अमेरिकाको छैठौ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष घलेले भिजन २०२० नामक मार्गचित्रलाई अझै जोडका साथ उठान गरेका थिए । लाप्राक नमुना वस्ती र संघको भवन निर्माणमा खटिइरहेका घलेले गैरआवासीय नेपाली संघ संस्थागत हुने कि कुनै एक ब्यक्तिको वरिपरि घुम्ने भन्ने कुरा गैरआवासीय नेपालीहरुले छनौट गर्नु पर्ने बताएका थिए l
उनले मन्तब्य राख्ने क्रममा ‘यदि हामीले अबको १० वा २० वर्षमा संस्था कस्तो बनाउने भन्ने योजना बनाउन सकेनौं, त्यही अनुसारको सिस्टम बनाउन सकेनौं भने संस्था केही सिमित ब्यक्तिको वरिपरि घुमिरहने छ भने आम गैरआवासीय नेपालीहरु निश्चित ब्यक्तिको इसारामा चल्नुपर्ने बिडम्बनापूर्ण स्थिति आउने छ ।’ घलेले चेतावनीको शैलीमा भने ।
एनआरएनको इतिहासमा पहिलोपटक एनआरएनको मतबाट अध्यक्ष चुनिएका शेष घलेले त्यसयता गरेका कामबाट संस्थाका केही पूर्व अध्यक्षहरु निकै चिन्तित, निरास र आक्रोशित भएको बुझिन्छ ।
पछिल्ला दुई तीन बर्षमा एनआरएनका भित्री कोठे बैठकहरुमा भन्ने गरेका छन्- शेष घलेलाई अध्यक्ष बनाउनु गल्ती भयो । नजानेरै गल्ती गरियो अब सुध्रिनुपर्छ भन्ने कुरा चल्ने गर्दछ l
आम गैरआवासीय नेपालीहरुले घलेको नेतृत्वमा एनआरएनएको छवि निकै माथि पुर्याइदिएको भन्दै खुसी ब्यक्त गरिरहेका बेला केहि पूर्व अध्यक्षहरु किन गल्ती गरियो भनि रहेका छन् ? आफ्नो दुई कार्यकाल सकेर नेतृत्वबाट बिदा लिने बेलामा फेरि शेष घलेमाथि प्रहार हुन थालेको छ- उसलाई नेतृत्वमा ल्याएर गल्ती गरियो । उनीहरुको निचोड छ- ‘अब हामीले जुन मादल बजायो, त्यही तालमा नाच्ने मान्छे ल्याउनुपर्छ ।’
हुनत, सन् २०१३ मा घलेलाई सजिलै नेतृत्वमा आउन दिएका हैनन् । आफुभन्दा सक्षम मानिस एनआरएनमा नआवोस् र आफ्नो बर्चस्व सधै राख्न पाइयो भन्ने चाहेका शेषको छविले आफुहरुलाई छायांमा पार्ने उतिबेलै बुझिसकेका थिए । त्यसैले अन्तिम समयसम्म पनि घलेलाई रोक्न रामेश्वर साहलाई बोके । तर, चुनाव हुने स्थितिमा ५० भोट पनि नआउने देखेपछि बाध्य भएर पछि हटेका थिए l
शेष घलेलाई नेतृत्वमा ल्याउन चाहे पनि त्यसको भित्री स्वार्थ चाहिं सोझो घलेले आफूले जे भन्यो त्यही मानिहाल्छ भन्ने ठानेका थिए । तर, उनीहरुका आदेश मान्न घले तयार नभए पछि उनीहरुले गल्ती भयो स्वीकार गरेका छन् l
चार बर्षे कार्यकालमा घलेले के के गल्ती गरे त ? उनी माथि यस्ता गल्तीहरु औल्याईएका छन् l
१. संस्थालार्इ बलियो बनाउन खोज्नु
घले नेतृत्वमा आउनु अगाडी गैरआवासीय नेपाली संघ हावामा उडिरहेको थियो । नेपालमा दर्ता नै थिएन, त्यसैले यसले गर्ने काम पनि बैधानिक थिएनन, कानुनी हिसावले ।
हामी देशलाई धनी बनाउँछौं भन्दै उल्टै नेपालबाट यो चाहियो र त्यो चाहियो भन्ने माग चाहिं गर्ने तर केही पनि डेलिभरी दिन नसक्ने गफाडीहरुको क्लवका रुपमा एनआरएन नेपाली मिडियाहरुमा बदनाम भैसकेको थियो । एनआरएनलाई दशैंमा आएर रमाइलो गर्ने र राज्यको पैसा खाने फटाहा भन्दै मिडियामा निरन्तर आलोचना हुन्थ्यो ।
यो अबस्थालाई फेर्न उनले संस्था दर्ता मात्र हैन, यसको संरचना र स्वरुपलाई पनि प्रचारमुखी हैन कि कामकाजी बनाउने कोसिस घलेले गरे । पद सम्हाल्ने बित्तिकै उनले संस्थागत सुधारका लागि एउटा कमिटि बनाए । त्यसको सुझाव बमोजिम धेरै स्थायी प्रकारका कमिटिहरु निर्माण भए, अस्थायी टास्कफोर्सलाई कमिटीमा रुपान्तरण गरिए । कुन कमिटिले के काम गर्ने भन्ने टाइमलाइन सहित कार्ययोजना अगाडी बढाए । तर, सुरुमै उनले चर्को बिरोधको सामना गर्नुपर्यो । संस्थापक अध्यक्षको बाहुलीबाट बनाइएका कमिटिको नाम फेर्न हुंदैन भन्ने शैलीमा संस्थाका कोषाध्यक्ष र महासचिवले बिरोध गरे, मनोनयनहरुमा पनि अबरोध गरे ।
संस्थागत गर्ने अभियानको अन्तिम कडीका रुपमा घलेले यतिबेला भिजन २०२० एण्ड बियोण्ड प्रस्ताव गरेका छन् । यो पारित भएमा सिमित धनीहरुको हातमा नेतृत्व जानुको सट्टा पैसा नभएका तर समय भएका एनआरएनहरु पनि अध्यक्ष बन्न सक्छन, संस्था स्रोत सम्पन्न र बलियो हुन्छ ।
२. भवन बनाउन खोज्नु
एनआरएनले देशलाई धनी बनाउने त भन्थ्यो तर उ आफै नेपाल उद्योग बाणिज्य महासंघले अनुदानमा दिएको एउटा कुनोमा थन्किएर बसेको थियो । यस्तो दरिद्र अबस्था घलेलाई चित्त बुझेन । उनले पहिलो बैठकमै भवन निर्माण गर्ने घोषणा गरे र आफ्नो तर्फबाट १ करोड रुपैयाँ अनुदान दिए ।
जब भवन निर्माणको कार्य अगाडी बढ्यो, तब त्यसलाई रोक्न बिभिन्न बहाना गरियो l एनआरएन दरिद्र छन्, पैसा उठाउन सक्दैनन, तिमी पाँच करोड उठाएर देखाउ, पाँच करोड थपिदिन्छु भन्दै चुनौती दिईयो । तर जब घलेले भवन निर्माणका लागि रकम संकलन अभियानै चलाउन थाले त्यसपछि चाहिं भैंसेपाटीमा जग्गा किनि दिन आग्रह गरियो तर घलेले एनआरएनको भवन शहरको केन्द्रमै हुनुपर्ने भन्दै त्यसलाई अस्वीकार गरे ।
आफ्नै नाममा एनआरएन भवन बनाए आफुले बनाइदिने भन्दै प्रलोभन दिएर रकम संकलन अभियान रोक्न खोजेपनि त्यो सफल हुन सकेन । जग्गा किनेर भवन बनाउन थालेपछि पनि अनेक कानुनी झमेला सिर्जना गर्नुलाई कतिपयले उनको त्यही असन्तोषको रुपमा लिएका छन् ।
३. धन्दा चलाउने हैन, परोपकारी काम गर्नु
एनआरएनए को स्थापना काल का केहि समय सम्म एनआरएन भनेको नेपालका शक्तिसम्पन्न मानसिसँग पहुच बनाउने माध्यम थियो । त्यही पहुंचको उपयोग गर्दै एनआरएनका अगुवाहरुले कौडीको मूल्यमा बिभिन्न संस्थानका लाइसेन्स हात पारि त्यसको फाईदा उठाएका संचार माध्यममा समाचार नआएको पनि हैन l
तर, घलेले नेतृत्व लिएसँगै एनआरएनलाई ब्रोकरको हैसियतबाट फेरेर परोपकार केन्द्रीत संस्थामा परिणत गरिदिए । भूकम्पका बेला राहत बितरण, लाप्राक नमुना वस्ती, नाकाबन्दीका बेला मानवीय सहयोग, बाढीपीडितलाई फिल्डमै पुगेर राहत बितरण लगायतका काममा उनले फोकस गरे । न की उनले एनआरएनका नेतृत्वका तहका ब्यबसायिक काममा दवाब र प्रभावको नीति लिए ।
४. नागरिकताको बार्गेनिङ समाप्त गरिदिनु
एनआरएनको मुख्य माग थियो नेपाली नागरिकता । तर, लामो समयसम्म पनि नागरिकताको माग सम्बोधन हुन सकेको थिएन । त्यसको पछाडी मुख्य कारण थियो-एनआरएनको माग प्रष्ट नहुनु । घलेले एनआरएनलाई राजनीतिक अधिकारबिनाको नागरिकता दिनुपर्ने प्रष्ट माग राखेपछि त्यसमा राजनीतिक नेतृत्व पनि सहमत भयो । तर, जब नागरिकता दिने बिषयमा सहमति जुट्यो तब संस्थापक महतोले याक एण्ड यतिको अन्तरक्रिया कार्यक्रममा भने- हामीलाई नागरिकतै चाहिएको छैन, यो बेकार हो ।
नागरिकताको बार्गेनिङ गर्ने तर नागरिकता नलिने, नागरिकताको नाममा राजनीतिक पद हत्याउने भित्री मनसुवा घलेले जरैदेखि उखेलिदिएपछि केहि संस्थापकहरु दुःखी छन् भने लाखौं वास्तविक एनआरएनले अब नागरिकता पाउने सुनिश्चित भएको छ ।
५. धनीहरुको क्लव बनाउन छाडेर ६० हजार मेम्बर बनाएर सवैको बनाउन खोज्नु
६० लाख बिदेशमा बस्ने नेपालीको नाम बेचेर शक्ति आर्जन गर्ने तर बहुसंख्यक एनआरएनलाई सहभागी बनाउने बिषयमा उनको उदासिनता थियो । तर, घलेले सदस्यता अभियानलाई तिब्र पार्दै ६० हजार सदस्यता पुर्याइदिए । धेरै मानिस सदस्य भएपछि उनीहरुको चासो बढेको, एनआरएनमा निर्वाचन प्रणाली स्थापित भएको र आम मानिसले चुनेको मान्छे पदमा पुगेको उनलाई चित्त बुझेको छैन् । उनीहरु अझै भन्दैछन- नेतृत्वको हातमा शक्ति हुनुपर्छ, भिडको पछाडी लागेर काम छैन, एनआरएन अब गलत बाटोमा गयो ।
६. अग्रजलाई मानका नाममा उनीहरुका गलत आदेशको पालना नगर्नु
केहि पूर्व अध्यक्षहरुका कुरा शेषले मान्दैन भन्ने सोचेका पनि थिए । त्यसैले उनलाई सुरुमै रोक्ने पनि प्रयास नभएको हैन । निर्वाचित भएपछि आफु अनुकुल निर्णय गर्न दबाब दिँदा घलेले मानेनन् । चाहे भवन बनाउने कुरा होस्, चाहे सदस्यता बढाउने कुरा, चाहे लाइसेन्समा लविङ नगर्ने कुरा । यी सवैमा शेषले आफ्नो आदेश नमानेको आक्रोश देखिन्छ । अहिले त्यही आक्रोशलाई सैद्धान्तिकरण गर्दै भन्न थालिएको छ- ‘अग्रजलाई मान दिइएन, स्पेश दिइएन ।’
७. शेष घलेले ठूलो रकमका परोपकारी काम गर्नु
पशुपतिमा दुई करोडको लागतमा किरियापुत्री भवन बनाएका संस्थापक अध्यक्षका आफ्ना लगानी भएका मिडियाहरुमा एंकर स्टोरी छापियो । तर त्यो भन्दा ठुलो शेष र जमुना गुरुङले नेपालको स्वास्थ्य र शिक्षामा परोपकारी काम गर्ने भन्दै नेपालकै सवैभन्दा ठूलो परोपकारी कोष स्थापना गरे । शेषले भने परोपकारी काम गर्न थाले । जनताले जब असली परोपकारी चिने ।
८. गफ हैन, वास्तविक लगानी ल्याउनु
झण्डै १० अर्ब रुपैयाँको वास्तविक लगानी घलेले नेपाल भित्राए । त्यसपछि मात्र एनआरएनलाई गफाडीहरुको क्लव भन्नेहरुको मुखमा बुझो लाग्यो, आम एनआरएनहरुले लगानीकर्ताको हैसियत पाए । त्यो नै नेपालमा गैरआवासीय नेपालीले गरेको सवैभन्दा ठूलो लगानी थियो ।
९. अर्बौंका लगानीमा लविङ नगरिदिनु
नेपालमा पटक पटक समाचार र सोसल मिडिया मार्फत एनआरएनए का संस्थापकहरुका संचार कारोबारको बिषयलाई लिएर बिदेशीलाई बेचेको कुराको चर्चामा आयो l यस्ता कुरामा सँस्था सँग आबद्ध हुँदा गाल पर्ने हुनाले घले अध्यक्ष भए पछि घलेले पक्ष र विपक्षमा कसैको पक्ष या विपक्ष लिएनन् l यस्ता कुरामा घलेले कसैलाई साथ नदिए पछि घलेलाई सरसल्लाहमा नबोलाईएको श्रोतले दाबी गरेको छ l
१०. संस्थाको इज्जत, भरोसा र बिश्वास बढाउनु
देशलाई दुःखेको बेला भरपर्दो साथी एनआरएन हो भन्ने आम नेपालीमा अहिले गहिरो भरोसा छ । दुई चार लाख संकलन गरेर प्रधानमन्त्रीसंग फोटो खिचाउनुको साटो जोखिम मोलेर आफै गाउँगाउँ पुगेर राहत बितरण नयाँ परिपाटी सुरु भयो । भूकम्प, बाढी पहिरो, नाकाबन्दी जस्ता बिपतमा सवैभन्दा धेरै रकम सहयोग गर्ने र सवैभन्दा पहिले राहत लिएर पीडितकहां पुग्ने भरोसा योग्य संस्था बन्यो एनआरएन ।
संसारभरका नेपालीले भूकम्पपीडितलाई राहत संकलन गर्दा संस्थापक रामदेवको सहयोग बांडेर बसिरहेको संचार माध्यमका समाचारमा छापियो l यसरी एनआरएनलाई सिमित ब्यक्तिको मुठ्ठीमा राख्न नदिएर आम मानिसको भरोसा बनाउनु घलेको गल्ती थियो ? सायद यिनै असल काम गर्नु संस्थापकहरूको नजरमा घलेको दोष होला ।
त्यही भएर अहिले भन्दैछन्- शेषलाई ल्याएर गल्ती गरियो, अब त्यस्तो गल्ती गर्नु हुन्न । त्यही भएर उनले छानीछानी काम नगर्ने र होस्ल्याङे चरित्रका मानिसलाई सर्मथन गर्दै संस्थालाई कमजोर पार्ने षडयन्त्रमा छन् । मादल बजाउने र नयाँ नेतृत्वले ताल मिलाएर नाच्ने दिन देख्न धेरै दिन पर्खिनुनपर्ने भो l
यी कुराहरुको अनुभव र अनुभूति गरेका हुनाले आम गैरआवासीय नेपालीहरु निश्चित ब्यक्तिको इसारामा चल्नुपर्ने बिडम्बनापूर्ण स्थिति आउने छ भन्दै अध्यक्ष घलेले चेतावनीको शैलीमा अमेरिकाको छैठौ बार्षिक साधारण सभामा गम्भीर भएर आफ्नो कुरा राखे l
रोशन सिग्देल ,काठमाडौँ ,यो लेखक को निजी विचार हो l
तस्बिर :विक्रान्त मान श्रेष्ठ ,बाल्टिमोर
प्रतिक्रिया