शनिबार, असोज ९ २०७८
काठमाडौं ०३:२६
वासिङटन डिसी 17:41

खराब नेताहरु किन निर्वाचित हुन्छन ?

इनेप्लिज २०७४ मंसिर २३ गते १:१० मा प्रकाशित

 

खराब पात्रहरुको जित हुनलाई एउतै कुरा आवश्यक छ – राम्रा पात्रहरुले केहि नगर्नु I ” – एडमण्ड बर्क

भर्खरैको समाचारबाट थाहा पाइयो कि बिगतमा “गुण्डा-गर्दी” र “ज्यानमार्ने” सजायमा जेल भोगेका नेपालका एक डन दीपक मनाङ्गे मनाङ्गको एक छेत्रबाट प्रदेश सभामा बिजयी भए I यो त एउटा उदाहरण मात्र हो I यस्ता आपराधिक छबि बोकेकाहरु राज्यको मन्त्रीदेखि गाउँको गाउँपालिका सम्म प्रशस्तै भेटिएका छन् र भेटिन्छन I विगतमा निर्दोष बालिकाहरुको ज्यान जाने गरी बम बिस्फोट गर्ने “तराई आर्मी” का बबन सिंहले २००८ को निर्वाचन जितेका थिए, जतिबेला उनि नेपाल प्रहरीको “मोस्ट वान्टेड लिस्ट” मा थिए र भूमिगत थिए I तेस्तै सन् २००४ मा ओखल्धुङ्गा जिल्ला अदालतले “उज्जन कुमार  श्रेष्ठ” को हत्यामा दोषी ठहराई “जन्मकैद” को सजाय दिएका माओवादी नेता “बालकृष्ण ढुंगेल” ले सन् २००८ को संबिधानसभाको निर्वाचन जितेका थिए I ज्यान मार्ने, सुन तस्करी, मानब तस्करी, भ्रस्टाचारका दोषी, अवैध धन्दा, इत्यादि मा संलग्न मानिसहरु किन त बाराम्बार निर्वाचित हुन्छन? कानूनले दोषी ठहराएका र सजाय भोगेका वा पाएका मात्र नभनौं, नैतिक रूपले भ्रष्ट अनि समाज भन्दा आफ्नो दुनो सोझ्याउने मानिसहरु किन बाराम्बार निर्वाचित हुन्छन? एक चोटी हामीले आत्मा-समालोचना गर्ने पर्ने देखिन्छ I

१. बोक्रे भलाद्मी

म फेसबुकका भित्ता हेर्छु I हामी शिक्षित जमात त्यहाँ देशको र समाजको समालोचना गर्छौं, भबिष्य कोर्छौं, अनि कहिले-काहीं भाबुक भएर देश-प्रेमी कबिता कोर्छौं! तर देश र समाज फेसबुकका दुइ-चार अक्षरले बन्दैन, मैदानमा गएर पसिना बगाउनु पर्छ, हड्डी र दिमाग खियाउनु पर्छ, जुत्ता फताउनु पर्छ  I भाबुकताले हुन्न, व्यहारिक योजना हुनु पर्छ I नत्र हामी कार्ल मार्क्सको खाली समालोचना गर्ने “इतिहासकार” बन्छौं  I कुरो “इतिहास बदल्नेको” हो, कुरो देश र समाज बदल्नेको हो I विदेशमा रहेका हामी शिक्षित मात्र हैन गाउँमै रहेका बचे-खुचेका शिक्षित जमातको पनि हालत राम्रो देखिएन I मेरै गाउँमा दुई जना अग्रज बी.ए. पास दाईहरु मध्ये एक जना विदेश गएको १०+ वर्षा भो भने अर्को दाई गाउँमा “आफ्नो व्यहार-धन्दा” मा ब्यस्त छन्, उनलाई राजनीति फोहोरी लाग्छ, फोहोरिहरुको जमात लाग्छ I अनि शिक्षितहरु देशभित्र र देशबाहिर यसरि पलायन भएपछि खराब चरित्रहरू समाजका नेता भए भनेर म चाही गालि गर्दिन  I हामी मध्ये कति जना संचिकै नेपाल फर्कने छौँ र देश बदल्न लाग्ने छौँ? कति जना गाउँ फर्की राजनीति परिवर्तन गर्न तिर लाग्ने छौँ? लगभग शून्य ! अनि नेताहरु यस्ता भए, उस्ता भए भनेर गालि गर्ने? अझ, राम्रा नेताहरु (विश्वप्रकाश शर्मा, गगन थापा, रबिन्द्र अधिकारी) जस्तालाई समर्थन गर्न दुई-चार पैसा निकाल्का दाँतबाट हाम्रो पसिना निस्कन्छ  I अनि पछि खराब नेताले जित्यो भनेर फेसबुकको भित्ता कुरेर रंगी-बिरंगी बनाउनछौँ  I देश र समाज अर्को ग्रह, अर्को देशको मान्छेले बनाइदिदैन, हामीले नै बनाउने हो, हाम्रै समाजमा जन्मेका नेताहरुले बनाउने हो  I झन्न अमेरिका, युरोप गोराहरुका पुर्खाले बनाए र आज हामी यहाँ आएर आरामको जिन्दगि बिताईरहेका छौँ  I पोर्रा हुर्केको रूखको फल खाइरहेका छौँ  I तर आफैले आफ्नो देशमा रुक रोपेर हुर्काउन कति गारो छ? के हामी आफ्नै देशमा रूख रोपेर हुर्काई फल खान सक्छौं? विडम्बना, हामी खाले मुकदर्शक भएर साइडमा “कमेन्ट” गर्ने “बोक्रे भलाद्मी”को हैसियत बाट उठ्न खासै उठ्न सकेका छैनौँ  I केहि शिक्षित युवाहरुले साँच्चै राजनीतिक परिवर्तनको आशा देखाएका छन् I यस्ता शिक्षित युवाहरु सबै पार्टीमा आउनु पर्छ  I हामी जस्ता शिक्षित युवाहरु विदेशमा शिक्षा, सीप, अनुभव, र अर्थ आर्जन गरेर आफ्नो देश फर्कनु पर्छ  I आफ्नै देशमा रूख रोपी, मलजल गरी हुर्काउनु पर्छ, आफू र आफ्नो संतान्तिको लागि  I मलाई अमेरिकामा अबको ४-५ वर्षा भन्दा बढी बस्ने योजना छैन र कहिले थिएन पनि I अर्काले रोपेको रूखको फल खाएको त्यति मज्जा लाग्दैन जति आफूले रोपेको रूखको फलको हुन्छ  I अनि, आफूले केहि नगर्ने र नेता खराब भए भनेर कपाल फुलुन्जेल गाली गर्ने मलाई मन छैन I त्यसैले म अवश्य नेपाल फर्कन्छु I

२. राजनीतिक ढाल

जबसम्म यस्ता कु-चरित्रहरूले राजेनीतिक पार्टीको ढाल पाउछन, तबसम्म यो कु-प्रबिती कायमै रहनेछ I एउटा खुसीको कुरा के हो भने भर्खरै पारित कानूनी परिमार्जनले (धारा १३(ए) अनुसार) “भ्रष्टाचारी, बलात्कारी, मानब तस्कर, लागु-औसध्का कारोबारी, पासपोर्ट दुरुपयोग गर्ने, तथा आर्थिक विचलनकारी लगायत गम्भीर मानब नैतिक पतन भएका” हरुलाई “प्रतिनिधि सभाको” निर्वाचनमा लड्न लाई रोक लगाएको छ I यो एउटा ठूलो कुरा हो र राम्रो सुरुवात हो  I यो कानून पहिले नै बनेको भए बबन सिंह र बालकृष्ण ढुंगेल जस्ता चरित्रले चुनाव लड्न नै पाउने थिएनन् I राजनीतिक पार्टीले, जुनसुकै होस्, यस्ता कु-चरित्रहरुलाई ढाकछोप र संरक्षण गर्नु छोड्नु पर्छ I कानूनले पनि बाध्यात्मक बनाउदै लानु पर्छ I अनि मात्र त्यो ढाल जानेछ I

३. अन्ध-समर्थक कार्यकर्ता

दीपक मनाङ्गेलाई पार्टी केन्द्रले अनुमोदन नगरे पनि एमालेको जिल्ला कमिटीले समर्थन गर्यो र चुनाव उसले जित्यो पनि I जब सम्म हाम्री स्थानीय तह (जिल्ला, नगरपालिका, गाउँपालिका) मा कार्यकर्तामा यस्तो “अन्ध-भक्त” प्रबिती रहन्छ, तबसम्म यस्ता चरित्रले स्थानिय तहमा निर्वाचन लडीरहनेछन र जितीरहनेछन I अर्को कुरा कार्यकर्ता पनि भ्रष्ट भैदिए भने यो प्रवृति झन् फस्टाउनेछ I

४. राजनीतिक पूर्वाग्रह

“अर्काको अंगको जुम्रो देख्ने तर आफ्नो अंगको भैसी नदेख्ने” भन्ने उखान नेपाली समाजमा यसै उत्पति भाको हैन रहेछ  I हामी अर्काको पार्टी वा विचारधाराको नेताले केहि गल्ति गर्यो भने तिल लाई पानी पहाड बनाउनछौं तर आफ्नो पार्टीको नेताले ठूलो गल्ति गर्दा पनि सके आत्मा-रक्षा गर्ने काम गर्छौं, नसके चुप लाग्छौं  जुन दुइतै गलत हो  I र, दुइतैमा हाम्रो स्वार्थ लुकेको हुन्छ  I आफ्नो पार्टीको नेताले काम बिगारे हामीले कमसेकम “स्वीकार” गरी “सहि बाटो” देखाउने त काम गर्न सक्छौं, सालिन र सभ्य भाषाले I आफ्नो नेताको गलत कदमलाई समर्थन गर्दै गर्दा आफ्नो पार्टीलाई खाडलमा जाक्दै गरको हामीलाई पत्तै हुन्न! अहिले अमेरिकामा “देमोक्रतिक” पार्टीले जसरि आफ्नै केहि नेताहरुलाई “नैतिक विचलन” को हिसाबले राजिनामा दिन लगायो, यो बाट हामीले पाठ सिक्नु पर्छ I तब मात्र, हामीलाई आम जनताले “गम्भीर” र “सम्मान” ले हेर्नेछन  I

५. जातिय, साम्प्रादायिक, र भौगोलिक पूर्वाग्रह

दीपक मनाङ्गे, प्रभु शाह, बबन सिंह, रामजनम चौधरी, इत्यादि जस्ता चरित्रहरूको पछाडी जातिय, साम्प्रादायिक, र भौगोलिक पूर्वाग्रह कहीं न कहीं छन् I अर्को जातको, अर्को सम्प्रदायको, वा अर्को भेगको नेताले देश लुट्यो, हाम्रो नेताले त जाबो एउटा टोल लुट्यो, एउटा सहर लुट्यो I निर्दोष सुरक्षाकर्मीको नारा-संहार गर्ने जमातका टाउके रामजनम चौधरीको थारु समुदायमा अझै पनि ठूलो समर्थन छ  I जब राजनीतिक, सामाजिक, र सान्सृकित मुद्दामा जातीयता, साम्प्रादायिकता र भौगोलिकता मिसिंचा तब आधारभूत मूल्य-मान्यताहरु मानब-अधिकार, न्याय जस्ता कुराहरु मानिसको दिमागबाट उद्चन I जातीयताले मानबता अनि साम्प्रदायिकताले न्याय ओझेलमा पर्छ  I सहि-गलत काम होस् या राम्रो-नराम्रो मान्छे होस्, आफ्नो जातको भएपछि समर्थन गर्ने प्रबिती अझै पनि ब्याप्त छ I यसको एउटा मूल कारण अशिक्षा पनि हो  I सिक्षित मतदाताको बाहुल्य भएएको ठाउँमा यस्तो हुने सम्भावना कमि हुन्छ I

प्रतिक्रिया