एनआरएन अमेरिकाद्धारा हार्भी पिडित नेपाली परिवारलाई सहयोग

इनेप्लिज २०७४ कार्तिक २८ गते ०:५९ मा प्रकाशित

टेक्सास / गैर आवासिय नेपालीहरुको संगठन एनआरएन अमेरिकाको वर्तमान कार्यसमितीको एक टोलीले समुन्द्री आंधी हार्भीका कारण टेक्सासराज्य स्थित ह्युस्टन क्षेत्रमा रहेका नेपालीहरु संग भेटघाट गर्नुका साथै आर्थिक सहयोग समेत उपलव्ध गराएको छ ।

दुई महिना अघि हार्भीका कारण ह्युस्टन क्षेत्रका स सुगरल्याण्ड, रिचमण्ड लगायतका शहरमा आठ नेपाली परिवार विस्थापीत भएका थिए । एनआरएन टेक्सास राज्य शाखाद्धारा संकलित करिब ९ हजार डलर रकम एनआरएन अमेरिकाका केन्द्रिय अध्यक्ष डा. केशब पौडेलले पीडित ४ परिवारलाई हस्ताणतरण गरेका थिए ।

पीडित परिवारको संख्या ८ भएपनि ४ परिवारले आफु सक्षम भएको र अति आवश्यक परिवारलाई आर्थिक सहयोग गर्न आग्रह गरेपछि सहयोग लिनेको संख्या जम्मा चार परिवार भएको हो ।

पिडित परिवारहरुसंग उनीहरुको बर्तमान अवस्थाका बारेमा जानकारी लिंदै अध्यक्ष पौडेलले समस्यामा रहेका नेपालीहरुको सहयोगमा लाग्न एनआरएन अमेरिका सदा तत्पर रहेको बताए । टेक्सास शाखाका अध्यक्ष भानु खरेलले समुन्द्र आंधी आर्भीका कारण नेपालीहरुले भोग्नुपरेको दुखमा आफुले सानो सहयोग गर्न पाउंदा अत्यन्त खुसी लागेको बताए ।

सहयोग पाएका चार परिबार मध्येका एक निरञ्जन शर्माले बिदेशमा नेपाली समुदायबाट प्राप्त सहयोगले सात समुन्द्र पारी भएपनि नेपालमै रहेको अनुभुती भएको बताए । “आपतविपत परेका बेला एनआरएन लगायत नेपाली समुदायले सहयोग गर्दा म बिदेशमा छु जस्तो नै लाग्दैन “ शर्माले भने । पांच जनाको परिवार भएका शर्माले नौ महिना अघि मात्र किनेको घर बाढीका कारण क्षती भएको थियो ।

आफु बसेको अपार्टमेन्टमा पानी पसेर क्षतीग्रस्थत भएपछि बिस्थापीत भएका शालिन शर्माले एनआरएन अमेरिकाको यो सहयोगले कृतज्ञ भएको बताए ।” हामी समस्यामा रहेको बेला प्रत्येक सहयोगले ठुलो अर्थ राख्छ “ शालिनले भने । हाल सम्म पनि आफु ससुराको घरमा अस्थाई रुपमा बसिरहेको शालिनले बताए ।

तस्बिर :सौगात पण्डित

प्रतिक्रिया