पछि त स्वयम् ट्रम्पले नै रुसको यो कामले अमेरिकी नागरिककै कद घटाउने दुश्प्रयास गरेको भन्न समेत पछि पर्नुभएन ।

ब्रेक्जिट युरोपको मुद्दा हो भने सिरिया, यमनको हिंसा गल्फको आन्तरिक राजनीतिमा जकडिएको मामिला हो । सिरिया यमनमा पछिल्लो समयमा इराकबाट लखेटिएको आइएसको प्रवेश भएको छ । यसले शान्तिपूर्ण समाधान दिने लक्षण देखिँदैन । यता अफगानिस्तान, पाकिस्तानमा घरायसी आतङ्कवादको जरो कमजोर बनेको देखिन्न । भारतको विश्व राजनीतिमा प्रवेश अहिले नै सम्भव देखिँदैन भने म्यानमारबाट लखेटिएका रोहिंग्या त्यहाँको आन्तरिक जातीय राजनीतिको पराकाष्ठा हो ।

जाँदाजाँदै वर्षको उत्तररार्धतिर एक पटक विश्वमा चीनको चर्चा पनि चुलियो । विश्वले चीनको राजनीतिक विकासक्रममा चाखराख्यो जुन चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ काँग्रेसको कार्यक्रम थियो । यस काँग्रेसले चीनका वर्तमान राष्ट्रपति सि चिनफिङलाई बढी शक्तिशाली बनायो र उहाँको राजनीतिक बिचारलाई माओवादजस्तै संविधानमै लेख्ने निर्णय ग¥यो । उहाँको पहिलो कार्यकालको सफलताको व्यापक प्रसंशा हुनु, दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भई थप शक्तिशाली बन्नु र आफ्नो उत्तराधिकारीको चयन नगरिनुलाई चीन र विश्वले उहाँको पुनःउदयलाई अर्काे युगको संज्ञा दिएर चीनको राजनीतिमा बढी चर्चा भएको हो ।

यसलाई विश्वले उहाँले नै अघि सारेको २१ औँ शताब्दिको सबैभन्दा महत्वाकांक्षी आयोजना ‘बिआरआई’ को सफलतासँग पनि जोडेर हेरेको हो । यस कारण सन् २०१७ को विश्व राजनीतिमाको केन्द्रमा चीन पनि रहन पुग्यो । यी सबै घटना र बिचारहरुले आगामी वर्षमा पनि निरन्तरता पाउनसक्ने सम्भावना छँदै नै छ ।

प्रतिक्रिया