समय : सन्दर्भ “आत्महत्या_रोकथाम”

इनेप्लिज २०७४ पुष ३ गते २२:०४ मा प्रकाशित

श्रीजन ताम्राकार, बाल्टिमोर ,बाल्टिमोर, मेरिल्याण्ड डिसेम्बर १७, आइतबार, गत महिना दिन अघि मात्रै एक नेपाली युवा र २ नेपालीभाषी भुटानी नेपाली दाजुभाइ, दिदिबहिनीहरुले आत्महत्या गरि आफ्नो ज्यान लिएको दु:खद खबर हामी सबैलाई थाहै छ। अत्यन्तै दु:खद यस्ता दुर्घटनाहरुले हाम्रो नेपाली समुदाय र परिवारजनहरुलाई दिनप्रतिदिन त्रसित बनाउँदै बनाएको छ।

के यसको रोकथाम सम्भव छ ? ..हो, अवश्य सम्भव छ। समय मै ध्यानदिन सके र रोकथामका कदमहरु पहल गर्ने सके यस्ता बिकृतिहरुलाई न्यूनीकरण गर्न सकिने रहेछ।

मानसिक तनाव, विभिन्न पारिवारिक तथा सामाजिक परिस्थिति, जटिल रोग, असफलता र अज्ञानताका कारण अनाहकमा आफ्नै ज्यान लिने आत्महत्या आफैमा रोग नभई एक डरलाग्दो समस्या मात्रै रहेछ। समय मै सम्बोधन गर्न सके र यसका केहि लक्षणहरु देख्ने बित्तिकै उनीहरुलाई सहि मार्गदर्शन, सुझाव र उपचार सहयोग उपलब्ध गराउन सके यस्ता दुर्घटना रोक्न सकिने बिज्ञहरु बताउछन् । तसर्थ मात्र पद, ताली, खादा, भाषण, राजनीतिक खिचातानीहरुमा मात्र नअल्झिएर, हाम्रा स्थानीय संघसंस्था, नेतृत्व बर्ग, सामाजिक अभियन्ताहरुले यस्ता गम्भीर बिषयहरुमा विभिन्न प्रभावकारी कार्यक्रमहरुमा लाग्नु पर्ने टडकारो आवश्यकता हाम्रो समुदायले गरिसकेको छ।

यसै सम्बन्धमा बाल्टिमोरमा आज यसै बिषयलाई लिएर “एभरेस्ट वर्ड्क्लास् तेक्वान्दो डो” को प्रांगणमा अत्यन्तै सामुदायिक महत्त्वको बिषय “आत्महत्या रोकथाम” सम्बन्धि एक विशेष तालिम तथा कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

“आत्महत्या रोकथाम” नामक कार्यक्रममा संचालक डा. श्याम कार्की, तरुण पौडेल, संगम आचार्य लगायतले आत्महत्या र यसले समाज अनि परिवारमा पारेको प्रभाव, र रोकथामका विभिन्न उपायहरुका बारेमा आफ्ना धारणाहरु ब्यक्त गर्नुभएको थियो। हवार्ड युनिभर्सिटीका एसोसिएसट्स क्लिनिकल बिधाबारिधी प्रोफेसर डा. श्याम कार्कीले, “समय मै ध्यान दिन सके उपचार सम्भव हुने भएता पनि जनचेतना र तालिमहरुको कमिले “आत्महत्या” ले आज झन झन विकराल रुप लिँदै गएको बारे उपस्थितहरुलाई अवगत गराउँदै अमेरिकामा मानिसहरुको मृत्यु हुने विभिन्न कारणहरु मध्ये “आत्महत्या” १० औं मुख्य कारण रहेको र यसले सबै लिंग र उमेर समुहलाई प्रभाव पार्ने र अकाल मै मानिसहरुको ज्यानलिने भएको हुँदा समय मै यस्ता संबेदनसिल बिषयहरुमा सक्दो जनचेतना बढाउनु पर्नेमा जोड दिनुभयो।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका सम्माननिय मेरिल्याण्ड हाउस डेलिगेटस् कृश्चियन मेह्लीले आत्महत्या र रोकथाम जस्तो गम्भीर अनि महत्त्वपूर्ण बिषयमा भएको यस्ता कार्यक्रम, गोष्ठी तालिमहरुले जनमानसमा सचेतना बढाउने र रोकथाममा अत्यन्तै महत्त्वपूर्ण भुमिका निभाउने भएको हुँदा आफु र आफ्नो संस्थाको तर्फबाट सक्दो सहकार्य गरिने र आफ्ना साथीभाइ तथा समुदायलाई पनि यस्ता महत्त्वपूर्ण बिषयमा सहकार्य गर्न आफुले झक्झक्याउने बताउनु भयो। शिक्षक, समुदायका नेतृत्ववर्ग, संघसंस्थाका प्रतिनिधिहरुले यस्ता विशेष तालिमहरुमा सहभागि जनाउनु पर्ने र यसले समुदायलाई यस्ता दुर्घटनाहरुबाट रोकथाम गर्नेमा जोड दिनुभयो।

बिद्यार्थी, स्थानीय संघसंस्थाहरु, सम्बन्धित निकायहरु, , तालिम प्राप्त स्वास्थकर्मी, स्वयंसेवकहरु लगायत सम्बन्धि सरोकारवाला जनसमुदाय र परिवारहरु बिच सहकार्य गर्दै भबिस्यमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लगिने जानकारी गराउँदै यस कार्यक्रमलाई सफल गराउन स्थान उपलब्ध गराएर सहयोग गर्नुहुने “एभरेस्ट वर्ड्क्लास् तेक्वान्दो डो” का संचालक कुमार कार्की र प्रोजेक्टर तथा कार्यक्रममा आवश्यक उपकरणहरु उपलब्ध गराए बापत वर्ल्ड फाइनान्सियल ग्रुप बाल्टिमोरका नरेश के.सी.लाई धन्यवाद दिनु भएको थियो।

विभिन्न क्षेत्र, वर्गको प्रतिनिधित्व गर्दै कार्यक्रममा उपस्थित हुनु भएका करिव २० जना जति सहभागीहरुलाई विशेष धन्यवाद दिँदै कार्यक्रम संचालक तरुण पौडेलले आगामी दिनमा छिट्टै यस बिषयमा हेल्प लाइन र अन्य समयानुकूल कार्यक्रम र गोष्ठीहरुको आयोजना गरिँदै लगिने बताउनु भयो।

“आत्महत्या र रोकथाम” सम्बन्धि अत्यन्तै महत्त्वपूर्ण जनसरोकारका बिषय आयोजना गरिएको यस कार्यक्रमका आयोजक, उपस्थितअतिथिजन तथा सहभागी सवैलाई हामी सम्पुर्ण मेरिल्याण्डका हामी नेपाली परिवारजनहरुको तर्फबाट हार्दिक आभार ब्यक्त गर्दछौं ।

श्रीजन ताम्राकार, बाल्टिमोर
©मेरिल्याण्डका हामी नेपाली” “Maryland Ka Hami Nepali”, 2017

प्रतिक्रिया