सोमबार, साउन १८ २०७८
काठमाडौं १२:१२
वासिङटन डिसी 02:27

ला लिगामा यो सिजनको पहिलो एल क्लासिको भीडन्त आज साँझ

इनेप्लिज २०७४ पुष ८ गते १२:२२ मा प्रकाशित

८ पुस, काठमाण्डौ । ला लिगामा यो सिजनको पहिलो एल क्लासिको शनिबार बेलुका रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा हुँदैछ । यो सिजन लिगमा एल क्लासिकोका लागि अघिल्ला सिजन भन्दा बढी पर्खिनु परेका कारण यसको रंग झन गाढा भएको छ ।

गएको सिजन निकै उत्कृष्ट प्रदर्शन गर्दै स्पेनिस तथा युरोपियन च्याम्पियन बनेको रियल मड्रिडका लागि यो सिजन आफूलाई उपाधि होडमा टिकाइ राख्नका लागि शनिबार हुने पहिलो एल क्लासिको महत्वपूर्ण छ । यस्तै लिगको उपाधि यात्रालाई थप बलियो आकार दिन बार्सिलोनाका लागि पनि यो खेल उत्तिकै महत्वपूर्ण छ । लिगमा १६ खेल सकिँदा १३ मा जित र तीनमा बराबरी गरेको बार्सिलोना अहिले ४२ अंकसहित शीर्ष स्थानमा छ । तर साबिक विजेता रियल मड्रिडको अवस्था भने अप्ठ्यारोमा छ । शनिबारको एल क्लासिकोसहित लिगमा २२ खेल बाँकी हुँदा रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ११ अंकले पछि र चौथो स्थानमा छ ।

अहिलेसम्म दुई सय ३६ पटक एल क्लासिको खेल भएको छ । यसमा रियल मड्रिड केही अघि रहेको छ । रियल मड्रिडले ९५ खेलमा जितेको छ भने बार्सिलोना तीन कम ९२ खेलमा विजयी भएको छ । ४९ एल क्लासिको बराबरीमा सकिएका छन् । शनिबार राति हुने खेल दुई सय ३७ औँ एल क्लासिको हो ।

एल क्लासिकोमा रोनाल्डो र मेस्सी

एल क्लासिकोमा यि दुई खेलाडीको कुरा गर्दा खेल, जित र गोल तीनै पक्षमा मेस्सी अघि छन् । एल क्लासिकोमा अहिलेसम्म २४ गोल गरेका मेस्सी एल क्लासिकोको इतिहासका सर्वाधिक गोलकर्ता हुन् । खेल जीवनको सुरुवात नै बार्सिलोनाबाट गरेका मेस्सीले अहिलेसम्म ३८ एल क्लासिको खेलेकोमा १६ खेल जितेका छन् । ८ खेलमा बराबरी भएको छ भने मेस्सीको उपस्थितिमा पनि १२ खेलमा भने बार्सिलोना रियल मड्रिडसँग पराजित भएको छ । ३६ खेलमा २४ गोल गरेका मेस्सीले अहिलेसम्म एकसय २५ पटक पोस्ट प्रहार गरेका छन् ।

रोनाल्डो जो सन् २००९ मा रियल आएका हुन् उनले अहिलेसम्म २८ एल क्लासिको खेलेका छन् । तर रोनाल्डोको खातामा जित भन्दा हार धेरै छ । १३ खेलमा रोनाल्डो भएर पनि रियल मड्रिड बार्सिलोनासँग पराजित भएको छ । ८ खेलमा रोनाल्डोले जितको स्वाद चाखेका छन् भने ६ खेल बराबरी भएको छ । रोनाल्डोले २८ एल क्लासिकोमा १७ गोल गरेका छन् । उनले यस क्रममा एक सय १७ पटक पोस्ट प्रहार गरेका छन् ।

गोलका लागि सहयोग र गोलको मौका सिर्जनाको कुरा गर्दा पनि मेस्सी नै अघि छन् । ३६ खेलमा मेस्सीले १३ गोलका लागि सहयोग गरेका छन् भने ६५ वटा सुन्दर मौका सिर्जना गरेका छन् । रोनाल्डोले २८ खेलमा मात्रै एकपटक गोलका लागि सहयोग गरेका छन् । उनले १४ पटक गोलको राम्रो मौका बनाएका छन् । समग्रा आँकडा हेर्दा रोनाल्डो भन्दा मेस्सी अगाडि छन् ।

पछिल्लोपटक (मैत्रिपूर्ण बाहेक) गएको अगस्टमा एल क्लासिको भएको थियो । सान्टियागोमा भएको स्पेनिस सुपर कप अन्तर्गतको खेलमा रियल मड्रिडसँग बार्सिलोना समग्रमा ५–१ (पहिलो लेगमा ३–१ तथा दोस्रो लेगमा २–०) ले पराजित भएको थियो ।

शनिबारको खेल बार्सिलोनालाई गएको अगस्टमा बेहोरेको हारको बदला लिने तथा रियल मड्रिडलाई एल क्लासिकोमा जितको क्रम जारी राख्ने मौका हो । शिनबारको एल क्लासिको जितेमा रियल मड्रिडले सन् १९७८ पछि अर्थात ३९ वर्षपछि बार्सिलोनालाई लगातार तेस्रोपटक हराउने छ ।

प्रतिक्रिया