विद्यार्थीलाई निशुल्क न्यानो कपडा वितरण

इनेप्लिज २०७४ मंसिर २७ गते ०:२३ मा प्रकाशित

शिशिर सिंखडा
खोलेसिमल, चितवन ।

इच्छाकामना गाउँपालिका वडा नं. ७ मा रहेको विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा निशुल्क वितरण गरिएको छ । सेवा अहिले नेपाल काठमाडौंले देउराली आधारभूत विद्यालय सुन्दरवस्तीका १ सय ८० जना विद्यार्थीलाई र चण्डेश्वरी आधारभूत विद्यालय स्याङ्दीका १ सय १७ जना विद्यार्थीहरुलाई सो कपडा वितरण गरिएको हो ।

विद्यार्थीहरुलाई सुरुवाल, ज्याकेट, टोपी वितरण गरिएको थियो । संस्थाका निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सोही वडाका वडा सदस्य गनिराम चेपाङले विद्यार्थीहरुलाई सो कपडा हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि चेपाङ, देउराली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोध बहादुर गोले, चण्डेश्वरी विद्यालयका शिक्षक विक्रम मगर, संस्थाका निर्देशक अर्जुन ढकाल, संस्थाका को–अर्डिनेटर जगदिश पोखरेल, सदस्य शोभा ढकाल, संस्थाका चितवन को–अर्डिनेटर ईश्वर कुमार श्रेष्ठ लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी जेन्टल हर्ट फाउण्डेशनको सहयोगमा राष्ट्रिय माध्यमिक विद्यालय सिद्धिका ३० जना विद्यार्थी र पृथ्वी माध्यमिक विद्यालयका ४८ जना विद्यार्थीलाई खाजाका सामाग्रीहरु वितरण गरिएको थियो । त्यस्तै नवलपरासीको पिठौलीका ८० जना विद्यार्थीहरुलाई पनि खाजाका सामाग्रीहरु चिउरा, दालमोठ, सरसफाईको लागि साबुन, ब्रस, मञ्जन पनि वितरण गरिएको संस्थाका निर्देशक ढकालले जानकारी दिए ।

प्रतिक्रिया