आकर्षक योजनासहित मन्त्री साहको प्रतिबद्धतापत्र सार्वजनिक

इनेप्लिज २०७४ कार्तिक २४ गते १९:०२ मा प्रकाशित

सञ्जय मित्र, रौतहट
विना विभागीय मन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले आफ्नो क्षेत्रको विकासको लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । जिल्लामा विकासवादी नेताको रुपमा आफ्नो पहिचान कायम गरेका मन्त्री साहले रौतहटको विकासलाई नमूनाको रुपमा गर्ने बताएका छन् ।
रौतहट क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका मन्त्री साहले माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई साइकल उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । पुरानो क्षेत्रका करिब सबै छात्रालाई साइकल उपलब्ध गराइसकेका साहले क्षेत्रका सबै स्नातक छात्रालाई ल्यापटप उपलब्ध गराउने प्रतिबद्धता सार्वजनिक गरेका छन् । छात्रालाई साइकल र ल्यापटप प्रदान गरेपछि महिला शिक्षामा गुणात्मक विकास हुने मन्त्री साहको दाबी छ ।

क्षेत्रलाई नै फुसको घरमुक्त बनाउने मन्त्री साहको योजना रहेको छ । यसै सबै विपन्न गरिबलाई घर उपलब्ध गराउने योजनाअन्तर्गत क्षेत्रलाई नै फुसको छाप्रोमुक्त बनाइने बताएका छन् । यसै गरी हरेक भान्छालाई धुवाँमुक्त बनाइने पनि साहको प्रतिबद्धतामा रहेको छ । धुवाँयुक्त चुलोको ठाउँमा सिलिन्डर राखिने र यसको लागि गरिब विपन्न परिवारका सबैलाई सिलिन्डर प्रदान गरिने योजना छ । गत एक महिनामा मौलापुर नगरपालिकाका अधिकांश विपन्न परिवारलाई सिलिन्डर उपलब्ध गराइएको उदाहरण दिँदै आचार संहिताले नरोकेको भए केही दिनमै मौलापुर नगरपालिका चुल्होको धुवाँमुक्त बन्ने मन्त्री साहको भनाइ छ ।
रौतहट क्षेत्र नम्बर ३ को हरेक गाउँलाई राजमार्गसित जोड्ने महत्वाकांक्षी योजना पनि मन्त्री साहको प्रतिबद्धतापत्रमा रहेको छ । गत पाँच वर्षमा पुरानो क्षेत्र नम्बर ३ का अधिकांश गाउँलाई राजमार्गसित जोडेर सडक र पुलको विशाल सञ्जाल नै खडा गरेका मन्त्री साहले भौतिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राखेर विकासको सबै सम्भावनाको अध्ययन गर्ने बताएका छन् ।

क्षेत्र नम्बर ३ को मुख्य बजारको रुपमा रहेको कटहरियालाई तराईको दश सहरमध्ये एक बनाइने पनि बताएका छन् । कटहरियालाई चारैतिरबाट राजमार्गसित जोडेर चारैतिरको ट्रान्जिटको रुपमा विकास गरिने बताएका छन् ।
कृषि, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा अभूतपूर्व विकास हुने दाबी सहितको प्रतिबद्धतापत्रमा मन्त्री साहले क्षेत्रका विभिन्न बजारलाई फ्रि वाइफाई जोनको रुपमा विकास गरिने पनि बताएका छन् । कला, भाषा, साहित्य, संस्कृति र खेलकूदको क्षेत्रमा निरन्तर काम गर्दै आएका मन्त्री साहले हरेक नगरपालिकामा एउटा खेलकूदको व्यवस्थित मैदान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्लामा वाम गठबन्धनको लागि सबैभन्दा सहज मानिएको रौतहट क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका सुनिलकुमार यादव र फोरम–राजपा गठबन्धनबाट ओमप्रकाश साह प्रतिस्पर्धामा रहेका छन् । मन्त्री साहको प्रतिस्पर्धा यादवसित हुने बताइन्छ ।

मन्त्री साहको प्रतिबद्धतापत्रमा हरेक गाउँमा राजमार्ग, घरघरमा नाला, बकैया र बागमतीमा मजबुत बाँध, लाडसेडिङमुक्त विद्युतीकरण, खेतखेतमा सिंचाइ, प्रत्येक बजार स्मार्ट बजार, प्रत्येक झोपडीलाई मकान, प्रत्येक वार्डमा मावि र केन्द्रमा कलेज, प्रत्येक नगरमा जिल्ला अस्पताल, थप राजनैतिक अधिकार, हरेक व्यक्तिलाई नयाँ सीप, आधुनिक खेती र किसानलाई पेन्सन, प्रत्येक ठाउँमा फ्रि वाइफाई, ग्यास चुल्हो र सिलिन्डर प्रत्येक घरलाई, प्रत्येक नगरमा राष्ट्रिय बैंक, एक व्यक्ति एक खाता, सुरक्षामा सबैको पहुँच र सामाजिक सम्मान, माविका छात्रालाई साइकल र कलेजकालाई ल्यापटम दिने उल्लेख गरिएको छ ।
प्रतिबद्धतापत्रमा केही असम्भव कुरो रहेको विषयमा प्रतिक्रिया माग्दा मन्त्री साहले आफ्नो प्रतिबद्धतापत्रमा सबै व्यावहारिक प्रतिबद्धतामात्र रहेकोले असम्भव कुनै पनि नभएको बताएका छन् ।

प्रतिक्रिया