चितवनको रत्ननगरमा शुभकामना आदानप्रदान कार्यक्रम, आर्थिक समृद्धिको लागि सहकार्य गर्न तयार – मेयर वन

इनेप्लिज २०७४ असोज ९ गते १५:२८ मा प्रकाशित

शिशिर सिंखडा
रत्ननगर चितवन, ९ असोज ।
रत्ननगर उद्योग वाणिज्य संघ रत्ननगर चितवनको आयोजनामा आज विजयादशमी, दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । रत्ननगर क्षेत्रका उद्योगी, व्यवसायी, राजनैतिक दलका पार्टी प्रतिनिधि, नगरका विभिन्न वडाका वडाध्यक्ष, सामाजिक संघ संस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको कार्यक्रम संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको थियो ।

आर्थिक समृद्धिको लागि सहकार्य गर्न तयार – मेयर वन

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर नारायण वनले आर्थिक विकास विना देशको विकास नहुने भन्दै आर्थिक विकासको लागि सम्पूर्ण उद्योगी, व्यवसायीहरु लाग्नुपर्ने बताएका थिए । विश्वका धनी देशहरु आर्थिक क्रान्तिबाट मात्रै सम्पन्न भएको भन्दै मेयर वनले आर्थिक समृद्धिको लागि सबै एकजुट हुनुपर्ने बताएका थिए । यस नगरको विकास निर्माण गर्न, आर्थिक समृद्धिको जस्तोसुकै कार्य गर्न पनि नगरपालिकाले उद्योग वाणिज्य संघसँग सहकार्य गरिरहेको र फेरी पनि सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।

कार्यक्रमका विशिष्ठ अतिथि नगरपालिकाकी उपमेयर बिमला दुवाडीले निजी क्षेत्र र उद्योग वाणिज्य संघको सहकार्यबाट यस नगरलाई व्यवस्थित र समृद्ध नगर बनाउन सकिने बताईन् । चितवन उद्योग संघका जिल्ला उपाध्यक्ष भेषराज दवाडीले पर्यटकीय क्षेत्रको रुपमा परिचित चितवन देशकै आर्थिक केन्द्रविन्दुको रुपमा अगाडि बढेको बताउँदै यहाँ औद्योगिक क्षेत्रको निर्माण गरी चितवनलाई औद्योगिक नगरीको रुपमा समेत परिचित गराउन सकिने बताए । उनले पर्यटकीय धार्मिक क्षेत्र, कृषि पर्यटनको क्षेत्रको रुपमा पनि चितवन अगाडि बढेको बताउँदै हरेक क्षेत्रबाट उर्जाशील रहेको चितवनको सम्भावना धेरै रहेकोले सबैको साथ र सहयोगले समृद्ध चितवन निर्माण गर्न सकिने बताए ।

कार्यक्रममा क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे, रेष्टुरेन्ट एण्ड बार एशोशियसन (रेवान) चितवनका अध्यक्ष गोकर्ण गिरी, संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, पूर्व अध्यक्षहरु नारायणकाजी श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ, नेपाली कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरे, माओवादी केन्द्र रत्ननगर इञ्चार्ज कञ्चन खनाल, संघका महासचिव निराजन खनाल, उद्योगतर्फका उपाध्यक्ष रघुनाथ भट्ट, पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया