समय कम भएपनि मतदाता शिक्षा लक्षित वर्गमा’

इनेप्लिज २०७४ मंसिर १८ गते १२:१२ मा प्रकाशित

काठमाडौँ, १८ मंसिर: निर्वाचन आयुक्त इला शर्माले समय कम भएपनि मतदाता शिक्षा लक्ष्यअनुरुप नै अघि बढिरहेको बताउनुभएको छ ।

यही मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदाता शिक्षा अभियानका विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा उहाँले मतदातालाई निर्वाचनमा मत संकेत कसरी गर्ने भनेर सिकाउन आयोगले हरसम्भव प्रयास गरिरहेको जानकारी दिनुभयो ।

आयुक्त शर्माले भन्नुभयो, “छोटो समयमा हरेक घरमा होइन प्रत्येक मतदातामा मतदाता शिक्षा पु¥याउनु निकै ठूलो चुनौतीपूर्ण कार्य हो । यस अभियानलाई सफल बनाउन आयोगको एक्लो प्रयासबाट मात्रै सम्भव छैन । जानेकाले आफ्नो घर परिवार र छिमेकीलाई पनि सिकाइदिनुहोला ।”

हरेक मतदान केन्द्रका लागि १९ हजार ९०८ जना मतदाता शिक्षा कार्यकर्तालाई घर घरमा पुग्ने गरी खटाएको जानकारी दिँदै आयोगले मतदाता शिक्षा कार्यकर्ताले मंसिर १९ र २० गते प्रत्येक मतदान स्थलमा परिचयपत्र लिन आउने मतदातालाई मतपत्र देखाएर मतसंकेत गर्न सिकाउने व्यवस्था मिलाएको जनाएको छ ।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन यस पटकको निर्वाचनमा आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकतर्फको सक्कली मतपत्रकै नमुनालाई आयोगको वेभसाइटमा राखेर राजनीतिक दल, उम्मेदवार वा कार्यकर्तालाई सहजरुपमा उपलब्ध गराएको छ ।

मतदाता शिक्षालाई अभियानकैरुपमा सञ्चालन गर्न आयोगले सरकारी सञ्चार माध्यमहरू राष्ट्रिय समाचार समिति, गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजनसँग छुट्टाछुट्टै सम्झौता गरी मतदाता शिक्षाका सूचना वा सन्देशलाई निरन्तररुपमा प्रवाह गर्दै आएको छ ।

ठूला आकारका दैनिक अखबारलगायत सबै पत्रिकाहरूलाई आयोगबाटै सन्देशहरू उपलब्ध गराइएको जनाउँदै निर्वाचन आयोगले विद्युतीय सञ्चारमाध्यमको प्रभावकारितालाई मनन् गर्दै आयोगले विभिन्न १७ भाषामा अडियो, भिडियोका सामग्री उत्पादन गरी रेडियो नेपाल, नेपाल टेलिभिजन, निजी क्षेत्रका एफएम रेडियो तथा फिल्म हलहरूमा मतदाता शिक्षाका सामग्रीहरू प्रसारण भइरहेको जनाएको छ ।

दोस्रो चरणको निर्वाचनमा मंसिर २१ गते ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा हुने मतदानका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । दोस्रो चरणको निर्वाचनमा ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रमा मंसिर २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

आयोगले वैकल्पिक सञ्चार माध्यमको लोकप्रियतालाई ध्यानमा राखी सडक नाटक, मोबाइल भ्यान, लोक दोहोरीसहितको सांगीतिक कार्यक्रम सञ्चालन गर्नुका साथै मत संकेत गर्ने विधि र प्रक्रियाका समावेश गरी ठाउँठाउँमा फ्लेक्स बोर्ड प्रदर्शन गरिएको छ ।

विभिन्न १७ वटा राष्ट्र भाषामा मतदाता शिक्षा सामग्री, प्रश्नोत्तर, हाते पुस्तिका, पोष्टर, सात प्रकारका फ्लिप चार्ट आदिको छपाइ गरी स्वयम्सेवकमार्फत वितरणको व्यवस्था मिलाइएको तथा अनलाइन तथा रेडियो नेटवर्कमार्फत पनि मतदाता शिक्षाका सन्देश प्रवाह भइरहेका आयोगले जनाएको छ ।

दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालन गरिएको आम पहुँच कार्यक्रमअन्तर्गत फ्लेक्स बोर्डबाट सन्देश प्रदर्शन, सिनेमा हलबाट सन्देश प्रसारण, एटिएम काउन्टरमा सन्देश प्रदर्शन तथा २० जिल्लामा मोबाइल भ्यानबाट सन्देश प्रदर्शन गर्ने काम जारी रहेको आयुक्त शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया