विकृति रहित समाज बनाउने योजना छ – प्रहरी प्रमुख खतिवडा

इनेप्लिज २०७४ भदौ २० गते १५:२१ मा प्रकाशित

शिशिर सिंखडा
रत्ननगर, चितवन, २० भाद्र ।
इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी प्रमुख बासुदेव खतिवडाले यस क्षेत्रमा आफुले विकृति, विसंगति रहित समाज बनाउन चाहेको बताएका छन् । हालै मात्र काठमाडौंबाट सरुवा भई इलाका प्रहरी कार्यालय टाँडी, रत्ननगरमा आएका प्रहरी नायव उपरीक्षक खतिवडाले यस क्षेत्रको शान्ति सुरक्षा, अमनचयन आफ्नो प्रमुख प्राथमिकता रहेको बताए ।
पूर्वी चितवनमा कार्यरत पत्रकारहरुसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै खतिवडाले यस क्षेत्रमा लागुऔषध दुव्र्यसनी नियन्त्रण, ट्राफिक सचेतना, अवाञ्छित घटना नियन्त्रण, सवारी दुर्घटनामा प्रहरी बढी सचेत हुनुपर्ने आफुले पाएकोले सो सम्बन्धि विकृति, विसंगतिहरु अन्त्य गर्न आफुले योजना बनाई अगाडि बढेको बताए ।

विद्यालय र कलेज तहमा यस सम्बन्धि कार्यक्रमहरु संचालन गरी जनचेतना जगाउन पनि आफुले योजना बताएको प्रहरी प्रमुख खतिवडाले बताए । चाडपर्वको समयमा हुन सक्ने कालाबजारी, चोरी तस्करीहरुको नियन्त्रण गर्न क्यू.आर.टी. र पेट्रोलियम गस्ती बढाउने योजना रहेको समेत उनले बताए । पर्यटकीय क्षेत्र सौराहालाई सुरक्षा संवेदनशील र चुनौतीपूर्ण क्षेत्रको रुपमा लिएको भन्दै उनले स्वेदशका र विदेशबाट आएका पर्यटकलाई सुरक्षा दिन तथा व्यवस्थित शहर बनाउन प्रहरी प्रतिवद्ध रहेको बताए ।
प्रहरी मेरो साथी कार्यक्रमलाई निरन्तरता र थप प्रभावकारी बनाउँदै नागरिक सचेतना अभियानहरु संचालन गर्दै अवैद्य चन्दा संकलन नियन्त्रण, जुवातास पटका नियन्त्रण, घरेलु मदिरा उत्पादन तथा मदिरा विक्री वितरण र सेवनमा नियन्त्रण गर्न पनि आफुले योजना बनाएको बताएका थिए ।

बैंक, वित्तीय संस्थाको सुरक्षा, मठमन्दिरको सुरक्षा, सडक तथा यातायात सुरक्षा लगायतका विभिन्न विषयमा स्थानीयसँग समन्वय र सहकार्य गर्दै आफु अगाडि बढ्न प्रतिवद्ध रहेको समेत उनको भनाइ थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शिशिर सिंखडा, नेपाल पत्रकार महासंघ चितवनका सहसचिव सन्त कुमार चौधरी, पूर्वी चितवन पत्रकार मञ्जका अध्यक्ष होमनाथ सापकोटा लगायतले पत्रकार र प्रहरीको उद्देश्य समाजलाई सुशासनयुक्त बनाउने भएकोले सूचना आदानप्रदान र समाज रुपान्तरणको लागि सहकार्यले यस क्षेत्रको शान्ति सुरक्षा व्यवस्थित गर्न र विकृति, विसंगति अन्त्य गर्न थप सहयोग हुने बताएका थिए ।

 

प्रतिक्रिया