महान बलिदानको दिवस

इनेप्लिज २०७४ मंसिर ४ गते २:३६ मा प्रकाशित

मंसिर ३,गरुडा÷ २००७ सालको जनक्रान्तिमा मंसिर ३ महान बलिदानको दिवसको रुपमा रहेको छ । यस दिनलाई रौतहटमा बलिदान दिवसको रुपमा मनाउने गरिएको छ ।  तत्कालीन राणशासनको अन्त्यको लागि नेपाली काँग्रेसको नेतृत्वमा कात्तिकदेखि नै सशस्त्र जनान्दोलन सुरु भएको थियो । धेरै जिल्लामा क्रान्तिको आगो बिस्तारै सल्कँदै गएको थियो । रौतहटमा मंसिर ३ गते जनताको विशाल समूह रौतहटको सदरमुकाममा प्रवेश गरेर आन्दोलनलाई अगाडि बढाइरहेका थिए । तर त्यस दिन कति सहिद भए भन्ने कुरा इतिहासले नै बिर्सिसकेको छ ।

रौतहटको सदरमुकाम गौरसँगै टाँसिएर रहेको भारतीय बजार बैरगनियामा नेपाली काँग्रेसको पहिलो अधिवेशन भएको थियो । अधिवेशनमा मुख्य गरी दक्षिणी रौतहटका धेरै सर्वसाधारणले भाग लिएका थिए र राजनैतिक चेतना प्राप्त गरेका थिए । अधिवेशनपश्चात राणाशासनको विपक्षमा र प्रजातन्त्रको पक्षमा निकै सकारात्मक जनमत तयार भइसकेको थियो । यसै कारण सदरमुकाम घेर्न सैकडौँ मानिस गौर पुगेका थिए ।

निःसन्देह नेतृत्व गरेका शिउप्रसाद कुँवरले । दर्जनौँ क्रान्तिकारीहरु साथै थिए । उनीहरुमा जोश यति भरिएको थियो कि तत्कालीन सेनालाई पनि कुनै परवाह गरेनन् । चेतावनीलाई पनि टेरेनन् । शिउप्रसाद कुँवर त अड्डाको सिंढी चढ्दै माथि उक्ले र क्रान्तिकारी झण्डा फहराउनमात्र के लागेका थिए, उनको छातीमा गोली लाग्यो र उनी ढले । उनी तत्काल त्यही सहिद भए । उनी सहिद भएको ठाउँजनिकै उनी र उनका साथीहरुको स्मृतिमा यो स्तम्भको निर्माण गरिएको छ ।
त्यस दिनको सम्झनामा दिवंगत साहित्यकार गोविन्द भट्टले पनि गौरमा ठूलो संख्यामा मानिस हताहत भएको उल्लेख गरेका थिए । निरन्तर सहादत दिवस समारोहको आयोजना गर्दै आएका रौतहटका पुराना नेता राजदेव चौधरीले त्यस दिन धान खेतमा पनि लासैलास देखिएको र त्यो वर्ष किसानले राम्ररी धान काट्न नपाएको पनि बताउँछन् । उनी भन्छन् – गौर वरिपरि धेरै लास थिए धेरै दिनसम्म ।

नेपाली जनआन्दोलनको गर्विलो इतिहासमा गौरको गौरव मंसिर ३ ले बढाएको छ । ज्ञात र अज्ञात रुपमा धेरैजना सहिद भएको मंसिर ३ लाई नेपाली इतिहासले कहिल्यै बिर्सन सक्दैन । नेपाली जनताले गरेको २००७ को महान जनक्रान्तिका सम्पूर्ण सहिदहरुलाई हामीले सम्झेर समाजको लागि केही गर्ने प्रेरणा लिनुपरेको छ ।

प्रतिक्रिया