निर्वाचनको समाचार संकलन कार्य सहज हुनुपर्ने ः महासचिव विष्ट

इनेप्लिज २०७४ मंसिर १३ गते १२:२२ मा प्रकाशित

पोखरा, १३ मंसिर  ः नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले निर्वाचनमा मतदानदेखि मतगणनासम्म समाचार संकलनका लागि सहज वातावरण हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा आज यहाँ आयोजित ‘निर्वाचनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो – “समाचार संकलन गर्दा निश्पक्ष, स्वतन्त्र र सत्यतथ्यमा आधारित भएर गर्नुपर्छ ।”

महासचिव विष्टले न्यूनतम पारिश्रमिक लगायतका समस्याको समाधानका लागि वर्तमान कार्य समिति क्रियाशील बन्ने विश्वास व्यक्त गर्दै महासंघमा सदस्यता शुद्धीकरणको आवश्यकता रहेको बताउनुभयो ।

महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले महासंघको सदस्यता परिचयपत्रलाई व्यवस्थित गर्दै वर्षेनी प्रदान गर्ने वातावरण तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले पत्रकारिता क्षेत्रमा पेशागत मूल्यमान्यता कायम हुनुपर्नेमा जोड दिनुभयो ।

महासंघका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठले सदस्यता परिचयपत्र वितरण लगायतका कुरालाई सम्बन्धित शाखामार्फत गर्ने व्यवस्था गरिएमा सहज बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेल, सुरेन्द्र थापा मगर, कमल पौडेल ‘अथक’ लगायतले आ–आफ्ना धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया