जनप्रतिनिधि एवम् व्यवसायीहरुसँग पशु सेवा सम्वन्धि अन्तरक्रिया, शक्तिखोर र सिद्धिलाई बाख्रापालनको पकेट क्षेत्र बनाउन सकिने – नगर प्रमुख श्रेष्ठ

इनेप्लिज २०७४ मंसिर १ गते १४:३४ मा प्रकाशित

खोलेसिमल, चितवन, १ मंसिर ।
पशु सेवा शाखा कालिका नगरपालिकाको आयोजनामा आज वार्षिक कार्यक्रम सार्वजनिकीकरण एवम् अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्ष एवम् नगरपालिकाभित्रका पशु सेवा सम्वन्धि व्यवसायीहरुको समेत सहभागीता रहेको कार्यक्रममा पशु सेवा शाखाले नगरपालिका क्षेत्रमा १ वर्षभित्र गरिरहेका र गर्ने कामहरुको बारेमा छलफल भएको थियो ।

कार्यक्रममा आ.व. २०७४÷७५ को वार्षिक कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाको बजेटका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिएको थियो । सो शाखाले वार्षिक कार्यक्रम अन्तर्गत पशु बीमा, कृषक सम्मान, बाख्रापालन तालिम, कुखुराको चल्ला वितरण, पशु स्वास्थ्य शिविर, पशु आहार विकास, व्यवसायिक कृषिको विकास गर्ने लगायतका कार्यक्रमहरु सार्वजनिकीकरण गरिएको थियो ।

 

कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले कृषि क्षेत्रको विकासको लागि नगरपालिकाले बजेट विनियोजन गरेको बताउँदै व्यवसायिक र उन्नत कृषि प्रणालीको विकास गर्न नगरपालिकाले सहयोग गर्ने समेत बताए । कृषिको विकासको लागि आवश्यक लगानी र प्रविधिको साथसाथै लगानी पछि अनुगमनको पनि जरुरी रहेको श्रेष्ठले बताए । नगर प्रमुख श्रेष्ठले नगरपालिकाको शक्तिखोर र सिद्धि क्षेत्रमा व्यवसायिक बाख्रापालनको पकेट क्षेत्रको रुपमा र अन्य क्षेत्रमा व्यवसायिक कृषिको विकास गर्न सकिने भएकोले सोही अनुसार कार्यक्रम ल्याउन पनि पशु सेवा शाखालाई सुझाव दिएका थिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदी, कालिका नगरपालिका पशु सेवा शाखा प्रमुख सीताराम मरहठ्ठा, पशु सेवा प्राविधिक ईश्वरी प्रसाद पौडेल, नगरपालिकाका सूचना अधिकृत बलराम लुइटेल, वडा नं. ४ का वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, वडा नं. ३ का वडा अध्यक्ष टिकाराज रिजाल, कृषक खडानन्द सापकोटाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया