चितवनका मृगौला पिडितलाई सहयोग हस्तान्तरण

इनेप्लिज २०७४ कार्तिक २९ गते १४:२९ मा प्रकाशित

शिशिर सिंखडा
भरतपुर, चितवन, २९ कार्तिक ।
दुवै मृगौलाले काम नगर्ने भएपछि सहयोगको याचना गरेका भरतपुर महानगरपालिका वडा नं. ११ भोजाड (सिद्वार्थचोक) निवासी ५६ वर्षिय मन बहादुर गुरुङ्गलाई आज बिहिबार सहयोग हस्तान्तरण गरिएको छ । इजरायलमा कार्यरत भरतपुर ११ भोजाड निवासी कमल गुरुङले रु १ लाख ८० हजार सहयोग गरेका हुन् । कमलले सो रकम आफ्नो बुबा हर्क बहादुर र आमा कमला गुरुङ मार्फत् मृगौला रोगी मन बहादुरलाई सो रकम पठाएका हुन् । छोरा कमलले पठाएको रकम मृगौला रोगले पिडित मन बहादुरलाई हस्तान्तरण गर्न पाउँदा खुशी लागेको कमलका बुबा हर्क बहादुर गुरुङले बताए । दुवै मृगौलाले काम नगर्ने भएको ३ वर्ष बितिसक्दा पनि उपचार गर्न नसकेका मन बहादुरले थप सहयोगको लागि सहयोगीदाताहरुसँग अनुरोध गरेका छन् ।
३ वर्षदेखि मृगौलाको डाइलोसिस गर्दै आएको छु, मन बहादुरले भने ।

मृगौला प्रत्यारोपण गर्न आर्थिक अवस्था छैन, उनले भने । सुगर र प्रेसरका समेत रोगी रहेका मन बहादुरले सुगरको औषधी खाँदै गर्दा मृगौलाको समस्या समेत देखिएकोले साह्रै पीडा भएको बताए । उपचारको लागि चितवनको भरतपुर स्थित नारायणी सामुदायिक अस्पतालमा उपचार गरेको र त्यहाँबाट काठमाडौको नर्भिक अस्पतालमा पनि लामो समय उपचार गरेको उनले बताए । राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौमा उपचारको क्रममा डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने बताए पनि आर्थिक अभावको कारण मृगौला प्रत्यारोपण गर्न नसकेको उनले बताए ।
सरकारले मृगौलाको डाइलोसिस निशुल्क गर्ने व्यवस्था मिलाए पनि एकपटक डाइलोसिस गर्नको लागि ४ देखि ५ हजार रुपैया औषधीको लागि खर्च हुने गरेको उनले बताए । मासिक उपचार खर्च रु. ४० हजार देखि ५० हजार खर्च हुने गरेको भन्दै हप्तामा ३ पटक डाइलोसिस गर्नुपर्दा साह्रै नै समस्यामा परेको मन बहादुरले बताए । मासिक औषधी पनि खानुपर्छ, खर्च धान्न परिवारलाई गाह्रो छ, उनले भने ।

६ जनाको परिवार रहेको उनको परिवारको आम्दानीको श्रोत केही छैन । दैनिक गुजारा चलाउन मुस्किल छ । श्रीमती, २ छोरा, १ बुहारी र नातीका साथ रहेको गुरुङ्ग परिवारमा मन बहादुर बिरामी भएपछि खुशीका दिनहरु हराएका छन् । श्रीमानको उपचार गर्नको लागि भएको ७ धुर जग्गापनि विक्री गर्नुपरेको उनकी श्रीमती गंगामायाले बताईन् । ऐलानी जमिनमा सानो घरमा बस्दै आएका गुरुङ्ग परिवार मन बहादुरको उपचारको लागि ३० लाख रुपैया भन्दा बढी खर्च गरिसकेको गंगामायाले बताईन् । जग्गा बेचेको पैसाले नपुगेर १५ लाख रुपैया भन्दा बढी त ऋण नै लागिसकेको छ, उनले भनिन् । मृगौला प्रत्यारोपण गर्न आर्थिक अवस्था पनि छैन, श्रीमानको लागि आफुले एउटा मृगौला प्रत्यारोपण गर्न चाहेको उनले बताईन् । प्रत्यारोपण गर्न पनि २५÷३० लाख रुपैया लाग्ने भएकोले कसरी श्रीमानको उपचार गर्ने भन्नेमा पीडामा रहेको गंगामायाले बताईन् ।
मन बहादुरको उपचारको लागि सहयोग गरिदिन सबैसँग आग्रह समेत गरिएको छ ।

भिनाजुको उपचारको लागि सबैले सहयोग गरिदिनुहुन उनको सालो लिला बहादुर गुरुङ्गले सबैसँग अनुरोध समेत गरेका छन् । बुबा बिरामी भएपछि बैदेशिक रोजगारीका लागि गएका जेठा छोरा मनोज पनि केही महिनामै दुबइबाट फर्किन बाध्य भए । ऐलानी जग्गामा सानो घर बनाई बसेका थियौं, बुबा बिरामी भएपछि झनै धेरै समस्यामा प¥यौं, जेठा छोरा मनोजले भने । भएको जग्गा पनि बेच्यौं त्यतिले नपुगेर १५ लाखभन्दा बढी ऋण नै छ, उनले भने । अहिले हाम्रो परिवार ऐलानी जग्गामा बस्न बाध्य छौं, उनले भने । बुबा भृकुटी कागज कारखाना गैडाकोटमा जागिरे हुनुहुन्थ्यो । सो कारखाना बन्द भएको पनि ८–१० वर्ष भैसक्यो । बुबाले पाउनुपर्ने करिव ५ लाख रुपैया अझै पाउन सकेका छैनौं । रकम पाएमा उपचार गर्न सहयोग हुने थियो, उनले भने । बुबाको मृगौला प्रत्यारोपण गर्न आर्थिक अवस्था नभएको हुनाले बुबाको जीवनरक्षाको लागि स्वदेश तथा विदेशमा हुनुहुने सहयागीदाताहरुबाट सहयोगको उनले याचना समेत गरेका छन् ।

बुबाको उपचारको लागि सहयोग गर्न चाहनुहुनेले मन बहादुर गुरुङ्गको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड नारायणगढ शाखाको खाता नं. ०१३८६८८४४० मा रकम सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् । साथै फोन नं. ९८१२२९९४९१ अथवा ९८४५०२६०९४ मा सम्पर्क गरी सहयोग गरिदिनुहुन छोरा मनोज गुरुङ्गले अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया