गर्न चाहे नागरिक सहयोग गर्छन् : सप्रनि खड्का

इनेप्लिज २०७४ मंसिर १५ गते २२:२५ मा प्रकाशित

सञ्जय मित्र, रौतहट
प्रतिकूल अवस्थामा त गर्न चाहनेले धेरै थोक गर्न सक्छन् भने सधैँ सहयोगी देखिएका नागरिकबीच काम गर्न त्यत्ति अप्ठ्यारो हुँदैन । सहयोग लिने र दिने कलामा भने व्यक्तित्वको प्रभाव प्रभावकारी हुन सक्छ । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी निरीक्षक धु्रवकुमार खड्काले रौतहटको सशस्त्र प्रहरी बेस दुधियाभारलाई सम्हालेदेखि स्थानीयको सहयोग निकै पाएका छन् । उनीभन्दा अगाडिका सप्रनिहरुलाई पनि हदैसम्मको सहयोग गरेका स्थानीयल खड्कालाई सहयोग गरेकै कारण धेरै काम गर्न भ्याएका रहेछन् ।

स्थानीयले बेसको लागि निःशुल्क जग्गा उपलब्ध गराइदिने र पक्की भवन बनाइदिनेसम्मको काम गरेका छन् । त्यसपछिका धेरै सप्रनिहरुले बेसलाई अझ राम्रो बनाउने काममा स्थानीयको धेरै सहयोगात्मक भावनाको सदुपयोग पनि गरेका छन् । झन् सप्रनि खड्काले बेसलाई सुरक्षित र सुविधा सम्पन्न बनाउन स्थानीयको सहयोग पाएका छन् ।

छोटो समयको जागिरको क्रममा आउने बेसपतिहरुमध्ये सप्रनि छवि रावतले आफ्नो कार्यकालको एउटा शिलालेख नै बनाएर छोडेका छन् । अहिले सप्रनि खड्काले पनि बेसलाई सुरक्षित बनाउन कम्पाउन्ड वाल लगाउन भ्याएका छन् । बेसलाई भौतिक रुपले कम्पाउन्ड वालले सुरक्षित पारेपछि आन्तरिक व्यवस्थापनमा पनि ठूलो सुधार गर्न भ्याएका छन् । बेसलाई चौबिसै घन्टा सूचना र सञ्चारको माध्यमले जोडिरहन वाईफाईको व्यवस्थाको सबैका लागि मनोरञ्जन र समाचारको लागि टेलिभिजन समेत राख्न सकेका छन् । यसै गरी सत्कारको माध्यममा पनि सप्रनि खड्काले बढोत्तरी गर्न सफल भएका छन् ।

बाढीको समयमा स्थानीयबासीलाई ठूलो सहयोग गरेर सबैको मन जित्न सफल भएपछि स्थानीयले सप्रनि खड्कालाई हृदय खोलेर सहयोग गर्ने परम्परालाई कायम राखेका हुन् । बाढीमा फसेकाहरुको उद्धार गर्ने, बाढीपछि राहत पु¥याउने र बाढीले भत्काएको सडक मरम्मतमा अहोरात्र खटेर सडक सुचारु गराउन सप्रनि खड्काले गुन लगाएका थिए । अझै साह्रै पीडितलाई राहत नपुग भएको अवस्थामा आफैँले पहल गरी दर्जनौँ बाढीपीडितलाई राहत उपलब्ध गराउने सप्रनि खड्काले बेसभित्रको आन्तरिक सौन्दर्य वृद्धि गर्न प्राकृतिक वातावरणको निर्माण गरेका छन् ।

सप्रनि खड्का भन्छन् – यहाँका सर्वसाधारण नागरिक निकै सहयोगी छन् । पहिलेदेखि नै सकारात्मक सहयोग गर्दै आएका छन् । गर्न चाहेमा नागरिकले सधैँ सहयोग गरेका छन् ।

प्रतिक्रिया