एनआरएन विश्व सम्मेलनमा अमेरिकी सांसद पेइन सहभागी हुने

इनेप्लिज २०७४ असोज १४ गते ५:४० मा प्रकाशित

वाशिङटन डिसी । अमेरिकी प्रतिनिधि सभाका एक प्रभावशाली सांसद नेपाल र अमेरिकाको सम्बन्धमा थप गाढापन ल्याउने उद्देश्यका साथ एनआरएन आइसिसीको आठौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशनमा अतिथिको रुपमा भाग लिन जानु हुने भएको कुरा बुझिएको छ ।

प्राप्त समाचार अनुसार अमेरिकी प्रतिनिधि सभामा न्यू जर्सी राज्यबाट प्रतिनिधित्व गर्नु हुने प्रभावशाली अमेरिकी युवा सांसद डोनाल्ड एम पेइन जुनियरले नेपाल भ्रमण गर्ने निधो गरिसक्नु भएको छ ।
पेइनलाई विशेष अतिथिको रुपमा उपस्थित गराउन एनआरएन अमेरिकाका नव निर्वाचित अध्यक्ष केशव पौडेलको तर्फबाट सल्लाहकार एवं भर्जिनिया डेमोक्रेडित पार्टीका युवा नेता हरि शर्मा र एनआरएन भर्जिनिया च्याप्टरका अध्यक्ष गोविन्द सुवेदीले डीसी स्थित उहांको कार्यालयसंग पटक पटक भेटघाट र वार्ता गर्नु भएको थियो ।

सांसद पेइनको संभावित भ्रमणको बारेमा उहांका मुख्य सचिव लाभर्न अलेक्ज्याण्डरले शर्माको पहल टोलीलाई निधो दिनु भएको पनि बुझिएको छ ।
साथै काठमाडौंको एनआरएन आइसीसीको सम्मेलनमा नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टोप्लिजका साथै अमेरिकी विदेश विभागका विशिष्ट अधिकारीहरुको पनि सहभागिता हुने बताइएको छ ।
एनआरएन आइसीसीको गत साल न्यू जर्सीमा भएको क्षेत्रीय विश्व सम्मेलनमा पनि विशेष अतिथिको रुपमा सहभागी भएका सभासद पेइन नेपाल र नेपालीप्रति विशेष अभिरुचि राख्दछन् ।

सांसद पेइनले आफू नेपालको लागि सहयोग पुर्याउनका लागि अमेरिकी संसदमा केही समय अगाडि बनाइएको ककसमा पनि सहभागी हुन इच्छुक हुनु भएको र यस तर्फ नेपाली दूताबासले पनि विशेष पहल गर्नु पर्ने सुझाव दिनु भएको पनि बुझिएको छ ।
एनआरएन मार्फत आफू नेपालको भौतिक, शैक्षिक एवं आर्थिक विकास, मानव अधिकार तथा गरीवी निवारण जस्ता विषयमा काम गर्न इच्छुक भएको कुरा पनि उहांले बताउनु भएको छ ।

उहांको भ्रमणको लागि आवस्यक लजिष्टिकहरुको सम्बन्धमा अधिवक्ता एरिका ए नर्थिङटन संग परामर्श गरिएको कुरा पनि पहलकर्ता शर्माले जानकारी गराउनु भयो ।

अमेरिकामा आन्तरिक सुरक्षा, शिक्षा र बालबालिका सम्बन्धी राम्रा विधेयकहरु ल्याएर पारित गराउन सक्षम हुनु भएका सांसद पेइन दलीय सहमतिको बाटो खोज्न सक्ने नेताको रुपमा पनि चिनिनु हुन्छ । डेमोक्रेटिक पार्टीबाट न्यू जर्सीको १० नं क्षेत्रबाट तेस्रो पटक निर्वाचित हुनु भएका उहां न्यू जर्सी र न्यु योर्क क्षेत्रका नेपाली समुदायसंग धेरै नै घुलमिल हुनुहुन्छ ।

नेपाल सरकार र एनआरएन जस्ता संस्थाहरुले अमेरिकी नीति निर्माता र उच्च अधिकारीहरुलाई यथेष्ट रुपमा सहभागी नगराउने हो भने नेपालले ब्यापार, पर्यटन तथा नेपाली इन्टरेष्टको क्षेत्रमा काम गर्न नसक्ने मात्र हैन हालै घोषणा गरिएको ५० अर्वको ऐतिहासिक मिलेनियम प्याक पनि संकटमा पर्न सक्ने विश्लेषकहरु बताउछन् ।

प्रतिक्रिया