बिहीबार, भदौ ३१ २०७८
काठमाडौं २१:४१
वासिङटन डिसी 11:56

गर्ग ऋषि नेपाली भएको योगी नरहरिको मान्यता

इनेप्लिज २०७४ मंसिर २४ गते १९:१० मा प्रकाशित

 


विष्णु अवतार श्रीकृष्णका कुलगुरु गर्ग ऋषिलाई वैदिक साहित्यका सामान्य पाठकहरूले पनि सहजै चिन्दछन । गर्ग ऋषिका पिता भारद्वाज ब्राह्मण थिए भने माता सुशीला क्षेत्रीय कुलकी कन्या थिइन । गर्ग ऋषिसँग विख्यात गर्ग संहिता भन्ने पुस्तक मात्र होइन विश्वकै खगोल विज्ञानका क्षेत्रमा प्रारम्भिक चरणका सम्पूर्ण बैज्ञानिक खोजहरू जोडिएका छन । कसै कसैले खगोल विज्ञानका ज्ञाता गर्ग गोत्रका प्रवर्तक गर्ग ऋषि नभएर वृद्ध गर्ग हुन भनी हिन्दूमात्र होइन यवनहरू द्वारा विकसित सम्पूर्ण गणित शास्त्र एवम् खगोल विज्ञानका आदि गुरु यिनैलाई मानेको पाइन्छ ।

कतिपय पश्चिमा तथा हिन्दुस्तानी लेखकहरूले अनेक थरी रचनाहरूमा गर्ग ऋषिलाई दक्षिणको नर्मदा नदी क्षेत्रको बासिन्दा भएको उल्लेख गरेपनि राष्ट्रगुरु योगी नरहरिनाथले भने ब्रह्मा, विष्णु, महेश्वर, नवनाथ, चौराशी सिद्ध, चालिस बुद्ध र अठासी हजार ऋषिमुनि मात्र होइन तेत्तीस कोटी देवीदेवता सबै नेपालमा रहेको हिमालय खण्डमा जन्मेको भनी अनेक थरी पुस्तकहरूमा उल्लेख गरेका छन । उनले आफ्नो अति विख्यात पुस्तक देवभूमि भारत एवंम् आध्यात्मिक नेपालको पहिलो भाग (२०३८) को पाना ९९ मा भारद्वाज ऋषिको आश्रम कालिकोटको भर्ता भन्ने ठाउँमा भएको र अहिले त्यसलाई भारदह भनिने गरेको उल्लेख गरेका छन । यस्तै २०४८ सालमा योगी नरहरिनाथले कर्णालीका कालिकोट र जुम्ला जिल्लाको यात्रा गरे । उनका साथ योगी बलभद्रनाथ र पत्रकार डिल्ली प्रसाद आचार्य पनि थिए । आचार्य लामो समयदेखि खोजी पत्रकारितामा सम्लग्न व्यक्ति हुन । त्यसैले योगीले हुम्लाको बिहींमा बृहस्पतिको आश्रम रहेको, छोरा भारद्वाजको आश्रम कालिकोटको भर्तामा रहेको र नाति गर्ग ऋषि भने जुम्लाको गर्जाङकोटमा जन्मेको बताएर गर्ग गोत्री बाग्लुङका पत्रकार डिल्ली प्रसादलाई गज्र्याङकोट भन्ने स्थानमा नै पु¥याउने काम गरेका थिए । पछि श्री आचार्यले गरेको अनुसन्धानयुक्त लेखको सम्पादन गर्ने कामको अवसर मैले पाएको थिएँ । यसै आधारमा गर्ग गोत्री आचार्यहरूको वंशावली सम्बन्धि पुस्तकमा पनि गज्र्याङकोट र त्यहाँको ऐतिहासिक भग्नावशेषको चित्र पनि प्रकाशित भएको थियो । जुम्ला साम्राज्यभित्रै सबै थर र गोत्रहरूको इतिहासको प्रारम्भ भएको दावी समेत योगीले ठाउँ ठाउँमा गरेको पाइन्छ र उनले भने जस्तै सबैकुरा ठ्याक्कै मिल्छ पनि । योगीले संस्कृत नेपाली र हिन्दीमा लेखेका सबै कृतिहरू छापिएको भए हाम्रो सबै जनजनको इतिहास खोज्न कुनै समस्या हुने थिएन । नेपाल राष्ट्रका सबै जनसमुदायको इतिहास खोज्ने उनको लक्ष्यले गर्दा नेपालको सभ्यता र यसको स्वाधीनता र इतिहास मेटाउन खोज्ने परचक्रीहरू उनका बिरुद्ध बारम्बार क्रियाशील भए । यसै क्रममा २०१७ र २०३२ मा उनका बहुमूल्य पाण्डुलिपीहरूमा राज्यकै तर्फबाट आगो लगाउने काम भयो । त्यतिमात्र नभएर हिन्दुस्तानको स्वतन्त्रताको लागि लड्दा कराची जेलमा मारेर फाले जस्तै २०१७ मा भैरहवाको छिडीमा थुनेर मार्न खोजियो । ठिक त्यसरी नै २०३२ मा काठमाडौँको भद्रगोलमा उनको हत्याको प्रयास भयो । सबै नेपाली र नेपालको इतिहास रचना गर्ने र पुर्खाको नालिवेली लाउने यी सिद्ध पुरुषले गर्गऋषिबारे धेरै ठाउँमा उल्लेख गरेका छन ।

देवभूमि भारत एवंम् आध्यात्मिक नेपाल भन्ने पुस्तकको पाना ५४ मा लेखेका छन, स्याङ्जा जिल्लाको नुवाकोटमा रहेको श्रवण कुमारको आश्रमदेखि नैऋत्य कोणमा, कृष्ण गण्डकीको पूर्व तटमा, गर्गगंगाको संगम स्थलमा गर्गऋषिको पवित्र ऋषिकुल छ । यहाँ गर्गऋषिले आफ्ना नाममा गर्गेश्वर भर्गको स्थापना गरेर पूजा गरे, त्यहाँ आज पनि गर्गेश्वर महादेवको नामले प्रख्यात तीर्थ छ । यो गर्गतीर्थ हो, यही वाचक्कनबी ब्रह्मवादिनी गर्ग पुत्री गार्गीको पवित्र जन्मभूमि हो । स्थानिय जनभाषामा आज यस ठाउँलाई गड्गडीघाट भनिन्छ । अध्यात्म विद्या विदुषी गार्गीको महिमा योगी याज्ञवल्क्य, राजर्षि जनक आदिले राम्ररी जान्दथे । यही गर्गआश्रममा बसेर गर्गमुनिले प्रसिद्ध गर्ग संहिताको रचना गरेका थिए । गर्गतीर्थ गड्गडी घाट्मा सबभन्दा ठूलो मेला माघे संक्रान्तिमा अहोरात्र लाग्छ तथा स्नान पूजन जप ध्यान कथा प्रवचन आदि सत्कर्महरू पनि गरिन्छन ।

गर्गगोत्री खडकाहरूको समाजले प्रकाशित गरिरहेको

प्रतिक्रिया