सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता : प्रतिनीधि सभा उम्मेदवार पोखरेल

इनेप्लिज २०७४ मंसिर १० गते १४:०१ मा प्रकाशित

शिशिर सिंखडा
खोलेसिमल, चितवन, १० मंसिर ।

प्रतिनीधि सभा चितवन क्षेत्र नं. २ का उम्मेदवार कृष्णभक्त पोखरेलले सुकुम्बासी, भूमीहिनलाई जग्गा उपलब्ध गराउने, अव्यवस्थित बस्तीलाई व्यवस्थित गराई जग्गाधनी पूर्जा उपलब्ध गराउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । कालिका नगरपालिका वडा नं. ३ र ४ मा आयोजित घरदैलो एवं मतदाता भेटघाट कार्यक्रमका बीच लाहुरेचोकमा आयोजित कोण सभामा बोल्दै उम्मेदवार पोखरेलले कालिका नगरपालिकामा मात्रै ४० प्रतिशतको हाराहारीमा पूर्जाविहिन जनता रहेको भन्दै प्रदेश र केन्द्र सरकार बनेपछि पहिलो प्राथमिकताका साथ यी समस्याहरु समाधान गरिने बताए ।

यस क्षेत्रमा खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, रोजगार, सडक निर्माण पनि जरुरी रहेको भन्दै २ सय बिगाहा र ९६ बिगाहा क्षेत्रका बस्तीलाई व्यवस्थित गरिने समेत उनले बताए । यस क्षेत्रको उत्तरी बाटोलाई भरतपुर र भण्डारासम्म जोडेर रिङरोड निर्माण गर्ने, शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण सम्पन्न गरी यसै क्षेत्रका हजारौ जनतालाई रोजगारीको प्रबन्ध मिलाउन पनि आफू प्रतिबद्ध रहेको बताए ।

नेकपा एमाले चितवनका अध्यक्ष समेत रहेका पोखरेलले मंसिर २१ गतेपछि बन्ने बामपन्थीको बहुमतको सरकारले जनताका माग पूरा गरेर देखाउने समेत बताए । यस पटकको निर्वाचनमा प्रतिनीधि सभा र प्रदेश सभामा चितवनका ९ वटै उम्मेदवार बामपन्थी गठबन्धनका विजयी हुने निश्चित रहेकोले ढुक्कसँग मतदान गर्न समेत उनले आग्रह गरेका थिए ।

बोलेको पूरा गर्छौँ ः प्रदेश सभा उम्मेदवार दाहाल

प्रदेश सभा चितवन क्षेत्र नं. २ (क) का उम्मेदवार घनश्याम दाहालले बाम गठबन्धनको सबै उम्मेदवार चितवनमा विजयी हुने बताउदै अब बन्ने बामपन्थी सरकारले बोलेका कुरा पूरा गर्ने बताएका छन् । पदमपुर क्षेत्रमा घरदैलो एवं मतदाता भेटघाट पछिको कोण सभामा बोल्दै उम्मेदवार दाहालले सुकुम्बासी समस्या समाधान र विकास निर्माण कार्यको लागि आफू सधैँ जनतामाझ रहिरहने बताए ।

२ दर्जन भन्दा बढी एमालेमा प्रवेश

बाम गठबन्धनका उम्मेदवार सहितको घरदैलो एवं कोणसभा कार्यक्रममा २ दर्जनभन्दा बढी युवाहरु नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । कालिका नगरपालिका वडा नं. ३ लामाचोक, ९६ बिगाहा गाउँ लगायत क्षेत्रमा आयोजित कोणसभामा अनिल चौधरी, धर्मराज चौधरी, पदम थापा, दिनेश थिङ, गोपाल गुरुङ्ग, बिकरा महतो लगायतका स्थानीय युवाहरु एमाले प्रवेश गरेका हुन् ।

सो घरदैलो कार्यक्रम उम्मेदवारहरु सहित पदमपुरका विभिन्न क्षेत्रमा गरिएको थियो ।

 

प्रतिक्रिया