चितवनको समग्र विकास हामी गछौं – उम्मेदवार पोख्रेल, चितवनको कालिकामा संयुक्त वामपन्थीको घरदैलो

इनेप्लिज २०७४ मंसिर १० गते ३:०८ मा प्रकाशित

शिशिर सिंखडा
खोलेसिमल, चितवन, ९ मंसिर ।
नेकपा एमाले चितवनका अध्यक्ष एवम् प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का संयुक्त वामपन्थी उम्मेदवार कृष्णभक्त पोख्रेलले चितवनको समग्र विकास संयुक्त वामपन्थी गठबन्धनले मात्र गर्न सक्ने बताएका छन् । चितवनको कालिका नगरपालिका क्षेत्रमा आज भएको घरदैलोको क्रममा पदमपुर ५ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पोख्रेलले चितवनको समग्र विकासको खाका हामीले तयार गरेको भन्दै निर्वाचन पछि गठन हुने वामपन्थी सरकारले जनपक्षीय काम गरी अगाडि बढ्ने बताए । सुकुम्वासी समस्या समाधान, खगेरी खोला, थाङखोला लगायतका खोलाहरुको तटबन्धन, कालिका नगरपालिका क्षेत्रमा बन्ने औद्योगिक क्षेत्र छिटो भन्दा छिटो निर्माण गर्ने पनि आफ्नो मुख्य एजेण्डा रहेको पोख्रेलले बताए । निशुल्क शिक्षा, स्वास्थ्य र रोजगार पनि आफ्नो मुख्य प्राथमिकतामा रहेको भन्दै पोख्रेलले अब बन्ने वामपन्थी गठबन्धनको बहुमतको सरकारले जनभावना अनुसार काम गर्न सक्ने समेत बताए । एमाले जिल्ला अध्यक्ष समेत रहेका पोख्रेलले चितवनको ३ वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभामा उम्मेदवार रहेका वाम गठबन्धनका सबै उम्मेदवारहरु विजयी हुने निश्चित भएकोले कांग्रेस गठबन्धनका उम्मेदवारहरु अत्तालिएको बताए ।

 

संयुक्त वामपन्थी गठबन्धनको देशैभर बहुमत आउने र पुष महिनामा वामपन्थीको सरकार बनेपछि जनमुखी कामहरु हुनेमा ढुक्क हुन आग्रह गर्दै उम्मेदवार पोख्रेलले चितवनका सम्पूर्ण वामपन्थी उम्मेदवारहरुलाई मतदान गर्न समेत आग्रह गरेका थिए ।

सोही कार्यक्रममा प्रदेश सभा सदस्य चितवन क्षेत्र नं. २ “क” का उम्मेदवार घनश्याम दाहालले चितवनवासी जनताको हरेक सुखदुखमा आफु रहिरहेको र रहिरहने समेत बताए । स्थानीयको समस्या समाधान गर्न सधैं प्रतिवद्ध रहेको भन्दै उम्मेदवार दाहालले सडक, ढल, सिंचाई, स्वास्थ्य, खानेपानी लगायतका सबै विकास निर्माण गर्नको लागि आफु लागिपर्ने उनले बताए ।

देशैभर वामपन्थी गठबन्धनको जनलहर बढेर गएको भन्दै उम्मेदवार दाहालले अब बन्ने सरकारले देशको आर्थिक विकासको लागि काम गर्ने समेत उनले बताए । कार्यक्रममा ५० वर्ष भन्दा बढी नेपाली कांग्रेसमा रही क्रियाशील रहेका हालै सो पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका चितवनका नेता त्रिलोचन पौडेलले कांग्रेसले यो देशमा केही गर्न नसकेको र अब पनि कांग्रेसले यो देशको विकासको लागि केही गर्न नसक्ने उनले बताए । लामो समयसम्म सरकार रहेर पनि कांग्रेसले देश र जनताको लागि काम गर्न नसकेको भन्दै पौडेलले वामपन्थीको छोटो समयको सरकारले जनमुखी काम गरेर देखाई सकेको समेत उनले बताए ।

पदमपुर क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा संयुक्त वामपन्थी उम्मेदवार सहित सयौं कार्यकर्ता घरदैलो एवम् मतदाता भेटघाट कार्यक्रममा सहभागी भएका थिए । सोही कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी १ दर्जन भन्दा बढी युवाहरु एमालेमा प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया