बिम्ब, प्रस्तुति, कवि, कवित्व र हेमप्रभास

इनेप्लिज २०७४ पुष १३ गते २३:०१ मा प्रकाशित

विकास थापा ,हेरिसवर्ग, अमेरिका,नेपालमा पछिल्लो पुस्ताका चर्चित कवि र युवापुस्ताका प्रतिनिधि कवि भनेर चिनिन्छन् हेमप्रभास । उनलाई कविता लेख्न कसले अभिप्रेरित गर्यो त्यो त म किटानीका साथ भन्न सक्दिनँ तर उनका कविता पढ्दा लाग्छ उनी आफै हिँड्ने गरेको गोरेटो, भीर पहरा, तिनै घुम्तीहरू, तिनै उकाली ओरालीहरूको धुलोमा बसेका विगतका आफ्नै पैतालाका पदचाप, प्रकृति र गाउँलाई हेर्नेउनको पृथक् दृष्टिकोणले नै उनलाई कवि बनाएको हुनुपर्छ । न त उनी प्रसिद्ध कवि मेथ्यु आर्नोल्डबाट प्रभावित बनेका हुन् न त उनकै कविताबाट । मलाई लाग्छ हेमप्रभास गाउँ, प्रकृति, जीवन र प्रेम हेरेर कविता लेख्छन् । उनका कवितामा झुट शब्दहरूको थुप्रो कहिल्यै हुँदैन । हुन सक्छ उनले आफ्नै गाउँ र प्रकृति हेरेर नै बाल्यकालमा सिर्जनाको मोती टिप्न सिकेका हुन् । उनले गाई चराउँदै गणित सिके । खेतबारी सुम्सुमाउँदै विज्ञान पढे । नीलगिरि पहाडमा उकाली ओराली गर्दा प्रेम गर्न र प्रेमको गीत गाउन सिके । उनको प्रकृतिमाथि हेर्ने दृष्टिकोण, बुझाइ, हेराइ र अनुभुति गर्ने कला भिन्न छ र त उनी कवि बने । त्यसैले त उनका कविता सुन्दै गर्दा कहिले रगत तातेर पाउदेखि शिरसम्म पुग्छ त कहिले शरीरमा काँडा उम्रन्छ । अन्याय र शोषणको विरूद्ध जिहाद युद्धनै छेड्ने उनका कविता, कवितामा उनले कसरी सिड्गो गाउँलाई नै टप्पक टिपेर बिम्बात्मक शैलीमा आफ्नो भाव पस्किन्छन् र गाउँको भाव खुलस्त पोख्छन् । त्यो कला र प्रस्तुति शैली उनमा अनौठो र अद्भुत छ । उनका कविताका प्रत्येक बिम्बहरू गायत्री मन्त्रजस्ता छन् । त्यसैले त उच्चारणपश्चात् शरीरमा कम्पन आउँछ । उनी कवितामा कविता नै लेख्छन् कि गाउँ ? शहर लेख्छन् की शहरको जर्जरता ? मनको बह लेख्छन् कि टुक्रिएका मन ? विद्रोह लेख्छन् कि परिवर्तन ? प्रेम लेख्छन् कि प्रेमको सुन्दरता ? वर्तमान लेख्छन् कि भविष्य ? यो सहजै भन्न कसैले सक्दैन ।

गाउँको कुनै कुनातिर बज्न धुन पर्खिरहेको बाँसुरी । नागरिता, राहदानी र लालपुर्जा बोकेर विमानस्थलमा झोक्राइरहेको एउटा युवक । सडक किनारमा पोखिएको त्यो वेदनामिश्रित नुनिलो आँसु । बन्दै भत्कँदै गरेको हाम्रो त्यो विश्वासको घर । प्रेमिका सम्झेर विदेशमा सुस्ताइरहेको प्रेमी । आँखा अगाडि आएर पनि कविता बन्न नसकी सालिक बनेका ती लाखौँलाख दृश्यहरू । संविधानको अनुसूचीमा नलेखिएको उनको कविताको सन्देश । फर्जी वकिलहरू साक्षी बसेपछि हाम्रा सीमा स्तम्भहरूले देशसँग गरेका सम्बन्धबिच्छेद । गीतको लय काटेर किन रोपियो कुन्नि गमलाभरि फूलैफूल ? थाहा छैन ती गमलाहरूमा कसैको नुनिलो आँसु फुल्दछ वा वेदना ! कहिलेसम्म गन्छन् कुन्नि कवि, किसान बाबुले फलाएका ढाकरढाकर आँप र लिची ? कति कपाली तमसुकहरूमा लगाए कुन्नि हजुरबाहरूले जबर्जस्त सही छाप ? कहाँ हरायो कुन्नि त्यो ईश्वर भेटेपछि सोध्ने प्रश्नहरूको लिस्ट ? किन अझै अपुरै छन् कवि किस्नेका सपना ? कति मीठो छ कविले गुराँसका डालीहरूमा खन्याएको गाउँको गीत र हृदय पोखिने गरी डाँडापाखामा गाइने सुरिला भाकाहरू । त्यसमा जोडिएको संगीतको मीठो धुन र मादलुका ती घिन्ताङहरू । कहाँ हराए होलान् बिहानीमा पहिलो अन्तरा बजाउने ती पँधेरीहरू र पँधेरीसँगै ती गाग्रीहरू सुम्समाउने यौवनहरू । गाउँका तिनै चौतारी, उकालीओराली, देउराली, गोरेटाहरू, दुःख, पीडाहरूका साथै अभावहरूमा घोलिएर घोल बनेका बिम्बहरूलाई कसरी समाउँछन् कुन्नि हेमप्रभास ! तिनै बिम्बहरूलाई टप्पक टिपेर सजाइएको छ उनका कविताका प्रत्येक क्यानभासहरू र त अनौठा छन् उनका कविता । उनले कसरी पोते कुन्नि ठाउँको ठाउँ आवश्यकताअनुसार रङगहरू ? अद्भूत छ उनका कविताहरूमा बिम्बहरूको मिश्रण, प्रकृति र प्रेम ।

गाउँमा हृदय लहलहाउँछ । रोएको पहाड, सुतेको बाटो, पटक पटक दुखेको देश, हिँडाइ, बिसौनी, थकाई र चौतारीहरूभित्रबाट ग्रामीण परिवेशका मौलिक बिम्बहरू टिप्न आतुर र चतुर छन् हेमप्रभास । नीलो नदीको छालमा सूर्यले नुहाइरहेको हेरेर कविता कोर्न सजिलो त कहाँ छ र तैपनि कविहरू कविताकै संसारमा हाँस्छन्, त्यसैमा बाँच्छन्, त्यसैसँग नाच्छन् र त्यसैमा रमाउँछन् पनि । यो पागलपनाको नशामा चुर्लुम्म डुब्दा हरेक कविहरूका कति रातहरू कवितासँग युद्ध गर्दैमा थकित भएर बित्छन् होला ? म आफैँ कवि भएको नाताले अनुमान मात्र गर्न सक्छु । हेमप्रभास जब उनी उनको कविताको गाण्डिव धनुषमा बिम्बको तीर चढाएर शीर्षकलाई तारो हान्छन् तब मात्र जन्मने हुन् उनका शक्तिशाली र युग परिवर्तन गर्ने कविता । भावनाको क्षितिजमा उडेका कयौँ कल्पना, वेदना, आँसु, देश, समाज र प्रकृतिलाई पुनः यथार्थको मझेरीमा पछारेर कविताको बिम्ब समातेर राम्रो कविता लेख्न सजिलो छैन । कविता लेख्न सजिलो छ तर राम्रो कविता लेख्न निक्कै गाह्रो छ भन्नुहुने हेमप्रभास उपन्यासको पात्रझँै सहजै कल्पनाको आकाशमा उडान भरेजस्तो सहज छैन राम्रो कविता लेख्न । कविताको स्थान साहित्यको अरू सबै विधाभन्दा उच्च र सम्मानित छ । एउटा सफल कविले जुन ढङ्गले साहित्यका अरू विधामा एक पारङ्गत शिल्पीले कलम चलाउन सक्छ अरूले सक्दैनन् । हँसिलो चुट्किला सुनेपछि हाँसो थिच्न कति गाह्रो हुन्छ उस्तै त हो नि एक कविलाई कविता थिच्न पनि । बिलौनाहरूले गाँजेका छरपष्ट रातहरू काट्न सबैले बिहानको प्रतीक्षा गर्छन् । दिनभरिको थकाइ बिर्सन मानिसहरू रङ्गीन साँझको कल्पना गर्छन् । के यी सबै कविता हुन् त ?

कविता हृदयविलास मात्र पनि होइन न त यो मतिष्कविलास मात्र हो । कविताका पुराना तर्कहरू खालि तर्कका लागि गरिने तर्क मात्र हुन् । समय बलवान् छ र परिवर्तनशील पनि । कति प्रकम्पित हुन्छ कविताको शक्ति । कतिपय कवितामाथि गरिएका बहसहरू नै मिथ्या र अनर्थ छन् । कविताका स्वरुप, कथ्य, तथ्य, भावनाको गहिराइको मापन विधि त संसारमा कहीँ कसैसँग छैन तर त्यसले हृदय, मन, मतिष्कमा पार्ने प्रभाव भने सहजै अनुमान र अनुभूति गर्न सकिन्छ । वेदना लेख्नु मात्र पनि कवि र कवित्वको काम होइन । कवितामाथिका कतिपय प्राज्ञिक बहस पनि मिथ्या छन् । जसले जसरी आफ्नै विचारमा मात्र सीमित भएर बुझ्न र परिभाषित गर्न खोज्छ त्यो उसको विचार र तर्कको सीमितता मात्र हो । मलाई लाग्छ कविता अपरिभाषित छ । कविताको शास्त्रीयता, यसको सौन्दर्यशास्त्र, व्यज्जनात्मक शैली, प्राज्ञिक बहस यी सबै निश्चित समय सीमा र परिधिभित्र मात्र सीमित हुन्छन् । कविताको आफ्नो सीमान्त उचाइ कति ? यो त कसैले निर्धारण गर्न सक्दैन । हो, त्यसैले साहित्यका अरू विधाभन्दा कविता विधा सधँै उच्च छ भन्छन् हेमप्रभास । कविताले सम्बोधन गर्ने मानवीय यथार्थ, आम मानिसको महाआख्यान, भावलहर, बतासको चुम्बनले हल्लिरहने रुखका पात, बगैँचाभरि शीत बनेर मुस्कुराउने त्यो जुनेली रात जसले गर्ने हृदय स्पर्श र मतिष्क स्पर्श नै एक अर्थले कविता जन्मने स्रोत हुन् ।

कविताभित्र सिड्गो आख्यान छ, नाटक छ, निबन्ध, उपन्यास छ । कविता शब्दमा परिणत हुनुभन्दा अघि कविको हृदयमा र मतिष्कमा कयौँ पटक बास बस्छ । बहस गर्छन् । मन मस्तिष्क आन्दोलित हुन्छन् । शब्दहरू तर्क गर्छन् । कविताले त कविलाई सास्ती पनि दिइरहेको हुन्छ । शब्दमा आउनुअघि एक कविको मतिष्कमा छटपटाइरहेको कविता र आमाको गर्भमा छटपटाइरहेको बालक उस्ताउस्तै हुन् । एक कवि हुनुको नाताले मलाई त कहिलेकाहीँ लाग्छ लेखिएका भन्दा नलेखिएका र लेखिन बाँकी कविता अझै धेरै सुन्दर हुन्छन् । यो कविताको सबैभन्दा सुन्दरतम र अनौठो पक्ष हो । मतिष्कमा घुमिरहेका कयौँ शक्तिशाली कविताहरू शब्दमा लेखिएपछि त्यसको औचित्य समाप्त भएझँै लाग्छ । तसर्थ, एक कविको हृदयले छोएजति, मस्तिष्कले सोचेजति सबै कविता लेखिनुपर्छ र शब्दमा अनुवादित हुनुपर्छ भन्ने पनि छैन । कति कविता नलेखिएरै पनि उच्च छन् । कविको मतिष्कमा सधैँ तरङ्गित बनेर । यो संसारमा सबै मानिस कुनै न कुनै रुपले कवि हो र सबैको हृदयमा कवित्वको भाव बसेको हुन्छ । फरक यत्ति हो कविले कवितालाई शब्दमा उतार्ने प्रयास मात्र गर्छ । कविताको सड्क्रमण ज्यादै खतरनाक हुन्छ । लेखिनुभन्दा पहिले कविता धेरै सुन्दर हुन्छन् र त निराकार सत्य पनि मानिन्छन् । त्यसैले त वर्डस्वर्थ, सेली, वाइरन, कलरिज, कालिदास, तुलसीदास, लेखनाथ, देवकोटा, भूपी कविताकै बिम्बहरूको वरिपरि हिँडेर आफ्नो जीवन कविताभित्रै समर्पित गरे । माधव घिमिरेले नेपाली कवितालाई डाँडाकाँडा र पाखैभरि फुलाए । रिमाल र भूपीले गाउँ र सहरका प्रत्येक चोकचोकसम्म पुर्याए । मोहन कोइराला र बैरागी काइँलाहरूले थोरै लेखेर पनि विश्वविद्यालयकै मस्तिष्क हल्लाउन सफल भए । तुलसी दिवस, रमेश क्षितिज, नवराज लम्साल र मनु मन्जिलहरूले नयाँ आयाम र उचाइ दिन सफल भए भने अहिलेको युवा पुस्ता हेमप्रभासहरू कवितामा नयाँ रङ र नयाँ बहस थप्न खोज्दै छन् । यो नेपाली कविताको इतिहासको लागि सुन्दरभन्दा पनि सुन्दर पक्ष हो ।

कविता के हो ? त्यो त म सहजै भन्न सक्दिनँ तर मलाई लाग्छ यो शुन्यता हो । त्यो पनि होइन । अझ यसलाई अर्को अर्थमा भन्दा यो एउटा अर्ध पागलहरूको डायरी पनि त हो । जब शब्दहरूले एउटा कविको कवित्वलाई हिर्काउन थाल्छन्, तरड्गहरू मस्तिष्कभरि तँछाडमछाड गर्छन् अनि मात्र लेखिन्छन् राम्रा कविता । हेमप्रभासजस्ता कविहरू संसारमा बिरलै जन्मन्छन् र यस्ता कविहरू नयाँ युगका नयाँ प्रतिनिधि पात्र पनि हुन् । राम्रा कविहरूले सधैँ युग परिवर्तन गर्ने सामाथ्र्य राख्छन् र त सधैँ औँलामा गनिने सौभाग्य पाउँछन् । कविता लेख्नु मात्र ठूलो कुरा होइन कविताले समाज र विश्वलाई के सन्देश दियो ? प्रचलित कविताको धारलाई नै कविले कसरी बदल्यो त्यो महत्त्वपूर्ण कुरा हो । जसरी देवकोटाले बदले । इतिहासले धान्नै नसक्ने, मानवको साधारण मस्तिष्क उसको चेतना र सम्झनामा अट्नै नसक्ने कविता त उनले लेख्दैनन् तर उनका कवितामा जुन ढङ्गले बिम्बहरू पोखिन्छन्, प्रस्तुत हुन्छन् त्यो भने असाधारण छ । उनका कविताले बारम्बार अँध्यारो आत्मविश्वासलाई सत्य मान्न बानी परेका मानिसहरूलाई क्षणभरमा घोत्लिएर पटकपटक सोच्न बाध्य बनाउँछ र नयाँ उज्यालो बाटोतिर हिँड्न सधैँ प्रेरित गर्छ । उनका कविताका तीव्रानुभूतिले पाठक यतिसम्म उत्साहित हुन्छन् कि पहाड बोकेर पहाडै चढ्दै गरेजस्तो अनुभूति हुन्छ । आफ्नो छुट्टै र अलग पहिचान बनाउन सफल कवि हेमप्रभासका “पहाड बोकेर पहाडतिर“,“सहर पसेको मान्छे“ र “गीतैगीतको गाउँ“ गरी तीनवटा कविता संग्रहहरू यसअघि नै बजारमा आइसकेका छन् । आख्यानको क्षेत्रमा उल्झन जस्तो चर्चित उपन्यास लेखेको एउटा कविको कलम समालोचना र समीक्षामा पनि उतिकै सिद्धहस्त मानिन्छन् । मानिसको संवेदना, भावनामाथि करुणामयी बिम्बहरू भरेर देश, समाज र हाम्रो परिवेस, दुःख, प्रेमलाई सबभन्दा नजिकबाट स्पर्श गर्ने कवि भए सबैका प्रिय कवि बने ।

विकास थापा 

प्रतिक्रिया