बुधबार, असोज ६ २०७८
काठमाडौं ०८:२८
वासिङटन डिसी 22:43

बन्ने भयो बाहिरी चक्रपथ, कहाँकहाँ बन्ने भयो मेगासिटी ?

इनेप्लिज २०७४ कार्तिक २९ गते १२:२५ मा प्रकाशित

बाहिरी चक्रपथ निर्माणको काम अघि बढ्ने भएको छ । चक्रपथ निर्माणको चर्चा चलेको १० वर्षअछि शहरी विकास मन्त्रालयले ७२ किलोमिटर लामो चक्रपथ निर्माणको प्रक्रिया अघि बढाएको हो ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहरी विकास मन्त्री दिलनाथ गिरीले ७२ किलोमिटर बाहिरी चक्रपथमध्ये ६.६ किलोमिटर दूरीको सतुंगल–चोभारको डिपीआर नीतिगत प्रक्रियामा गएको जानकारी दिए ।

बाहिरी चक्रपथ उपत्यकाका तीनै जिल्ला जोड्ने सरकारको महत्वकांक्षी परियोजना हो । यो चक्रपथ निर्माण गर्न सरकारले चालू आर्थिक वर्षमा १० करोड बजेट निनियोजन गरेको छ ।
मन्त्री गिरीले यो परियोजनालाई आफूले निकै महत्वका साथ अघि बढाउन लागेको बताउँदै चक्रपथको सडक ५० मिटरको हुने जानकारी दिए । उनका अनुसार राजमार्ग जस्तै केन्द्रबाट दुवैतिर २५–२५ मिटर जग्गा लिएर चक्रपथ बनाइने छ ।

यस्तै मन्त्रायलले विराटनगर–इटहरी–धरान, बुटवल–भैरहवा, कपिलबस्तु–लुम्बीनी, पोखरा–दमौली– वीरगञ्ज–सीमरा–पथलैया, हेटौडा–भरतपुर–बर्दघाट, नेपालगञ्ज–कोहलपुर तथा धनगढी गोदावरी जस्ता स्थानमा मेगासिटी निर्माणका लागि अध्ययन सुरु गरेको पनि मन्त्री गिरीले जानकारी दिए ।

यस्तै नीजगढ, पालुङटार, लुम्बीनी, धनकुटा, मिर्चैया, चन्द्रपुर काभ्रे उपत्यका, भरतपुर वालिङ, तुलसीपुर जस्ता स्थानमा स्मार्ट सिटी कार्यक्रम अघि बढाइन लागिएको छ ।

यसैगरी ९० वटा नगरपालिकामा शहरी योजना निर्माण गर्ने, शहरी क्षेत्र पुनरुत्थान कार्यक्रम, पुराना बस्ती पुनरुत्थान जस्ता कार्यक्रम पनि मन्त्रालयले अघि सारेको छ । यस्तै हाल १८ जिल्लामा एक शहर एक पहिचान पूर्वाधार विकास कार्यक्रम, तराईका १८ नगरपालिकामा पूर्वाधार विकास कार्यक्रम पनि सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया