एउटै उखुको अनेक मूल्य भएपछि ठगीमा परेका छन् रौतहटका उखु किसान सञ्जय मित्र, रौतहट

इनेप्लिज २०७४ पुष ५ गते २३:४६ मा प्रकाशित

उखुको मूल्यमा समानता नभएपछि रौतहटका उखु किसान ठगीमा परेको देखिएको छ । गत आर्थिक वर्षमा उखु उत्पादक संघ, चिनी उत्पादक संघ र सरकारको समन्वयमा उखुको मूल्य प्रति क्वीन्टल पाँच सय तीस रुपैया बीस पैसा निर्धारण गरिएकोमा आम निर्वाचन सम्पन्न भएको र नयाँ सरकार गठन भइनसकेकोले गत वर्षकै मूल्यमा देश भरका चिनी उद्योगले उखु किन्ने सहमति भएको भए पनि बारा जिल्लाको मामकौरमा रहेको रिलायन्स सुगर मिल्सले प्रति क्वीन्टल पचास रुपैया घटीमा उखु किनिरहेको पाइएको छ ।

रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरमा उखु किन्ने काँटा स्थापना गरेर उद्योगले प्रति क्वीन्टल चार सय असी रुपैयामा उखु किनिरहेका छन् । काँटामा उखु लैजाने किसानको उखु तौल गरेपछि तत्कालै हातैमा चार सय असी रुपैयाको दरले नगद दिइरहेको रिलायन्सले किसानलाई ठगी गरेको आरोप स्थानीयले लगाएका छन् ।

यसै गरी सुन्दरपुरमै एक दर्जनभन्दा बढी खाँडसारी संचालनमा रहेको छ । गत असोज महिनादेखि नै संचालनमा रहेका खाँडसारी उद्योगहरुले प्रति क्वीन्टल चार सय साठी रुपैया मात्र तिरेर किसानको उखु खरिद गरिरहेका छन् । अहिलेसम्म घटीमा पचास हजार क्वीन्टल उखु खाँडसारी उद्योगले क्रसिङ गरिसकेका छन् । प्रति क्वीन्टल साढे तीन सय रुपैयादेखि उखु किन्न सुरु गरेको खाँडसारी उद्योगहरुले चिनी उद्योग संचालनमा आउने भएपछि मूल्यमा विस्तारै वृद्धि गर्न थालेका छन् ।

जिल्लामा बीस लाख क्वीन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष नगद नै हात पारेपछि जिल्लाका किसानले उखु खेतीमा वृद्धि गरेका छन् । जिल्लाबाहिरका उद्योगले नगद दिन थालेपछि किसानलाई पनि राम्रै फाइदा हुने देखिएको छ । प्रति कट्ठा चार हजार रुपैयासम्म उखु उत्पादनमा किसानको खर्च पर्न आउँछ तर उखुबाली राम्रोसँग फस्टाउँदा दश हजार रुपैयासम्म आम्दानी हुने गरेको किसानहरुको भनाइ छ । तर समयमा उद्योगहरुले किसानलाई रकम नदिँदा किसान चारैतिरबाट मारमा पर्ने गरेका छन् । उखुको मूल्य फरक पर्न जाँदा किसानहरु बढी मर्कामा परेको किसानहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया