बुधबार, असोज ६ २०७८
काठमाडौं ०८:१२
वासिङटन डिसी 22:27

बेरोजगारी समस्या समाधान गर्न पहल गर्छु ः सभापति देउवा

इनेप्लिज २०७४ कार्तिक ३० गते १२:५३ मा प्रकाशित

डडेल्धुरा, ३० कात्तिक  ः प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफू र पार्टीका प्रदेशसभा उम्मेदवारहरुलाई बहुमतका साथ विजयी गराउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “मसित त तपार्इंहरु झगडा गर्नेदेखि आफ्नो हकअधिकारका लागि बोल्न सक्नुहुन्छ ।” डडेल्धुरावासीले दिएको मायाले आफू देशकै नेतृत्वमा पुगेको बताउँदै उहाँले जनताले दिएको मायाको दुरुपयोग हुन नदिने धारणासमेत राख्नुभयो ।

“मैले डडेल्धुराको नाम विश्वमै चिनाएको छु” देउवाले भन्नुभयो, “डडेल्धुरामा जन्मिएकामा गर्व लाग्छ ।” यहाँहरुकै सद्भाव र मायाले पटक–पटक यो देशको प्रधानमन्त्री भएको छु”, देउवाले भन्नुभयो ।

डडेल्धुराका विकास निर्माणका विषयमा बोल्दै उहाँले अधुरा सडक सञ्जाल, खानेपानी, विद्युत् विस्तारमा पहल गर्ने बताउनुभयो । “सडक सञ्जाल विस्तार भए पनि कच्ची भएकाले धुलोधुवाँ धेरै भयो,” उहाँले भन्नुभयो – “अब सबै सडकहरु कालोपत्र गर्छु ।”

उहाँले पञ्चेश्वर परियोजना चाँडै शुरु हुने बताउँदै पश्चिमी सेती परियोजनाको निर्माणका विषयमा आफूकहाँ चिनियाँ कम्पनीहरु संवादका लागि आएको जानकारी दिनुभयो । “पश्चिमी सेती र पञ्चेश्वर निर्माण भए यहाँको बेरोजगारी समस्यासमेत हल हुन्छ,” उहाँले भन्नुभयो – “डडेल्धुरालगायत देशको बेरोजगारी समस्या समाधान गर्न पहल गर्छु ।”

“म कसैका विरुद्ध यहाँ बोल्न आएको होइन,” देउवाले भन्नुभयो । त्यसैगरी उहाँले जोगबुढा भएर भारत जान महाकाली नदीमाथि पुल निर्माण गर्ने बताउँदै सो पुल निर्माणका विषयमा भारतसित सहमति भइसकेको जानकारी दिनुभयो । त्यसका साथै उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेजका रुपमा विस्तार गर्ने वचनबद्धता पनि प्रकट गर्नुभयो ।

उहाँले वाम गठबन्धनलाई प्रजातन्त्र विरोधी भएको आरोप लगाउँदै कम्युनिस्ट शासन त्रासपूर्ण हुने बताउनुभयो । “राणा शासन हटाएर प्रजातन्त्र ल्याउनदेखि ज्ञानेन्द्रलाई हटाएर लोकतन्त्र स्थापना गर्नसम्म काँग्रेसको भूमिका रह्यो,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया