एनआरएन अनररी काउन्सिलमा नबस्ने विश्व पण्डितको घोषणा

इनेप्लिज २०७४ पुष १५ गते १८:२० मा प्रकाशित

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वसल्लाहाकार विश्वआर्दश पण्डितले हालै गठन गरेको एनआरएन अनररी काउन्सिल सदस्यमा नबस्ने घोषणा गरेका छन् ।

पण्डितले संघका अध्यक्ष र महासचिवलाई एक पत्र लेख्दै संघको बिधानमै नभएको निकायमा बस्न असमर्थ रहेको जनाएका छन् । पत्रमा विधानमा यस्तो कुनै समितिको व्यवस्था छैन, तसर्थ यो समितिको काम कर्तव्य र अधिकार के हो भनी प्रश्न समेत गरेका छन् ।

उनले पत्रमा भनेका छन्, ‘स्वघोषित मान्यवर भनिएको परिषदमा योग्य ठानेर नियुक्ति गरेकोमा धन्यबाद दिदैं नयाँ पद सिर्जना गरी नियुक्ति लिनुदिनु पर्ने अवस्था किन आइलाग्यो ? असमन्जस र किंकर्तव्यबिमुढ छु ? यो भन्दा त बरु संघलाई विभिन्न ढंगले टेवा पु-याउँदै आएकाहरुलाई बेग्ले कदरपत्र प्रदान गर्ने निर्णय गरेको भए बिजेता उपविजेता र महत्वपूर्ण भुमिका निर्वाहा गर्ने सबै पेशा, वर्ग, क्षेत्र र समुदायका साथीहरु समेटिने थिएजस्तो लाग्दछ ।’

‘ऊचित सल्लाहको कमी महशुस गरें । यो समितिको काम कर्तव्य र अधिकारको ऊचित बन्दोवस्त र व्याख्या नभएको अवस्थामा म यो परिषदमा रहन असमर्थ रहेको जानकारी गराउँदै यो पद ग्रहण गर्न अस्विकार गर्दछु’ पण्डितले पत्रमा भनेका छन् ।

संघको केन्द्रिय समितिको बैठक बमोजिम गठित सो समितिमा आफ्नो चुनावी प्रसारमा लागेकाहरुलाई मात्र छानिछानी राखेपछि समिति आलोचित छ ।

पण्डितले लेखेको पत्र जस्तोको त्यसतै

गैरआवासीय नेपाली संघ ७९ देशमा कर्कलाको पात झैं ढकमक्क तर ह्वात्तै फैलिए पनि त्यही कर्र्कलाको पातमा टल्किरहेको पानीको बुन्द जति सुन्दर देखिए पनि टलपलाइरहेको यथार्थलाई हामीले बिर्सनु हुँदैन । ढकमक्क फैलिएको पातमुनी यसले आम सर्वसाधारण नेपालीको बारीमा राम्रोसँग जरा गाडी नसकेको अवस्थामा लालीगुँरास झैं आम नेपालीमाँझ फुलाउनुपर्ने जिम्मेवारीलाई हरकोही एनआरएनले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाहा गर्नसक्छ भन्ने मलाई लाग्दछ । मैले पनि मेरो भुमिका एनआरएनको सदस्य र संगठन बिस्तारमा लगाउँदै आगामी २ वर्र्षमा यो संगठनलाई बिदेशमा रहने ५३ जनालाई मात्र सम्मान दिने होइन कि ५३ लाख नेपालीकै सम्मान र अधिकांशको सहभागिता हुने गरी कुशल नेतृत्व दिन सक्ने क्षमताको विकास बिधानभित्रै रहेर पनि गर्न सकिन्छ भन्ने ठानेको छु । सोही मुताविक बिना पद सक्रिय भूमिकामा पनि रहने छु ।

यो संस्थासँगको आबद्धता र सक्रियतालाई दुई चारजनालाई काटिने चिठ्ठी र दुई चार जना टाउँकेसँगको फोनवार्ता र दुईचार लाख चन्दाले मात्र मापन गर्नेछ । त्यस्को उल्टो मैदानमा सक्रिय रहेकाहरुलाई तिनले खै के गरे भन्ने लाज्जास्पद प्रश्न गर्ने छन् । सोही मुतविक गैरआवासिय नै नरहेकालाई संस्थाको भावना आदर्श र मर्यादा बिपरित आफ्ना कारोवार सञ्चालन गर्ने खजाञ्ची तविल्दार लेखनदास तथा डिल गर्दिने लोकल पट्के भर्ती गरेजस्तो गरी भर्ति केन्द्र बनाइनु हुँदैन । म जेभन्छु त्यही नै नियम हो, म जे गर्छु त्यही नै सबैले मान्नु पर्छ भन्ने मपार्इं र ठालुबाद तथा मठाधीश प्रवृत्ति पनि गुटाधीश प्रवृत्ति जत्तिकै हानिकारक हुन्छ भन्ने कुरा भरखरै सम्पन्न निर्वाचनले पनि देखाइसकेको यथार्थ बिर्सन हुंदैन । यहाँ आएको दुई बर्षमै हाम्रो पनि चुनाव आउँछ भन्ने स्मरण गराउँन चाहन्छु ।

मेरो मनमा एउटा अर्को जटिल प्रश्न के पनि ऊब्जियो भने कहीँ हामीलाई पनि साँच्चिकै नेपाली राजनीतिले छोएको त होइन ? हामी पनि कसैलाई होच्याउनका लागि कसैलाई ऊकास्ने वा त्यस्को उल्टो स्वघोषित ठूला बनाउने वा मान्छे जुधाउने खेलमा वा स्वच्छ प्रतिस्पर्धामा आएकाहरुसँग अथवा थोरै फरक मत राख्नेहरुसँग व्यक्तिगत रिसइवी साँध्ने वा निषेध गर्ने नकारात्मक र खुराफतिहरुले सुझाएको बाटोमा त लागेका त छैनौं ? त्यसैले यो पवित्र संस्थाको उद्देश्यबिपरित जो कसैले पनि यसलाई आफ्नो सर्वसत्ताबाद लाद्ने दुस्प्रयास नगरोस् । आशा छ यस्तो होइन होला, यस्तो हुन दिइने पनि छैन यदि भयो भने यसले ठूलै दुर्घटना निम्त्याउने स्पष्ट छ ।

यद्यपि आवश्यकता अनुसारका समितिहरु बनाउन पाउने कार्यसमितिको अधिकार होला, तर त्यसका लागि पनि समितिको औचित्य पनि त सावित गर्न सकिने समितिहरु मात्र निर्माण गरिनु पर्ने होइन र ? यदि महाधिवेशनले नै यस्तो पदहरुको आवश्यकता ठानेर पदको सिर्जना गरेको भए त्यो अलग कुरा हुन्थ्यो । आशा छ, यसलाई दोहोरी प्रतियोगितामा परिणत गर्नु हुने छैन ।

मलाई दिइएको पद अरु कसैले म पनि हुन पाएको भए हुन्थ्यो भनेको र नपरेकोमा गुनासो गरेको अनुभुति मैले पनि नगरेको होइन, त्यसैले आवश्यक भएको खण्डमा कृपाय असजिलो नमानिकन यो पद जसलाई आवश्यक छ ऊसलाई बिना हिच्किचाहट हस्तान्तपण गर्न हुन समेत बिनम्र अनुरोध गर्दै गैरआवासिय नेपाली संघको गरिमा मर्म र उद्देश्य परिपुर्ति गर्न तथा यसको सुदृढीकरण तथा मजवुतिकरण अभियानमा एक रति पनि पछि नपरी लागिपर्ने प्रतिबद्धता दोहो¥याउँदै औंला बिसाएँ ।

धन्यबाद
जयनेपाल
बिश्व आदर्श पण्डित
शुभचिन्तक तथा
पूर्व सल्लाहाकार, गैरआवासीय नेपाली संघ

प्रतिक्रिया