“समाचार प्रभाव” चितवनका मृगौला पिडितलाई ताईवानबाट पनि सहयोग प्राप्त

इनेप्लिज २०७४ मंसिर ४ गते २:५१ मा प्रकाशित

शिशिर सिंखडा
भरतपुर, चितवन, ३ मंसिर । दुवै मृगौलाले काम नगर्ने भएपछि सहयोगको याचना गरेका भरतपुर महानगरपालिका वडा नं. ११ भोजाड निवासी ५६ वर्षिय मन बहादुर गुरुङ्गलाई ताईवानबाट पनि उपचारको लागि सहयोग प्राप्त भएको छ । ताईवानमा कार्यरत देव तमाङ र निर कुमार गुरुङ्गको पहलमा ताईवानवासी नेपाली तथा नेपाल ताईवान एशोसियसन मार्फत् संकलित १ लाख २० हजार रुपैया सहयोग हस्तान्तरण गरिएको छ ।

मन बहादुरको घरमा पुगी देव तमाङको श्रीमती कविता तमाङ र निर कुमार गुरुङ्गका बुबा हर्क बहादुर गुरुङ्गले सो रकम हस्तान्तरण गरेका हुन् । दुवै मृगौलाले काम नगर्ने भएको ३ वर्ष बितिसक्दा पनि उपचार गर्न नसकेका मन बहादुरले थप सहयोगको लागि सहयोगीदाताहरुसँग अनुरोध गरेका छन् । गत कार्तिक २९ गते पनि इजरायलमा कार्यरत भरतपुर ११ भोजाड निवासी कमल गुरुङले रु १ लाख ८० हजार सहयोग गरेका थिए ।

३ वर्षदेखि मृगौलाको डाइलोसिस गर्दै आएको छु, मन बहादुरले भने । मृगौला प्रत्यारोपण गर्न आर्थिक अवस्था छैन, उनले भने । सुगर र प्रेसरका समेत रोगी रहेका मन बहादुरले सुगरको औषधी खाँदै गर्दा मृगौलाको समस्या समेत देखिएकोले साह्रै पीडा भएको बताए । उपचारको लागि चितवनको भरतपुर स्थित नारायणी सामुदायिक अस्पतालमा उपचार गरेको र त्यहाँबाट काठमाडौको नर्भिक अस्पतालमा पनि लामो समय उपचार गरेको उनले बताए । राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौमा उपचारको क्रममा डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने बताए पनि आर्थिक अभावको कारण मृगौला प्रत्यारोपण गर्न नसकेको उनले बताए ।

६ जनाको परिवार रहेको उनको परिवारको आम्दानीको श्रोत केही छैन । दैनिक गुजारा चलाउन मुस्किल छ । श्रीमती, २ छोरा, १ बुहारी र नातीका साथ रहेको गुरुङ्ग परिवारमा मन बहादुर बिरामी भएपछि खुशीका दिनहरु हराएका छन् । श्रीमानको उपचार गर्नको लागि भएको ७ धुर जग्गापनि विक्री गर्नुपरेको उनकी श्रीमती गंगामायाले बताईन् । ऐलानी जमिनमा सानो घरमा बस्दै आएका गुरुङ्ग परिवार मन बहादुरको उपचारको लागि ३० लाख रुपैया भन्दा बढी खर्च गरिसकेको गंगामायाले बताईन् । जग्गा बेचेको पैसाले नपुगेर १५ लाख रुपैया भन्दा बढी त ऋण नै लागिसकेको छ, उनले भनिन् । मृगौला प्रत्यारोपण गर्न आर्थिक अवस्था पनि छैन, श्रीमानको लागि आफुले एउटा मृगौला प्रत्यारोपण गर्न चाहेको उनले बताईन् । प्रत्यारोपण गर्न पनि २५÷३० लाख रुपैया लाग्ने भएकोले कसरी श्रीमानको उपचार गर्ने भन्नेमा पीडामा रहेको गंगामायाले बताईन् ।
मृगौला प्रत्यारोपण गर्न आर्थिक अवस्था नभएको हुनाले उनको जीवनरक्षाको लागि स्वदेश तथा विदेशमा हुनुहुने सहयागीदाताहरुबाट सहयोगको उनले याचना समेत गरेका छन् । उनको उपचारको लागि सहयोग गर्न चाहनुहुनेले मन बहादुर गुरुङ्गको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड नारायणगढ शाखाको खाता नं. ०१३८६८८४४० मा रकम सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् । साथै फोन नं. ९८१२२९९४९१ अथवा ९८४५०२६०९४ मा सम्पर्क गरी सहयोग गरिदिनुहुन छोरा मनोज गुरुङ्गले अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया