राष्ट्रियसभा सदस्य बन्ने कुरा पूर्णतः असत्य होः निधि

इनेप्लिज २०७४ मंसिर १५ गते १२:५० मा प्रकाशित

जनकपुरधाम, १५ मंसिर ः नेपाली काँग्रेसका नेता एवं धनुषा जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो बारेमा राष्ट्रियसभा सदस्यका प्रशंग कपोलकल्पित भएको बताउनुभएको छ ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवारी त्याग गरी राष्ट्रियसभाको सदस्य बन्ने कुरा पूर्णतः असत्य हो भन्नुभयो ।

नेता निधिले आफ्नो उम्मेदवारी त्याग बारेमा अभिव्यक्ति दिनेलाई नै उम्मेदवारी त्याग गर्न आग्रह गर्दै आफू कतै छोडेर नगएको र प्रतिनिधिसभा सदस्य उम्मेदवार छु भन्नुभयो ।

उहाँले आफू यही जन्मेको, संघर्ष गरेको, विकासका पूर्वाधार स्थापना गराएको, जनकपुरलाई राजधानी बनाउन र राजर्षीजनक विश्वविद्यालय स्थापना गराउन प्रयासरत रहेका कारण आफ्नो बारेमा राष्ट्रियसभा सदस्यलाई जोडेर सार्वजनिक भएको कुरा निराधार भएको स्पष्ट पार्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले आफ्नो कसैसँग प्रतिस्पर्धा नभएको उल्लेख गर्दै आफू अनुमान गरेका भन्दा अधिक मत प्राप्त गर्ने दाबी गर्नुभयो ।

नेता निधिले देशमा राजनीतिक स्थिरता र मधेश मुद्दाको सम्बोधन सन्दर्भमा संविधान संशोधनका लागि नेपाली काँग्रेसलाई बहुमत दिन मतदातालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया