दाङमा आठ स्थानमा वाम गठबन्धन र एक स्थानमा काँग्रेसको जीत

इनेप्लिज २०७४ मंसिर २५ गते ५:१६ मा प्रकाशित

दाङ, २४ मंसिर  ः यहाँको सबै मतपरिणाम सार्वजनिक भएको छ । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षको परिणाम आज बिहान सार्वजनिक भएको हो ।

दाङमा तीनवटै प्रतिनिधिसभा सदस्य वाम गठबन्धनले जितेको छ भने प्रदेशसभाको पाँचवटा वाम गठबन्धन र एउटा काँग्रेसले जितेको छ ।
क्षेत्र नं १ मा वाम गठबन्धनबाट (एमाले)का उम्मेदवार मेटमणि चौधरी निर्वाचित हुनुभएको छ । पहिलो पटक आम चुनाव लडेका मेटमणिले पूर्वसांसद एवम् नेकाकी उम्मेदवार सुशीला चौधरीलाई १३ हजार ८३४ मतान्तरले हराउनुभएको छ । काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको घर भएको दाङ क्षेत्र नं १ मा जीत निकाल्ने क्रममा मेटमणिले ३७ हजार ९०८ मत प्राप्त गर्नुभएको थियो । उहाँको निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार सुशीला चौधरीले २४ हजार ७४ मत पाउनुभएको थियो ।

यसैगरी दाङ क्षेत्र नं २ मा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा भारी मत अन्तरले विजयी हुनुभएको छ । महराले काँग्रेसका पूर्वसांसद राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराउनुभएको छ । महराले ४० हजार ४२ मत पाए भने खनालले २५ हजार ८९७ मत प्राप्त गर्नुभएको थियो । महरा पहिलो संविधानसभा निर्वाचन २०६४ मा दाङ क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो । दाङ क्षेत्र नं ३ मा पनि वाम गठबन्धनका उम्मेदवार हिराचन्द्र केसी निर्वाचित हुनुभएको छ । एमाले दाङ जिल्ला सचिवसमेत रहनुभएका युवानेता केसीले काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वसिँचाइमन्त्री दीपक गिरीलाई पराजित गर्नुभएको छ ।

केसीले ४० हजार २८७ मत पाए भने गिरीले ३३ हजार ७३० मत पाउनुभएको थियो । गिरी २०६४ सालको संविधानसभा निर्वाचनमा पराजीत हुनुभएको थियो भने २०७० सालको निर्वाचनमा भारी मतले विजय हुनुभएको थियो । दाङ क्षेत्र नं १ मा प्रदेशसभातर्फ पनि वाम गठबन्धनका दुवै उम्मेदवार निर्वाचित हुनुभएको छ ।

क्षेत्र नं १ ‘क’मा पूर्वसभासद एवम् माओवादी केन्द्रका उम्मेदवार इन्द्रजित चौधरी विजयी हुनुभएको छ । उहाँले नेकाका प्रदीप थापालाई पाँच हजार ८९३ मतान्तरले हराएउनुभएको छ । इन्द्रजितले १७ हजार २८५ र प्रदीप थापाले ११ हजार ३९२ मत पाउनुभएको थियो । इन्द्रजितले पहिलो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नं १ मा काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कालाई पराजित गर्नुभएको थियो ।

क्षेत्र नं १ ‘ख’मा पनि वाम गठबन्धनबाट (एमाले)का रेवतीरमण शर्मा निर्वाचित हुनुभएको छ । संविधानसभाका दुवै निर्वाचनमा हार व्यहोरेका शर्माले तेस्रो लडाइँ जिते र प्रदेशसभा सदस्य बन्नुभएको हो । उहाँले काँग्रेसका जानकीलाल बस्नेतलाई ६ हजार ६०१ मतअन्तरले हराउनुभयो । शर्माले १९ हजार ३५४ र बस्नेतले १२ हजार ७५३ मत प्राप्त गर्नुभएको थियो । प्रदेशसभातर्फ क्षेत्र नं २ एमाले नेता शंकर पोखरेल विजयी हुनुभएको छ । उहाँले काँग्रेसका कमलकिशोर घिमिरेलाई नौ हजार ५५१ मतान्तरले पराजित गर्नुभएको छ । पोखरेल २० हजार ७२३ मत पाएर निर्वाचित हुँदा घिमिरे ११ हजार १७२ मत पाउनुभएको थियो ।

पोखरेललाई दोस्रो संविधानसभा निर्वाचनमा काँग्रेस उम्मेदवार बुद्धिराम भण्डारीसँग पराजित हुनुभएको थियो । प्रदेशसभा तर्फकै क्षेत्र नं २ ‘ख’मा एमालेका अमरबहादुर डाँगी विजयी हुनुभएको छ । डाँगी २१ हजार ४५० मतसहित प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो भने निकटतम प्रतिस्पर्धी नेकाका भरतबहादुर न्यौपानेले १३ हजार १९० मत पाउनुभएको थियो ।

प्रदेशसभातर्फ क्षेत्र नं ३ ‘क’मा काँग्रेसका डिल्लीबहादुर चौधरीले पार्टीको साख जोगाउन सफल हुनुभएको छ । दाङमा काँग्रेसको गड भएको बेला दाङमा वाम गठबन्धनले वर्चस्व जमाइरहेका बेला चौधरीले माओवादी उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’लाई दुई हजार ३३६ मतअन्तरले हराउन सफल हुनुभएको छ । श्रम तथा रोजगार राज्यमन्त्रीसमेत रहनुभएका चौधरी १७ हजार ३६ मतसहित निर्वाचित हुनुभएको छ । शमाले १४ हजार ७०० प्राप्त गर्नुभएको थियो ।

प्रदेशसभातर्फ क्षेत्र नं ३ ‘ख’मा भने वाम गठबन्धनबाट एमाले उम्मेदवार उत्तरकुमार ओली निर्वाचित हुनुभएको छ । ओलीले काँग्रेसका पूर्वसांसद बुद्धिराम भण्डारीलाई ६ हजार ४३५ मतान्तरले हराउनुभएको हो । ओलीको पक्षमा २३ हजार ९७० मत परेको छ भने भण्डारीले १७ हजार ५३५ मत पाउनुभएको छ । दोस्रो संविधानसभा निर्वाचनमा भण्डारीले एमाले नेता शंकर पोखरेललाई हराउनुभएको थियो ।

प्रतिक्रिया