मास्को, १६ सेप्टेम्बर २०१७ (शनिश्चरवार) । रूसको राजधानीको उत्तरी क्षेत्रमा पर्ने ओत्राद्नोए इलाकामा खोल्सोसहितको रमणीय पार्ककै छेउमा रूसी चर्च र मुस्लिम मस्जिद समेत रहेको ठाउँमा मास्को बौद्ध समाजको अग्रसरतामा निर्मित संबोधी बौद्धस्तुपको प्राणप्रतिष्ठा र समुद्घाटन समारोह सुसम्पन्न भएको छ ।
रूस महासंघअन्तरगतका बौद्धधर्माबलम्बीहरूको बाहुल्य रहेका तीन संघटक क्षेत्र (बु¥यातिया, काल्मिकिया, तुभा) का साथै तिब्बत, भारत, श्रीलंका, म्यानमार (बर्मा), थाइल्याण्ड, भियतनाम आदि देशका बौद्धभिक्षुहरूको समेत समुपस्थितिमा बिहानैदेखि बौद्धस्तुपमा पाठपूजा सम्पन्न गरिएको थियो ।
मध्यान्ह १२ बजे संबोधी स्तुपको औपचारिक उद्घाटन समारोहको शुभारम्भ गर्दै मास्को बौद्ध समाजकी अध्यक्ष दुल्मा शाग्दारोभाले सम्मानित अतिथिहरू तथा समारोहमा भेला भएका रूसलगायत विभिन्न देशका बुद्धधर्मका अनुयायी जनसमुदायको हार्दिक स्वागत गर्नुका साथै मास्कोमा संबोधी स्तुप (रूसी भाषामा – स्तुपा प्रोस्वेत्लेनिया), बौद्धस्तुप निर्माणार्थ विभिन्न प्रकारले सहयोग गर्ने विख्यात गायक इओसिफ कोब्जोन र चन्दा प्रदान गरेर भौतिक तथा नैतिक समर्थन पु¥याउने सम्पूर्ण दाताहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो र यसै स्थलमा भविष्यमा निर्माणाधीन बौद्धविहार बनाउने पुनित कार्यमा पनि यस्तै सकृय सहयोग प्राप्त भइरहने आशा व्यक्त गर्नुभयो । महामना भिक्षु खुन्दालिन रिन्पोचेबाट दलाईलामाको आशिर्वचनका साथै शुभेच्छा सन्देश सुनाइएको थियो भने बु¥यातियाली भिक्षु लामा दाशेइनिमाबाट रूसको बौद्धधर्म संघको प्रतिनिधित्व गर्दै शुभकामना व्यक्त गरिएको थियो । मास्को सरकारअन्तर्गतको राष्ट्रिय नीति विभागका प्रमुखले रूसका चार प्रमुख धर्महरूमध्ये मास्कोको भूमिमा अर्थाडक्स क्रिश्चियन, इस्लाम, यहुदी धर्मका गिर्जाघर, मस्जिद र सिनागोग मन्दिरहरू भए तापनि बुद्धधर्मको प्रतीक स्तुपको अभाव खट्किरहेको थियो, तर आज मास्को बौद्ध समाजकी अध्यक्ष दुल्मा शाग्दिरोभाको अथक प्रयासबाट मास्कोमा पनि सेन्ट–पिटर्सबुर्गमा जस्तै बौद्धस्थल देखापरेकोमा अपार हर्ष लागेको छ भन्ने अभिव्यक्ति दिएका थिए ।मास्कोमा बौद्धस्तुपको उदघाटन समारोहमा उपस्थित रूसका लागि नेपाली राजदूत श्री ऋषिराम घिमिरेज्यूले आफ्नो मन्तव्यमा ‘बुद्धको जन्मभूमि नेपालको प्रतिनिधित्व गर्दै यहाँ उपस्थित हुन पाएकोमा लाई ज्यादै खुशी लागेको छ’ भन्नु हुँदै निमन्त्रणाका लागि आयोजकहरूप्रति कृतज्ञता जनाउनुका साथै आतङ्क, उग्रवाद, भोकमरी आदि विभिन्न समस्याहरू सामना गरिरहेको आजको विश्वमा बुद्धको उपदेश ज्यादै उपयोगी सिद्ध हुनसक्ने संङ्केत गरिएको थियो । महामहिमज्यूको सारगर्भित मन्तव्यको अनुवाद गैरआवासीय नेपाली संघ रूसका निवर्तमान अध्यक्ष मीनानाथ राजभण्डारीबाट गरिएको थियो ।
समारोहमा विभिन्न आमन्त्रित व्यक्तिहरूले मन्तव्य दिनुका साथै मास्को बौद्ध समाजकी अध्यक्ष दुल्मा शाग्दारोभाले क्रमशः निक्खर सेतो पवित्र खादा पहिराइदिएर सम्मान–सत्कार गर्नुभएको थियो । मास्को महानगरीमा बौद्धस्तुपको उदघाटन समारोहमा बु¥यातिया, काल्मिकिया र तुभाका कलाकारहरूबाट आ–आफ्नो राष्ट्रिय पहिरनमा लोकनृत्य, ‘ओम मणि पद्मे हुँ’ को बोलमा धार्मिक नाचगान पनि प्रस्तुत गरेका थिए । आमन्त्रित पाहुनाहरूका लागि चियापानको पनि व्यवस्था गरिएको थियो । मास्कोमा बौद्ध स्तुपको प्राणप्रतिष्ठा समारोहको समाचार रूसका विभिन्न आम संचार माध्यमहरूले प्रसारणार्थ त्रेलिभिजन क्यामरामा खिचिरहेका थिए । यस महत्वपूर्ण परिघटनाको जीवन्त प्रत्यक्ष समाचार रूसको केन्द्रीय टेलिभिजन ‘रसिया–१’ कार्यक्रममा प्रसारित गरिएको थियो ।समारोहको औपचारिक खण्डको समाप्तिपश्चात् यसै केन्द्रीय टेलिभिजनकी संवाददाता आन्नाले मसित सानो अन्तवार्ता लिएकी थिइन् । मैले उनका प्रश्नको उत्तर दिने क्रममा यहाँ हाल अस्तित्वमा आइसकेको रञ्जना नेपालाक्षरमा बौद्ध मूलमन्त्र ‘ओम मणि पद्मे हुँ’ अङ्कित धातुको विशाल माने घुमाउँदै ५ फन्को लगाएर नजिकै रहेको सामान्य चैत्यसंग हूबहू मिल्ने एउटा चैत्य म जन्मेको काठमाडौं उपत्यकाको थान्कोट (शोणितपुर) मा पनि छ भन्ने जनाउनुका साथै मास्को महानगरीको यस पवित्र स्थलमा भविष्यमा बौद्धविहार समेत निर्माण गरिने योजना रहेको जनाउ दिएर त्रिरत्न (बुद्ध, धर्म, सङ्घ), त्रिलोक (स्वर्ग, मत्र्य, पाताल) तथा त्रिकाल (भूत, वर्तमान, भविष्य) को प्रतीक बौद्धस्तुपको धार्मिक महत्वबारे समेत संक्षेपमा प्रकाश पारेको थिएँ ।
बौद्धस्तुपको उद्घाटन समारोहका अतिथिहरूलाई स्तुपभित्र प्रवेश गर्न दिइएपछि मैले प्रवेशद्वारबाट भित्र पसेर हेर्दा सहस्रबुद्ध प्रकट भएभैंm चारैतिरका भित्तामा पंक्तिबद्ध गरी लहरै राखिएका समान आकार–प्रकारका धातुका बुद्धप्रतिमाहरू देखेर छक्क पर्दै तर्कना गर्न थालें ः ‘परिक्रमा गर्दा बीचमा पर्ने मध्यस्थलमा अग्लो मण्डप खाली नै रहेछ । त्यस अग्लो मण्डपमा नेपालका प्रख्यात शिल्पकारहरूले बनाएको ढलौटको ठूलो बुद्धमूर्ति राख्न पाए क्या राम्रो हुन्थ्यो ! तर कसले राखिदेला र ?..’ मनमनै यस्तो सोच्दै भित्ताका बुद्धप्र्रतिमाहरू र दर्शकहरूको फोटो खिंच्न थाल्दा मेरा चिरपरिचित दुल्मा साग्दारोभा एक भारतीय अतिथिको साथमा मेरो अगिल्तिर झुल्किइन् । ‘मेरा चिरपरिचित नेपाली मित्र’ भनेर उनले मेरो परिचय दिंदा मलाई निकै खुशी लाग्यो । वास्तवमा म चार दशक पहिलेदेखि नै उनीसंग परिचित छु । त्यतिखेर नेपाली विद्वान् भिक्षु अमृतानन्द मास्को आउँदा जहिले पनि उनी सोभियत संघको तत्कालीन धर्मसम्बन्धी विभागको तर्पmबाट उनको स्वागतसत्कार गर्दथिन् भने म नेपाली भिक्षु अमृतानन्द, सुदर्शन वा मैत्रैय मास्को आउँदा भेट्न गएको अवसरमा पनि उनीसंग मेरो भेट हुन्थ्यो र यसरी हाम्रो परिचय भएको थियो ।
मास्कोमा यस वर्षको मौसम सुनिश्चित रहेको छैन र बारम्बार अकस्मात् झरीवर्षा भइरहन्छ । एक दिनअघि मात्र पानी परेको थियो, तर संंबोधी स्तुपको प्राणप्रतिष्ठाको अवसरमा मास्कोमा शरद्कालीन घमाइलो दिन हुनु पनि एक आकस्मिकता नै थियो । यसरी मास्कोमा रमाइलो वातावरणमा बौद्धस्तुपको उद्घाटन समारोहमा नेपालीहरूको प्रतिनिधित्व गर्ने तीन जनामध्ये एक भई उपस्थित हुने सौभाग्य पाइएको थियो र आफ्नो रंगीन अनुभूति नेपाली पाठकवृन्दसमक्ष पोख्तैछु… ।
दिनाङ्क : १६ सेप्टेम्बर २०१७, मास्को, रूस महासंघ ।
प्रतिक्रिया