क्यानडामा पशुपतिनाथको मन्दिरमा ज्योर्लिङ्ग स्थापना

इनेप्लिज २०७४ मंसिर २४ गते १६:२२ मा प्रकाशित

आज २०७३ साल मंसिर १६ गते तदानुसार २०१७ डिसेम्बरको ९ तारिख शनिबारको दिनलाई क्यानडाको नेपाली समुदायहरुले इतिहासमा दर्ता गर्ने छन् । १२ नोभेम्बर २०११का दिन श्री नेपाली बाबाबाट शुभारम्भ भएको श्री पशुपतिनाथको मन्दिर निर्माण अभियानले जुन २०१२ मा विधिवत दर्ता भएको थियो । त्यसपछि संस्थाले मन्दिर कार्यलाई निरन्तरता दिदै आफ्नै घरसहितको जग्गा किनेर पूजाआराधना कार्यको शुभारम्भ गरेको थियो । त्यही मन्दिरलाई पृर्णरुप दिन नेपालको मुल पशुपतिनाथको मन्दिरको ज्योर्लिङ्गकै रुपमा चन्द्र डण्गोलले आज प्रतिष्ठापन भएको पशुपतिनाथको ज्योर्लिङ्ग निर्माण गर्नु भएको हो ।

ज्योर्लिङ्ग प्रतीमा प्रतिष्ठापन कार्यक्रमको शुरुमा वाध्यबाजासहित कलश यात्रा गरिएको थियो । त्यसपछि रेखी स्थापना गरेर समस्त देवदेवीहरुको श्रृङ्गारसहित स्थापना भएको थियो । त्यसपछि धार्मिक रीति अनुसार स्वस्तस्तवाचन, संकल्प, गोदान गरेपछि ब्राह्मणवरण, दीप, कलश, गणेश पूजनको कार्यक्रमसहित धृतमातृका, षोड़शमातृका पूजन, सँगै योहगनी, वास्तु पूजन रहेको थियो । पशुपतिनाथको प्रतिष्ठापन गर्न छेत्रपाल, हदक्पाल, हलृंगा, तोरण, चँदुवा आदि पूजन कार्य सम्पन्न भएपछि आरतीसहित प्रभुको पूजा आराधना धूप, दीप, नैवेधसहित आरती गरिएको थियो ।

सन् पचासको दशकदेखि क्यानडामा नेपालीहरुको आगमन शुरु भएको देखिन्छ । प्रारम्भमा भारतबाट नेपालीहरु क्यानडा पुगेका थिए भने सत्तरको दशकदेखि अध्ययनको क्रममा नेपालीहरु क्यानडा प्रवेश गरेको देखिन्छ । सन् १९९६ को माओवादी द्वन्द्व शुरु भएपछि सन् २००० देखि शान्त र सुरक्षित गन्तब्य खोज्दै नेपालीहरु क्यानडामा आउन थाले । त्यसपछि यो क्रम विस्तारै बढ्दै गएपछि आज क्यानडामा पचास हजारको हाराहारीमा नेपालीहरुको संख्या रहेको अनुमान गर्न सकिन्छ । विशाल टोरोन्टोमा मात्र ६–७ हजार नेपालीहरु रहेको अनुमान गरिन्छ । नेपालीहरुको लागत राख्ने काम यहाँ स्थापित संस्थाहरुले गर्नु पर्ने हो । तर यस तर्फ कसैले जमर्को देखाएका छैनन् । गैरआवासीय नेपाली संघको क्यानडा शाखाले यसको दायित्व लिनु पर्ने हो । एनआरएन क्यानडाको सदस्य बनेकाहरुको सदस्यता शुल्कबाट नेपालीहरुको तथ्याङ्य खोज्ने कार्यमा केही खर्च गर्नु पर्ने हो । तर त्यो सदस्यता शुल्क एनआरएनको केन्द्रलाई जिम्मा लगाउँदै आएका छौं । यसपटक मात्र हामीले एक्काईस हजार डलर केन्द्रलाई जिम्मा लगायौं ।

आजको यो एतिहासिक क्षण आउनका लागि विशाल टोरोन्टोका नेपाली समुदायले धेरै सहयोग गर्दै आएका छन् । २००४ मा पशुपतिनाथ नेपाली कल्चरण सेन्टर (पिएलसिसि) को जग हालेर मन्दिर निर्माणका लागि प्रारम्भिक प्रयास शुरु भएको थियो । अस्थायी मन्दिरबाट धार्मिक क्रियाकलापको श्री गणेश पनि गरिएको थियो । तर त्यसले निरन्तरता नपाएपछि केही समय बिट मारेर पूनः २०१० मा नेपाली क्यानेडियन हेरिटेज सेन्टर (एनसिएचसि) का माध्यमबाट मन्दिर निर्माणको अर्को प्रयास शुरु भयो । यसपटकको प्रयासमा कर्मठ, निष्ठावान र कर्तव्यबोधीहरुको समूह रहेको कार्यसमितिले लगनका साथ मन्दिर निर्माणका लागि काम गर्दै आएपछि ब्राह्म्टनको ७९५५ टोरब्राम रोड, युनिट नम्बर २१ मा पशुपतिनाथ मन्दिरको नामबाट पूजा आराधनाको शुभारम्भ भएको थियो । आज यही मन्दिरले पूर्णरुप लिदैछ । मन्दिरमा नेपालबाट झिकाइएको ४ फिट ऊचाँई भएको पशुपतिनाथको ज्योतिर्लिङ्गको प्राण प्रतिष्ठापन गर्न नेपालबाट नेपाली बाबा आउनु भएको थियो भने बाबा सँगसँगै श्री ईश्वरकृष्ण महाराजको पनि उपस्थिति रहेको थियो । ११ जना स्थानीय पुरोहितहरुले पनि ज्योर्लिङ्ग प्राण प्रतिष्ठापनमा धार्मिक सहयोग गर्नु भएको थियो ।

मन्दिरको स्थापनासँगै आज एनसिएचसिले मन्दिरभित्र नेपाली पुस्तकहरुका लागि स्थापना गरिएको पुस्तकालयको पनि शुभारम्भ महामहिम राजदूत कालीप्रसाद पोखरेलबाट गरिएको थियो । यस पुस्तकालयका लागि दाताहरुले स्वेच्छाले पुस्तकहरु दान गरेका थिए । नेपाली भाषा साहित्यको संरक्षण र संवद्धनका लागि स्थापना गरिएको पशुपति पुस्तकालमा पाठकले नियमानुसार पुस्तक लिएर जाने र पढेर फर्काउने व्यवस्था गरिनेछ ।

आजको भव्य कार्यक्रममा नेपालीहरुको उपस्थितिले हालको मन्दिर सानो हुने देखिएपछि स्वेच्छाले तीनहजार र त्यसभन्दा बढी डलर सहयोग गर्ने निर्णयका नाम लेखाएका थिए । यसबाट आजैमात्र मन्दिरका लागि लगभग तीनलाख डलर जम्मा भएको थियो ।

प्रतिक्रिया