कालिका नगरपालिकामा नयाँ प्रशासकीय अधिकृत

इनेप्लिज २०७४ कार्तिक २९ गते १४:३४ मा प्रकाशित

शिशिर सिंखडा
कालिका, चितवन, २९ कार्तिक ।

चितवनको कालिका नगरपालिकामा सरुवा भई आएका प्रशासकीय अधिकृत रामराज सुवेदीलाई स्वागत गरिएकोे छ । विगत १ महिना अगाडि नगरपालिकामा कार्यरत अधिकृत रमेश सुवेदी सरुवा भएपछि रिक्त रहेको स्थानमा आज बिहिबारबाट हाजिर हुन आएका रामराज सुवेदीलाई एक कार्यक्रमका बिच स्वागत गरिएको हो । सुवेदी हालै बारा जिल्लाको कोल्हवी नगरपालिकाबाट सरुवा भई यहाँ आएका हुन् । यस अगाडि चितवनकै सहायक प्रमुख जिल्ला अधिकारी समेत भई कार्य गरिसकेका सुवेदी कालिका नगरपालिकामा आउन पाउँदा खुशी लागेको बताए । यस नगरपालिकालाई व्यवस्थित बनाउन र जनताको विकासको अपेक्षा पूरा गर्न आफु सधै लागिपर्ने सुवेदीले बताए ।

निर्वाचित जनप्रतिनिधि र स्थानीयको साथ र सहयोगले यस नगरपालिकाको समुन्नतीको लागि आफु सधै लागिपर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरेका थिए । स्वागत कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको विभिन्न विकास निर्माण र प्रशासनिक काम गर्न कठिनाई भईरहेको उनले बताए । कर्मचारी र जनप्रतिनिधिको साथ र सहयोगले मात्र नगरपालिकाको विकास सम्भव हुने भन्दै श्रेष्ठले सबै क्षेत्रको साथ र सहयोग लिएर काम गर्न कर्मचारीहरु र जनप्रतिनिधिहरु लागिपर्ने बताए ।

सो कार्यक्रममा कालिका नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठ, नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायण वाग्ले, नगरपालिकाका सूचना अधिकृत बलराम लुईटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया